☰ open Loading... 24 November 2024|  

एक महिना अघिदेखि नै कार्यक्रममा भ्याइनभ्याइ
  | ३० श्रावण २०७३, आईतवार ०८:२८

लोकदोहोरी गायिका सुनिता दुलाललाई अहिले तिजले छपक्कै छोपेको छ । हिन्दू महिलाको पर्व तिज आउन अझै करिब २० दिन बाँकी छँदा उनलाई भने स्टेज शो गर्न भ्याईनभ्याई छ ।

sunita-Dulal
देशभित्र त उनी व्यस्त छिन् नै, देशबाहिर पनि उनी कार्यक्रम गर्न जाँदैछिन् ।

नेपाली रहेका अधिकांश देश गइसकेकी उनी यो वर्ष सबैभन्दा पहिले स्टेज शोका लागि जापान जाँदैछिन् ।

“२४ तारिखमा जापान जाँदैछु, त्यहाँ कार्यक्रम सकेर त्यतैबाट कोरिया र नर्वे जाँदैछु,” दुलालले भनिन्, “त्यसअघि नेपालमा पनि धेरै कार्यक्रम छन् ।”

जापान जानुअघि दुलाल काठमाडौंकै केही पार्टी प्यालेसमा आयोजित तिज कार्यक्रम र सुदूरपश्चिममा आयोजित स्टेज शोका लागि जाँदैछिन् ।
संख्यात्मक रूपमा कम गीत गाउने तर गुणात्मकतामा ध्यान दिने दुलाललाई यस पटकको तिजमा पनि दर्जनौं देशबाट कार्यक्रमका लागि निम्तो आए । तर, उनले ती सबै प्रस्ताव स्वीकार्न सकिनन् ।

किन त रु दुलाल भन्छिन्, “मलाई जापानको कार्यक्रमका लागि गत वर्ष नै आयोजकले ‘बुक’ गरेको थियो । मैले हुन्छ भनिसकेकी थिएँ । त्यसैले यो वर्ष अमेरिका र अष्टे«लिया जान सकिनँ । जापान र कोरियाबाट अमेरिका र अष्टे«लिया जान निकै टाढा रहेछ । त्यही भएर म यो वर्ष त्यहाँ जान नसक्ने भएँ ।”

यो सालको तिजमा सुनिताले ‘माइतीघर’ नामक अडियो क्यासेट सार्वजनिक गरेकी छन् । ‘यसपालि नि खाने दर, जाने म त माइतीघर’ बोलको उनको गीत अहिले निकै लोकप्रिय छ । सार्वजनिक भएको दुई हप्तामा नै गीतले स्रोता तथा दर्शकको मन जितेको उनको भनाइ छ ।

आफ्नै युट्युब च्यानलबाट जुलाई ३० मा सार्वजनिक गरिएको गीत ‘यसपालि नि खाने दर’ १४ अगष्टसम्ममा चार लाख पटक सर्च गरिसकिएको छ ।

तिजसँग जोडिएको दुलालको आफ्नै विशेषता छ । उनी अरुका तिज गीत गाउँदिनन् । शब्द र लयसँग निकै ध्यान दिने उनी अरुका गीत गाउँदा उनीहरूकै शब्द र लयमा सम्झौता गर्नुपर्ने भएकाले अरुका गीत नगाएको बताउँछिन् ।

“तिज भनेको हाम्रो संस्कृति र संस्कार भएकाले सस्तो लोकप्रियताका लागिमात्रै गीत गाउने कुरा आउँदैन,” दुलाल भन्छिन्, “हाम्रो संस्कारलाई नै नकारात्मक प्रभाव पार्नेगरी म गीत गाउँदिनँ ।”

नेपाली तिज गीत सस्तो प्रचार र लोकप्रियताका नाममा भड्किलो हुँदै गएकोमा उनलाई चिन्ता छ । “तिज गीत गाउँदैमा विदेश जान पाइन्छ भन्ने भ्रममा समाजले पचाउनै नसक्ने शब्द र भिडियो बनिरहेका छन् । सबै सँगै बसेर हेर्न र सुन्न सक्ने गीत बन्नुपर्छ,” उनको स्पष्ट धारणा छ ।