☰ open Loading... 26 April 2024|  

मीनराजको ‘मुदिर’ र सुमन ‘मौनता’ बजारमा
  | ३० श्रावण २०७३, आईतवार ०८:३१

साहित्यको बजार चम्कँदै जान थालेपछि अचेल साता नै पिच्छे पुस्तक सार्वजनिक हुने क्रम बढिरहेको छ । आख्यानले साहित्यको बजारहिस्सा बढाउँदै लगेको बेला शनिवार राजनधानीमा केहि समानताबीच दुई उपन्यास सार्वजनिक भए ।

meenraj-basanta
युवा उपन्यासकार मीनराज बसन्तको उपन्यास मुदिर र सुमन घिमिरेको मौनता राजधानीको दुुई फरक कार्यक्रममा विमोचन भयो । यी दुवै उपन्यासमा वैदेशिक रोजगारका कथाहरु पनि समावेश गरिएका छन् । दुवै विमोचनका लागि काठमाडौं आइपुुगेका हुन् ।

राजधानीको सर्वनाम थिएटरमा आयोजित मुदिर सार्वजनिक कार्यक्रममा आख्यानकार नयनराज पाण्डे, भोगीराज चाम्लिङ, नीलम कार्की निहारिका र संगीतश्रोताले पुस्तकको संयुक्त रुपमा लोकार्पण गरेका थिए ।

वैदेशिक रोजगारीकै क्रममा खाडी मुलुकमा काम गरेर फर्केका मीनराजले पुुस्तकमा बैदेशिक रोजगारका पीडाहरु समावेश गरेका छन् ।
आख्यानकार पाण्डेले आफैसँग भएको अनुुभव पुुस्तकमा भएको बताए । उपन्यासमा दुःख, संघर्ष, पीडाहरु यथार्थरुपमा आएको बताउँदै पुस्तकको सफलता वा असफलताका लागि एक साता कुर्नुपर्र्ने बताए ।
त्यस्तै कार्यक्रममा निहारिकाले उपन्यासमा कहालीलाग्दो अवस्थालाई विषयबस्तु बनाएको बताइन् । यसमा बैदेशिक रोजगार र कामदारमाथी विदेशमा हुने अवस्थका विषयमा उठान गरिएको छ, उनले भनिन् ।
त्यसैगरि चाम्लिङले उपन्यासमा भाषिक सरलता उत्कृष्ट रहेको बताए । “यसमा पूर्वी ओखलढुङ्गाको आञ्चलिकतालाई पनि प्रयोगमा रूपमा समेटिएको छ,” उनले भने । विदेशमा मालिक र कामदारविचको सम्बन्ध र श्रमका विषयमा सरल भाषामा उतारिएको उनले बताए ।

अर्को वक्ता संगीतश्रोताले खाडी मुलुकमा नेपाली कामदारले गरेको दुःख र त्यहि दुःखलाई उपन्यासमा देखिएको बताए । त्यसैगरि घिमिरेको उपन्यास मौनतालाई वरिष्ठ पत्रकार किशोर नेपाल, निबन्धकार तथा समीक्षक कुमारी लामा र उदय अधिकारीले संयुक्त रुपमा विमोचन गरेका थिए ।

पर्यटन व्यवसायी समेत रहेका घिमिरेको पुस्तक पर्यटन बोर्डको सभाहलमा भएको थियो । विमोचन कार्यक्रममा बोल्दै नेपालले मौनतामा सामाजिक विषय उठान भएको बताए । वैदेशिक रोजगारका विषयमा संवेदना मात्र आउने गरेको छ तर त्यति मात्र विषय नभएको भन्दै मौनतामा धेरै कुराहरु अटेको छ, उनले भने ।

समीक्षक लामाले मौनतामा नेपाली समाजभित्रको चरित्रलाई उपन्यासमा सफल रुपमा उतारेको भन्दै पुरुष पात्रलाई अत्यन्तै क्षमाशील रुपमा उभ्याउने प्रयास गरिएको बताइन् । महिला पात्र अमेरिकाको सडकमा आपतिजनक रुपमा भेटिँदा समेत पुरुष पात्रले क्षमा दिएका छन तर यो हाम्रो समाजमा हुन्छ कि हुँदैन, उनले प्रश्न गरिन् ।

त्यसैगरि अर्को वक्ता अधिकारीले उपन्यासमा राजनीतिक, सामाजिक कुराहरू अटेको बताए । पात्रहरु घुम्दै कहाँ कहाँ पुुगेका छन त्यसैले यो टाभल उपन्यास पनि हो, उनले भने ।

अध्ययन र व्यवसायका शिलशिलामा धेरै मुलुक पुुगेका घिमिरेले पुुस्तकमा आफुुले भोगेका कुराहरु पनि समावेश गरेको बताए । प्रकाशक संस्था गोरखा पब्लिकेसनका सञ्चालक लोकमणि पौडेलले नाम चलेका साहित्यकारभन्दा राम्रो साहित्यिक स्रष्टालाई अगाडि ल्याउन पहिलो पुुस्तक ल्याइएको बताए ।

उपन्यासकार घिमिरेको यो दोस्रो कृति हो। पाँच वर्षअघि उनले ‘मेरो बैंसको क्यालेण्डर’ कविताकृति ल्याएका थिए । मौनता उपन्यासको मूल्य ३३५ रुपैयाँ राखिएको छ ।

(सभार १२खरी)