सूचना र सञ्चार विनाको जीवन कल्पना गर्न सकेत मुश्किल हुने अहिलेको विश्वमा जाजरकोटका केही गाउँहरुमा मोबाइल, टेलिफोन मात्रै होइन रेडियो समेत सुनिंदैन ।
रग्दा गाउँ विकास समितिका रग्दा, रोली, चौखा गाँउमा न त टेलिफोनले काम गर्छ न त आमसञ्चारका कुनै साधनले काम गर्छन् । दुर्गम गाउँमा पत्रपत्रिका र टेलिभिजन पुग्ने कुरै भएन रेडियो समेत सुनिंदैन । स्थानीय एफएम देखि अन्य एएम रेडियो स्टेशनका तरंगहरु यहाँ कुनै रेडियोले समात्दैनन् ।
रोलीका नरबहादुर ध्यार भन्छन, “एनटीसी, स्काई र एनसेल कुनै पनि फोनले काम गर्दैनन् ।” टेलिफोनको टावर निर्माण र रिपिटर स्टेशनका लागि राजनीतिक दलका नेतादेखि सम्वन्धित निकायमा अनुरोध गर्दा पनि सुनुवाई नभएको उनले बताए ।
गत संविधान सभाको निर्वाचनमा कांग्रेस, एमाले, माओवादी लगायत पार्टीका उम्मेदवारले यहाँको टेलिफोन समस्या समाधानका लागि टावर निर्माणमा आवश्यक पहल गर्ने प्रतिवद्धता गरेका थिए ।
“माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत त गृहमन्त्री भए तर ‘खोलो त¥यो लौरो विस्र्यो’ भयो । फर्किएर कोही यता आएनन्,” रोलीकी माया रावतले भनिन् ।
चुनाव पछि कुनै पनि नेता ती गाँउ पुगेका छैनन् । रग्दा गाँउमा ६०, रोलीमा ९१ र चौखा गाँउमा स्वास्थ्य चौकी, प्रहरी चौकी, खाद्य डिपो सहित ४५ घर छन् । जहाँ टेलिफोनमा आवाज आउँदैन, रेडियो बज्दैन, पत्रपत्रिका र टेलिभिजन पुग्दैन ।
ठूली भेरी नदी किनारका यि पहाडी गाउँको पल्लोपट्टी रुकुम गोतामकोटको ठूलो पहाड तेर्सिएको छ यता रग्दाकै ठूलो पहाडले छेकेको छ ।
जाजरकोट डोल्पा सडक खण्डमा पर्ने यि सुन्दर गाउँका गाउँलेको जीवन भने ‘अन्धकारपूर्ण’ बनेको छ ।