☰ open Loading... 19 April 2024|  

अायाेगकाे संख्या बढाउन काँग्रेसकाे दबाव
  | ७ भाद्र २०७३, मंगलवार १७:३७

नेपाली कांग्रेसले स्थानीय निकाय पुन संरचना आयोगका अध्यक्ष बालानन्द पौडेलसँग छलफल गरेको छ। अहिले जारी कांग्रेस संसदीय दलको बैठकमा आयोगका अध्यक्ष पौडेललाई बोलाइएको छ।

बैठकमा आयोगका अध्यक्ष पौडेलले स्थानीय निकायको संख्या ५६५ बनाउन आयोग सिफारिस गर्ने जानकारी दिएको बैठकमा सहभागी कांग्रेस सांसद रामहरि खतिवडाले जानकारी दिए। ‘स्थानीय निकाय पुनसंरचना आयोगका अध्यक्षसँग अहिले पनि छलफल जारी छ,’ उनले भने, ‘उहाँले स्थानीय निकायको संख्या ५६५ बनाउन सिफासिर गरिएको रिपोर्ट दिनु भएको छ। अहिले त्यसैका विषयमा छलफल भइरहको छ।’

आयोग अध्यक्षले स्थानीय निकाय पुनसंरचना गर्दा स्थानीय निकायको संख्या ५६५ बनाउनु पर्ने बताएपछि कांग्रेस सांसदहरुले भने आपत्ति जनाएका छन्। उनीहरुले आयोग स्थानीय निकाय निर्वाचन गराउने पक्षमा नरहेको आरोप लगाएका छन्। नेपाली कांग्रेसले स्थानीय निकायको संख्या हजारभन्दा बढी हुनुपर्ने बताउँदै आएको छ। दुई दिनसम्म राजधानीमा चलेको कांग्रेस जिल्ला सभापतिको भेलाले पनि स्थानीय निकायको संख्या हजारभन्दा बढी बनाउन सुझाव दिएको थियो।

दलहरुबीच स्थानीय निकायको संख्या कत्रो बनाउने भन्ने विषयमा विवाद चुलिँदो छ। स्थानीय निकाय पुर्नसंरचना आयोगले भने स्थानीय निकायको संख्या ५६५ बनाउनुपर्ने रिपोर्ट तयार गरेको छ।

प्रमुख प्रतिपक्ष दल एमाले भने स्थानीय निकायको संख्या कम थोरै बनाउनुपर्ने पक्षमा देखिएको छ। सरकारले चैतमा स्थानीय निकायको निर्वाचन गर्ने गरी तयारी गरिरहेका बेला दलहरुबीच भने स्थानीय निकायको संख्याका विषयमा एकमत छैनन्। उता सरकारलाई बाहिरै बसेर समर्थन गरेको मधेसी मोर्चाले भने पहिला प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने माग अगाडि सारेको छ।