मंगलसेनकी रत्ना ढुङ्गाना घर प्लाष्टरको काम गरेर दैनिक ३ सय देखी ५ सय रुपैया सम्म कमाउनुहुन्छ । ज्यामी काम गर्दा १ सय ५० मात्र ज्याला थियो । सँगै ज्यामी काम गर्ने पुरुषले २ सय ५० पाउँथे । चित्त बुझ्दैनथ्यो तर चुप लाग्नुको विकल्प थिएन । उहाँले भन्नुभयोः– अहिले प्लाष्टरको काममा ज्याला विभेद छैन । अहिले रत्नाले पनि त्यति नै कमाउनुहुन्छ जति अरु पुरुषले कमाउँछन् । अहिले घर प्लास्टर गर्ने सम्मको काम आफैं गर्छु । अहिले सम्म सदरमुकामका दर्जनौ घरमा प्लास्टर गरिसकें ।
घरमा आम्दानी थिएन, खेती किसानीको कामले ५ जनाको परिवार पाल्न निकै असहज थियो । उहाँले भन्नुभयोः–अहिले श्रीमान श्रीमती संगै मिलेर यस्तै काम गर्छौं । छोरा छोरी पढाउन, घर खर्च चलाउन सजिलो भएको छ । सदरमुमका विभिन्न ठाउँमा काम खोज्दै हिँड्नु पर्ने यस अघिको बाध्यता स्मरण गर्दै उहाँले काम प्रतिको लगनशिलता, ईमानदारिता र गुणस्तरीयता देखेर अहिले निर्माण व्यवसयीहरु आफुलाई खोज्दै घरमा आउने गरेको बताउनुभयो ।
पहिले महिलाले पुरुषको तुलनामा थोरै काम गर्छन् भनेर ज्यालामा विभेद हुन्थ्यो । महिलाहरु पनि पुरुषले गर्दै आएको काम गर्न अप्ठेरो मान्थे । मंगलसेन ६ कि कोकिला विकले भन्नुभयोः– अहिले मंगलसेनमा दैनिक ज्यालादारीमा एकै खालको काम गर्ने महिला, पुरुष बराबरी छन् । कोकिलाले ३ वर्ष देखि घरमा रङ्ग लगाउने काम गर्नुहुन्छ । श्रीमान् विदेशमा हुनुहुन्छ, मजदुरी गरेर नै कोकिलाले ७ जनाको परिवार एक्लैले पाल्नु भएको छ ।
‘किसानी काम गर्दा कहिल्यै पुगेन । अहिले महिनामा कम्तीमा ९ हजार कमाउछु । एउटा छोरालाई व्याचलर पढाई राखेकी छु । अरु पनि पढ्न जान्छन् । उहाँले भन्नुभयोः– सिप भए, अवसर पाए महिला पनि जस्तो सुकै काम गर्न सक्छन् । आँट भयो भने जे पनि गर्न सकिने रहेछ । २१ वर्षकी हँुदा बिहे भयो ।
त्यति बेला देखि नै मजदुरी गर्न थाले । घरमा ढलान गर्ने काम अहिले पनि गरिरहेकी छु । ५० वर्षिया मिना ओडले भन्नुभयोः– पहिले महिलाले यस्तो काम गर्न जान्दैनथे । काम गर्नको लागि अवसर नपाउने र समाजले हेर्ने दृष्टिकोणमा फरक हुने हँुदा महिला यस्ता काम गर्न असजिलो मान्थ्ये । महिलाले काम नसिकेर मात्रै यस्तो काम नगरेका हुन् ।
अहिले भने आफुअरुले पुरुषहरुको भन्दा राम्रो काम गर्ने गरेको उहाँले बताउनुभयो । श्रीमानले मात्रै काम गर्दा घर चलाउन गाह्रो हुन्थ्यो । महिलाहरु श्रीमानसंगै काम गर्थे । उत्तिकै मेहनत गर्थे तर ज्याला फरक थियो । महिलाले विस्तारै एक्लै काम गर्न थाले । अहिले मंगलसेनमा करिब ५० देखि ६० महिला डकर्मी छन् ।
उनीहरु पुरुषले भन्दा बढी मन लगाएर काम गर्छन् । त्यसैले निर्माण व्यवसायीहरु पुरुषभन्दा महिलालाई काममा राख्न रुचाउँछन् । यसरी श्रम गर्नेहरु ज्याला मजदुरी गर्नेहरु मात्र छैनन् । बिभिन्न कार्यालयमा काम गर्ने कर्मचारी देखी लिएर कैयौँ श्रमजिवी पत्रकारहरु पनि महिला छन् । उहाँहरु पनि समान ज्यालामा काम गर्दै गर्दा खुसि हुनुहुन्छ ।
कल्पना बोहोरा अछामको रेडियो जनप्रियमा काम गर्नुहुन्छ । सुरुमा रेडियोमा बोल्ने कल्पना अहिले प्रावीधिक कक्षमा ८ घन्टे ड्युटी गर्नुहुन्छ । पहिलोचोटी रेडियो प्रावीधिकमा आफ्नो नाम बज्दाको दिन उहाँ कहिल्यै बिर्सनुहुन्न । ‘म काम गर्थे, सानातिना अप्ठेरोमा पनि मुख्य प्रावीधिक कुर्नुपर्ने अवस्था थियो । पछि सिक्दै जाँदा आँफै गर्न थालें ।
अहिले पुरै प्रावीधिकको काम एक्लै हेर्छु । उहाँले भन्नुभयोः– ‘पुरुषहरुले महिलालाई जहिले पनि फरक दर्जाको नागरिक भनेर हेर्थे । त्यस्तो सोच्नेलाई पनि आफु चुनौती दिन सफल भएकी छुँ । यो समाजमा आफु रेडियो प्रावीधिक भनेर चिनिदा निकै खुशी लाग्छ । अझै पनि महिलाले समान कामको समान ज्याला पाउन नसकेको आवाज बेला–बेलाम उठ्ने गर्दछ । यस्तै अन्तरपार्टी महिला सञ्जाल अछामका अध्यक्ष सरस्वती रावले पनि महिलाले समान ज्याला पाउन नसकेको गुनासो गर्नुभयो ।
‘अहिले पनि महिलाले समान कामको समान ज्याला पाएका छैनन् । महिलालाई बुझ्ने दृष्टिकोण फरक हुनु, महिलालाई कमजोर ठान्नु, महिलाले धेरै राम्रो काम गर्न सक्दैनन भन्ने सोच रहनु नै यसको बाधक हो । उहाँले भन्नुभयोः– ‘हामीकहाँ लैङ्गीक विभेद अझै पूरै हट्न सकेको छैन । महिला पुरुष बराबर भन्ने नारा जताततै सुनिन्छ ।
परिवार र समाजले बराबर व्यवहार गरोस्, नगरोस, अछामका महिलाले आफुले गर्ने काममा यो कुरा व्यवहारमै उतारेका छन् । पुरुषले मात्र गर्ने भनिएका घर चिन्ने, ढलान गर्ने, सिमेण्ट लगाउने, घरमा रङ लगाउने बेल्चा लगाउने लगायतका कामहरु महिलाहरुले पनि उत्तिक्कै मात्रामा गर्छन् ।
महिला तथा तथा बालबालिका कार्यालय अछामका सुपरभाईजर मञ्जु महतले भन्नुभयोः– पुरुषको तुलनामा महिला कमजोर छैनन् । अहिले अछाम जिल्लाको परिवेश हेर्दा आयआर्जन लगायत विभिन्न क्षेत्रमा अगाडी रहेका छन् । सिप सिकाईदिने हो भने महिलाले पनि पुरुषले गर्ने सबै काम गर्न सक्छन् ।
अब यहाँ पनि त्यो संस्कारको विकास हुन जरुरी रहेको बताउँदै उहाँले हाम्रो समाजले नै महिलालाई कमजोर बनाएको आरोप लगाउनुभयो । जब सम्म महिला संग ज्ञान, सिप, हुदैन तब सम्म महिला शसक्त हुन नसक्ने उहाँले बताउनुभयो । समाजले महिला र पुरुषलाई हरेक क्षेत्रमा विभेद गर्दै आएको छ ।
घरभित्रको काम महिलाले गर्ने, बाहिरको काम पुरुषले गर्ने, राम्रो शिक्षामा पुरुषलाई प्राथमिकता दिने, जस्ता विभेद व्याप्त रहेको अछाममा पछिल्लो समय काम लगाउनेमा र काम गर्नेेमा समेत यो धारणा फेरिदैंछ । पछिल्लो समय अछामका महिलाहरु पनि घरको चुलोचौको मात्र हैन, साहासिक काममा पनि लग्न थालेका छन् ।