☰ open Loading... 24 November 2024|  

स्ववियू निर्वाचनमा धाँधली भएको छैन : निर्वाचन समिति
  | १४ भाद्र २०७३, मंगलवार १३:३२

मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्वन्धि आधिकारीक धारणा सार्वजनिक भएको छ । भदौ १२ गते भएको स्ववियु निर्वाचनको अन्तिम मत परिणाम सोमबार राती सार्वजनिक भएको थियो ।

mu pp1
सोमबार सम्पन्न स्ववियु निर्वाचन सम्वन्धि जानकारी दिँदै निर्वाचन समितिका पदाधिकारी ।

स्ववियु निर्वाचन र मत परिणाम बारे पहिलो पटक आफ्नो धारणा निर्वाचन समितिले मंगलबार सार्वजनिक गरेको छ । समितिले पत्रकार सम्मेलनको आयोजना गरेर स्ववियु निर्वाचन निष्पक्ष र धाँधलीरहित सम्पन्न भएको जनाएको छ ।

देशमा अहिलेसम्म स्ववियु निर्वाचन हुन नसकेको बेला मधयपश्चिम विश्वविद्यालयले निष्पक्ष र वादविवादरहित निर्वाचन सम्पन्न गरेर राम्रो सन्देश प्रवाह गरेको निर्वाचन समितिका संयोजक तथा इन्जिनियरिङ सङ्कायका नि. डीन ई. अनन्तराज घिमिरेले जानकारी दिए । उनले निर्वाचनमा फर्जी मत परेको भन्ने हल्ला निराधर भएको पनि बताए ।

विश्वविद्यालयमा एक हजार ६९३ मतदातामध्य एक हजार ४ सय ८० जनाले निर्वाचनमा सहभागी भएको घिमिरेको भनाई छ । ‘कुल खसेको मत मध्य एक हजार ४ सय ४४ मत सदर भएका छन् ।’ संयोजक घिमिरेले भने,–‘यसमध्य ३६ मत बदर भएका छन्, त्योभन्दा बढी मत थिएनन् ।’

मत च्यात्ने संगठनको नाम उच्चारण गर्न अनकनाएका संयोजक घिमिरेले मत गणना भैरहेको बेला केही संगठनका व्यक्तिले मत च्याते पनि सहज तरिकाले निर्वाचन सम्पन्न गरेको जानकारी दिए ।

संयोजक घिमिरेले फर्जी मत बारे कसैले पुनः जान्न चाहे निर्वाचन प्रक्रियाका सवै कागज सुरक्षित रहेकाले देखाउन सकिने बताए । निर्वाचन मत परिणाम सम्वन्धि केही समय भ्रम छर्न बाहिर आएका टिकाटिप्पणि गलत भएको संयोजक घिमिरेले बताउँछन् ।

मत च्यात्ने संगठनको नाम उच्चारण गर्न अनकनाएका संयोजक घिमिरेले मत गणना भैरहेको बेला केही संगठनका व्यक्तिले मत च्याते पनि सहज तरिकाले निर्वाचन सम्पन्न गरेको जानकारी दिए ।

अखिल क्रान्तिकारीबाट उम्मेदवार दिएका अध्यक्ष राजेन्द्र बुढाले मत च्यातेका थिए । तर निर्वाचन समितिले आचारसंहिता अनुसार निर्वाचनलाई सम्पन्न गर्न च्यातिएका ११ मत मध्य ७ मत गणना भएको जनाएको छ । यी मध्य ४ मत बदर भएको समितिले बतायो ।

निर्वाचन संयोजकले आफूलाई कही कतैबाट धाक धम्की नदिएको दावी गरेका छन् । ‘क्षणिक निर्वाचन गराउने मनसाय हैन् ।’ संयोजकले थपे,–‘स्ववियुलाई संस्थागत गर्न निर्वाचन भएकाले आफूले निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न सफल भएको छु ।’

सोमबार सार्वजनिक भएको स्ववियु अध्यक्षमा नेविसंघका झक्कबहादुर शाही ५०४ मतले विजयी भएका थिए । यस्तै, सचिवमा अनेरास्ववियुका भरतबहादुर शाही (५३३), कोषाध्यक्षमा नेविसंघका शुशील भट्टराई (५६२) मत ल्याएर निर्वाचित भएका थिए ।

सदस्यहरुमा भने, नेविसंघकै बर्चश्व रहेको छ । बाँकी सात जनाको टुंगो भने समानुपातिक प्रक्रियाबाट हुने समितिले जानकारी दिएको छ । समानुपातिकतर्फ नेविसंघले ५३३, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले ४१२, अखिल (क्रान्तिकारी) ले ३६९ मत प्राप्त गरेका छन् ।

यस्तै, नयाँ शक्ति विद्यार्थी युनियनले ३५, नेपाल क्रान्तिकारी विद्यार्थी संघले ३३, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले २५, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैंठौं) ले १९ र विप्लव माओवादी नेतृत्व विद्यार्थी संगठन अखिल क्रान्तिकारीले १८ मत प्राप्त गरेका छन् ।