☰ open Loading... 3 May 2024|  

बेपत्ता पारिएकाको यथार्थ सार्वजनिक गर्न माग
  | १४ भाद्र २०७३, मंगलवार १३:४०

१८ बर्ष अघि बेपत्ता पारिएको छोरालाई अहिले पनि जाजरकोट भेरीमालिका १ कालेगाँउकी ६५ बर्षिया चनमती बटालाले झलझली सम्झिरहेकी छन । २०५५ सालमा घर नजिकैबाट तत्कालिन विद्रोही माओवादीमा लागेको आरोपमा प्रहरीले उनका छोरा दीपक बटालालाई पक्राउ गरि बेपत्ता पारेको हो ।

बेपत्ता पारिएको आफ्नो छोराको लास वा सासको अवस्था सार्वजनिक गर्न पहल गरिदिन चनमतिले मानवअधिकारकर्मी सँग माग गरेकी छन् । द्धन्दकालमा भएका घटनाको अनुसन्धान गर्न जाजरकोट आइपुगेको राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगंजको टोली सँग उनले यस्तो माग गरेकी हुन् । उनले अहिले पनि छोरो फर्केर आउँछ कि भन्ने आशा कायमै रहेको बताईन ।

jkt p
आयोगको क्षेत्रीय कार्यालय नेपालगंजवाट मानवअधिकार अधिकृत रमेश थापा को नेतृत्वमा आएको ४ सदस्यीय टोलीले भेरीमालिका नगरपालिकाका वाहुनथान, रीसाङ्ग, कालेगाउँ, पीपे रीम्ना, कुस्तरा, जगतीपुर लगायतका स्थानमा द्धन्दकालमा भएका मानवीय तथा भौतिक क्षति भई पिडित भएका परीवारहरु सँग भेटघाट गरी तथ्य संकलन गरेको हो ।

त्यस्तै भेरीमालिका १ पिपेका टकवीर रानाले पनि आफ्ना बेपत्ता छोराको बारेमा यथार्थ पत्ता लगाई दिन आयोगका कर्मचारी समक्ष माग गरेका छन् । छोरा गुमानसिह रानालाई २०५६ सालमा माओवादी आरोपमा सुर्खेतमा पक्राउ गरि बेपत्ता पारिको तर अहिले सम्म नत मरेका जानकारी पाएको छु न त जिउँदै छ भन्ने जानकारी पाएको छु ।

यदि मारिएको भए किन कसरी काहा मारियो मलाई यथार्थ जानकारी हुनु पर्छ उनले आफ्नो पिडा सुनाउँदै भने जीवित छ भन्ने आशा नभएको तर घटनाको जानकारी थाह पाउने आफ्नो अधिकार कुन्ठित भएको गुनासो सुनाए । उनले बेपत्ता पार्नेलाई कारवाही हुनु पर्ने बताए ।

टोलीले भेटघाटको क्रममा आयोगका कार्यालयमा परेका उजुरी तथा अन्य पिडीतहरुसँग द्धन्दकालिन घटनाको वारेमा जानकारी लिएको छ । आयोग सँग पिडितहरुले आफ्ना गुनासा तथा समस्याहरु अवगत गराएका छन् ।

द्धन्दकालमा मारिएका परिवारका सन्ततीलाई १८ बर्ष सम्ममात्र छात्रबृत्ति दिईदै आएकोमा पढ्दा सम्म छात्रबृति दिने ब्यवस्था मिलाउन आग्रह गरेका थिए । त्यस्तै सवै सहिद परिवारलाई १० लाख रुपैया दिने भनिएपनि ५ लाख सम्म मात्र पाएको गुनासो गरेका छन् ।

पिडित परिवारले जीवन निर्वाहमा समेत समस्या परेको गुनासो गरेका छन् । द्धन्दकालमा आमाबाबु दुवै गुमाउन बाध्य कमला खड्काले घरका मुख्य मान्छे गुमे पछि आश्रित परिवारलाई जीवन निर्वाहमा निकै समस्या परेका दुखेसो ब्यक्त गरिन् ।

भेरीमालिका १ को बडालेख र उब्जेलेखमा २०५४ सालमा सुरक्षाकर्मीले माओवादीको आश्रय स्थल भएको भन्दै ६४ घरगोठ आगो लगाएर जलाएको तर हाल सम्म क्षतिपुर्ती नपाएको एक जना पिडित भेजी रानाले बताए । उनले द्धन्दकालमा सुरक्षाकर्मीले पिपे , बडालेख , रिम्ना लगायतका गाँउमा निकै ज्यादती गरेको गुनासो सुनाएका थिए ।

मानवअधिकार आयोगको टोलीले एक सय बढी पिडित परिवार सँग द्धन्दकालिन घटनाका बारेमा जानकारी लिएको मानवअधिकार अधिकृत टंक खनालले बताए । उनले पिडितका समस्या र माग बारे आयोग मार्फत सरकारको ध्यानकर्षण गराईने जानकारी दिए ।

जाजरकोटमा ११ जना बेपत्ताको सुचीमा रहेको रेडक्रसले जनाएको छ । जिल्लामा ३ सय ५६ जनाले ज्यान गुमाएका थिए भने सयौ अपाङ्ग र धेरैको धनसम्पति गुमेको स्थानिय शान्ति समितिले जनाएको छ ।