☰ open Loading... 22 January 2025|  

६ वर्षदेखि प्रसुती गृहको भवन अलपत्र
  | १५ भाद्र २०७३, बुधबार १८:०५

भवन नहुँदा सुत्केरी गराउन समस्या

सुरक्षित सुत्केरी गराउन आवश्यक पर्ने प्रसुती गृह नहुँदा ५० शैया भनिएको जाजरकोट जिल्ला अस्पतालले सामान्य स्वास्थ्य चौकीले दिने सेवा जति पनि उपलब्ध गराउन सकेको छैन । प्रसुतिगृहको भवन निर्माणको काम विगत ६ बर्षदेखि अलपत्र परेको छ ।

भवन निर्माणको जिम्मा लिएको निर्माण व्यवसायीको लापरवाही र सम्बन्धित निकायको उदासिनताका कारण डिपीसी समेत गरिसकेको भवनमा घाँस उम्रिएको छ ।

निर्माणको जिम्मा लिएका निर्माण ब्यवसायीले समयमा काम नगर्दा भवन अलपत्र परेको हो । निर्माणको जिम्मा लिएका ठेकेदारले बिचमै काम छोडेर गएपछि ५ बर्ष अघि नै निर्माण सम्पन्न गरेर अत्याधुनिक भवनबाट प्रसुति सेवा उपलब्ध गराउने सरकारी लक्ष्य अलपत्र परेको हो ।

भवन निर्माणको काम समयमा पुरा नहुदा महिलाहरुलाई सुरक्षित सुत्केरी सेवा लिन समस्या भएको छ । असुरक्षित रुपमा गर्भवती हुने चलन रहेको जाजरकोटमा स्वास्थ्य संस्थाहरुको व्यवस्थापन राम्रो नभएका कारण सुरक्षित रुपमा सुत्केरी हुन महिलाहरुलाई निकै समस्या हुने गरेको छ ।

गुणस्तरीय भवन र दक्ष स्वास्थ्यकर्मीको अभावमा सामान्य खालका सुत्केरीलाई पनि रुकुमको चौरजहारी र नेपालगंज रिर्फर गर्ने गरिएको भेरीमालिका ४ कि लक्ष्मी डाँगीले बताइन । भवन अभावमा सुरक्षित सुत्केरी सेवादिन समस्या हुदै आएको अस्पतालका डाक्टर सुनिल पुनले बताए ।

प्रसुती गराउँन निकै समस्या छ, पुरानो भवनमा एउटा साँघुरो कोठालाई प्रसुती गृह बनाईएको छ, दिनमा ३-४ जना महिलाहरु सुत्केरी हुन आए भने राख्ने ठाउँ हुदैन, उनले भने । ठेकेदारले भवन निर्माणको काम नगर्दा सेवा दिन कठिन भई रहेको छ, उनले भने ।

शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतबाट आर्थिक बर्ष २०६८/०६९ मा ठेक्का भई भवन निर्माणको जिम्मा फ्राइण्डस कन्स्ट्रक्सन प्रा. लि कोठेश्वर (३५) काठमाडौंले लिएको थियो । २०६८ चैत्र २६ मा सम्झौता भैइ २०७० मंसिर २९ मा निर्माण कार्य सम्पन्त गर्नु पर्ने बताइएको छ ।

निर्माण कार्यको सम्पूण जिम्मेवारी लिएको निर्माण व्यवसायीको भरम लापरवाहीका कारण भवन निर्माणको काम ६ बर्षदेखि अलपत्र परेको छ । भवनको डिपिसी मात्र गरेर निर्माण व्यवसायीले काम छोडेर भागेका हुन ।

दारकाठ कुहेर गएका छन । काम अलपत्र छ, भवनमा सिसौंका रुख विरुवा उम्रीएर ठुला भएका छन् । यस्तो लापरबाही हुदा समेत जिम्मेवार निकाय बेखबर हुँदा समस्या भएको अस्पताल विकास समितिका अध्यक्ष नगेन्द्र शाहले बताए ।

६ बर्षदेखि निर्माण अलपत्र जिल्ला अस्पताल जाजरकोटको प्रसुती गृहको भवन । जहाँ सिसौंका रुख विरुवा उम्रिएका छन । तस्बीर : राजेन्द्र कार्की
६ बर्षदेखि निर्माण अलपत्र जिल्ला अस्पताल जाजरकोटको प्रसुती गृहको भवन । जहाँ सिसौंका रुख विरुवा उम्रिएका छन । तस्बीर : राजेन्द्र कार्की

१ करोड १६ लाख ८५ हजार ठेक्काको भवन निर्माणको काम निर्माण व्यवसायीले घटेर ७४ लाख ६६ हजारमा लिएका थिए । निर्माण व्यवसायीले अहिलेसम्म १२ लाख ६६ हजार रकम पेश्की भुत्तानी लगी सकेका छन् । बढी लागतको काम घटेर लिने र समयमा काम पुरा नगर्दा भवन निर्माणको काम अलपत्र पर्ने गरेको छ शाहले भने ।

व्यवसायीलाई पटक पटक ताकेता गरीएको छ । पत्र पत्रिकामा सुचना जारी गरेर सम्पर्कमा आउन भनिएको छ, सम्पर्क विहिन हुदा भवन निर्माणको काम अलपत्र परेको र काम नगर्ने व्यवसायीलाई कालो सुचिमा राख्ने प्रक्रीया अघि बढाउने तयारी भैइ रहेको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतका ईन्जिनियर झंक बहादुर थापाले जानकारी दिए ।

लामो समय देखि काम नगरेर भवन अलपत्र बनाउने कोही पनि निर्माण व्यवसायीलाई सरकारले कुनै कारवाहिको प्रक्रिया अघि नबढाउदा उन्मुक्ति पाउने गरेका छन् ।

सम्वन्धित निकायले गलत गर्नेहरुलाई कारवाहि गर्न नसकेका कारण कराडौंको वजेट अलपत्र परेको छ । गाउ“मा सरक्षित रुपमा प्रसुती सेवा दिनका लागि सरकारले ठुलो रकममा भवन निर्माणको काम सुरु गरेपनि सरोकारवाला निकायले वास्ता नगर्दा समस्या परेको हो ।

निर्माणको जिम्मा लिएका व्यवसायीलाई आफ्नो लाइसेन्स नै नवीकरण नगर्ने, कामको जिम्मा आफुले नगरेर अर्काे व्यक्तिलाई दिने गरेका कारण भवन निर्माणको काम अलपत्र परेको, ईन्जिनियर थापाले बताए ।

गतिलो व्यवस्थापन नभएका कारण जिल्लाका दुर्गमका मात्र होइन जिल्ला अस्पतालमा समेत सामान्य थोरै जटिल अवस्थाका सुत्केरीहरु र विरामीहरुको उपचार हुन नसक्ने र उनीहरुलाई जिल्ला वाहिर रिफर गर्नु पर्ने बाध्यता रहेको निमित्त अस्पताल प्रमुख डाक्टर चादनी जैसवालले बताइन ।