☰ open Loading... 26 July 2024|  

झमकलाई दिने भनिएको ‘मानार्थ विद्यावारिधि’ विवादित
  | १९ भाद्र २०७३, आईतवार १४:२१

स्नातकोत्तर तहका सबै संकायमा पढाइसमेत थालिनसकेको र पीएचडी अध्यापनको योजनै नबनाएको मध्यपश्चिम विश्वविद्यालयले ‘कृतित्व र व्यक्तित्व आधारमा साहित्यकार झमक घिमिरेलाई मानार्थ विद्यावारिधि प्रदान गर्ने’ भनी गरेको निर्णय विवादास्पद बनेको छ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. विद्यानाथ कोइरालाले नियम र चलनले के भन्छ भन्नेतिर नलागी उपाधि दिए त भइहाल्छ भन्ने सोचमा मध्यपश्चिम विश्वविद्यालयले मानार्थ विद्यावारिधिको निर्णय गरेको बताए ।

‘साहित्यकार झमकजीको साहित्यिक योगदानबारे शंका छैन, तर पहिचान र अस्तित्व खोज्ने अर्थमा मध्यपश्चिम विश्वविद्यालयले सबैलाई अनौठो लाग्ने गरी मानार्थ महाविद्यावारिधि सम्मान दिन गरेको निर्णय छ। यसबारे पद्धति खोज्न जरुरी छ।’

शैक्षिक विकेन्द्रीकरणको सिद्धान्तअनुसार ६ वर्षअघि मात्रै मध्यपश्चिमको सुर्खेतमा विश्वविद्यालय स्थापना भएको हो । विश्वविद्यालय मातहतका व्यवस्थापन, मानविकी र शिक्षा संकायमा मुस्किलले स्नातकोत्तर तहको पढाइ थालेको विश्वविद्यालयले प्राज्ञिक परिषद् तथा सिनेटबाट निर्णय पारित गराउँदै पाँच महिनाअघि साहित्यकार घिमिरेलाई मानार्थ विद्यावारिधि दिने निर्णय गरेको थियो ।

‘हामीलाई पनि विश्वविद्यालयको प्राज्ञिक परिषद् र सिनेटबाट पारित भएको निर्णय भनेर सुनाइएको हो, यो आफैंमा उच्च सम्मान हो भन्ने ठानेका छौं’, झमक घिमिरे प्रतिष्ठानका सचिव जनार्दन घिमिरेले बताए ।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. उपेन्द्र कोइरालाले एकेडेमिक काउन्सिल र सिनेटको निर्णयपछि चलनबमोजिम नै साहित्यकार घिमिरेलाई मानार्थ विद्यावारिधि उपाधि दिने निर्णय भएको दाबी गरे ।

‘यो प्रचलनै हो’, उनले भने, ‘कुनै विधागत पढाइको प्रस्ताव (प्रपोजल) स्वीकृत गरेर अथवा गाइड राखेर दिइने पीएचडी उपाधि यो होइन, यो त साहित्यिक योगदानका आधारमा दिइन लागेको मानार्थ सम्मान हो ।’

पीएचडी तहको पढाइसमेत नथालेको विश्वविद्यालयले ‘मानार्थ विद्यावारिधि’ दिन मिल्छ कि मिल्दैन भन्ने जिज्ञासामा कोइरालाले भने, ‘जत्ति मिल्छ, किन मिल्दैनरु यो सम्मानको कुरा हो ।’

jhamak
तर, प्राध्यापक डा. कोइराला लगायतका विज्ञहरू भने कुनै दिन कुनै उच्च माध्यमिक विद्यालय अथवा व्यावसायिक तालिम परिषदले पनि यसैगरी ‘मानार्थ’ दिन थाले शैक्षिक तथा प्राज्ञिक पद्धतिको स्थिति कहाँ पुग्ला भनेर चिन्तित देखिएका छन् ।

‘युरोपको एउटा अनधिकृत संस्थाले पूर्वप्रधानमन्त्री केपी ओली, हास्य कलाकार मदनकृष्ण–हरिवंशलाई मानार्थ पीएचडी दिएपछिको हुर्मत हामीले देखेका छौं’, डा.कोइराला भन्छन्, ‘यही संस्कार र पद्धति हाम्रोमा सुरु नहोस् भनेर कामना मात्रै गर्ने हो ।’

मध्यपश्चिम विश्वविद्यालयको यो मानार्थ विद्यावारिधि सम्मान सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालले साहित्यकार घिमिरेलाई दिने कार्यक्रम तय भएको छ ।

तर, मानार्थ सम्मानको हैसियत र आधारबारे भने कसैलाई स्पष्ट पारिएको छैन । यसअघि, त्रिभुवन विश्वविद्यालयले आफ्नो संस्थाको गरिमा र पद्धतिअनुरूप हालै कवि माधवप्रसाद घिमिरे र साहित्यकार आईबी राईलाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको थियो ।
स्रोत  : ईकान्तिपुर