☰ open Loading... 22 January 2025|  

पाँचसय रुपैयाँ नहुँदा परीक्षा फाराम भर्न पाएनन किशोरीले
  | २१ भाद्र २०७३, मंगलवार १७:१६

जाजरकोटको टाले गाउँकी १६ वर्षीया निर्मला सिंह र १५ वर्षीया कमला सिंह सदरमुकाम खलंगामा अलपत्र परेका छन् । यसै पटक दश कक्षा उत्तिर्ण गरेकी निर्मला घरमा बुवा–आमा नभएको र दाजु–भाउजुले हेलाँ गरेको भन्दै काम खोज्न सदरमुकाम आइपुगेकी हुन् ।

टाले गाउँकै १५ वर्षीया कमला सिंह पनि आमाको मृत्यु र बाबु वेपत्ता भएपछि एक वर्षदेखि सदरमुकाममा भाँडा माझेर गुजारा गरिरहेकी छन् । उनका भाई १२ वर्षीय विकास सिंह भने मामाघरमा गोठालो काम गर्छन् ।

फारम शुल्क बुझाउने रकम नहुँदा पढ्नबाट बञ्चित निर्मला र कमला ।
फारम शुल्क बुझाउने रकम नहुँदा पढ्नबाट बञ्चित निर्मला र कमला ।

निर्मलाका बाबुको ८ वर्षअघि मृत्यु भएपछि आमा अर्कैसँग विवाह गरेर गइन् छोरीलाई अलपत्रै छोडेर । कमलाकी आमाको मृत्यु भएपछि कान्छि लिएर भारत गएका बाबु फर्केनन् ।

निर्मला र कमला दुबैले यसै वर्ष एसएलसी दिए, कमलाले सदरमुकाममा भाँडा माझेर पढिन्, निर्मलाले गाउँमै दाइकहाँ काम गरेर । आफूसँग १,५०० रुपैयाँ नहुँदा अहिलेसम्म एसएलसी सर्टिफिकेट पनि लिन नसकेको निर्मलाले बताइन् । यद्यपी जिल्ला शिक्षा कार्यालय जाजरकोटले सर्टिफिकेट प्राप्त गर्नका लागि निर्मलाले बुझाउनुपर्ने रकम मिनाहा गरिदिने जनाएको छ ।

बढदो उमेरकी किशोरीहरु कुनै आफन्त नभएको सदरमुकामको होटेलमा रहँदा कसैले ललाईफकाई बेचविखन गर्न सक्ने वा कुनै लोभ देखाएर शोषण गर्न सक्ने भएकाले उनहरुको जीवन जोखिममा रहेको महिला विकास अधिकृत प्रज्ञादेवी निरौला बताउँछिन् ।

निर्मलाको अवस्थाबारे महिला तथा बालबालिका कार्यालयले जानकारी लिई पुनः दाइकहाँ फर्काउन प्रयास गरे पनि उनले घर जान मानिरहेकी छैनन् ।

घरमा चरम गरीबी र अपहेलना ब्यहोरेकी निर्मलाले केही सीप सिकेर आयमुलक ब्यवसायमा संलग्न हुन चाहन्छिन् । कमलाको भने जाने घर नै छैन ।

दुबै किशोरीहरु थप पढ्न चाहन्छन् तर होटेलमा भाँडा माझे वापत खानसम्म पाउने उनीहरुलाई कसले पढाइदिने भन्ने समस्या छ । निर्मलाको एसएलसीमा नेपालीमा ‘ई’ र अग्रेजीमा ‘डी’ ग्रेड आएको छ । कमलाको विज्ञान र अंग्रेजीमा ‘डी’ ग्रेड । दुवैले यसैपाली स्तरवृद्धिको परीक्षा दिन चाहेका थिए । तर, उनीहरुसँग फारम भर्नका लागि आवश्यक रु ५०० समेत भएन ।

“राम्रोसँग पढ्न नपाउँदा भाई ९ कक्षाको पढाई छोडेर कालापहाड गयो, अब म कहाँ जाउँ, घरमा पनि लाउन खान दिंदैनन्,” निर्मलाले भनिन् ।
कमला भने होटेलमा भाँडा माझेरै पनि अर्को वर्षसम्म रु ५०० जम्मा गरेर स्तरवृद्धिको परीक्षा दिने योजनामा छिन् । “कसैले भाइ र मलाई पढ्ने व्यवस्था मिलाइदिए कती राम्रो हुन्थ्यो होला,” कमलाको पढेर असल मान्छे बन्ने धोको छ ।