☰ open Loading... 23 November 2024|  

हलियामुक्त भएको नौं वर्ष वित्दा पनि अवस्था उस्तै
  | २२ भाद्र २०७३, बुधबार ०९:४९

सन्दर्भ ९ औं मुक्त हलिया दिवस

मुक्त हलिया भन्छन् “हामीलाई रोजगारी चाहियो”

पुस्तौ देखी हलिया बस्दै आएका जाजरकोट दह ९ का गानो दमाई हलियाबाट मुक्त हुँदा ८ बर्ष अघि निकै खुसी भएका थिए । हलियाबाट मुक्त भएपछि जिवन निर्वाहमा सहजता आउने उनको विश्वास थियो तर सोचे अनुसार नभएपछि निराश छन् ।

गानोका हजुरवुवा जयवीरे दमाईले गाँउकै मुने बस्नेतका बाजेबाट ऋण स्वरुप लिएको एक सय रुपैया तिर्न नसक्दा उनी हलिया बस्न बाध्य भएका थिए । अलिकति भएको जग्गाजमिन पनि बेचेर सकेको र साहुबाट लिएको ऋणतिर्न नसक्दा दमाई परिवार बस्नेत परिवारको हलिया बस्न बाध्य भएको होे 

गानोले आफ्नो जीवनभर बस्नेत परिवारकै हलो जोतेर विताए । त्यसपछि उनका छोरा कमारो दमाईले पनि त्यसैगरी हलिया भएरै जीवन निर्वाह गरे । नाती गानोले ४५ बर्ष सम्म पुस्तौले हलिया भएर जिवन निर्वाह गरेपनि अहिले भने मुक्ती पाएका छन् ।

हाम्रो तीन पुस्ताले हलिया भएर विताए । मैले पनि आधा जीवन हलिया भएर विताए अव मेरा छोराहरुले फेरी यस्तो दासतापुर्ण अवस्था भोग्नु नपरोस उनले भने । सरकारले हलियाबाट मुक्त भएको घोषणा त गर्यो तर पुर्नस्थापनाका लागी ठोस कार्यक्रम नगर्दा आफुहरुको झन् विचल्ली भएको बताए ।

पहिला साहुका काम गथ्यौ दिएको खान्थ्यौ अहिले सवै आफैले जुटाउनु पर्छ । सरकारले जग्गा खरीदका लागी दिएको २ लाख रुपैयाले तिनै साहुको चार रोपनी पाखो जग्गा किनेको तर घर बनाउन नसक्दा सानो खरको कटेरोमा गुजरा चलाएको बताए । अहिले विहान बेलुकाको छाक टार्न मुस्किल पर्ने गरेको बताउँदै उनले सरकार सँग मुक्त हलिया परिवारको रोजीरोटीका लागी रोजगारीको माग गरे ।

 जाजरकोट पजारु १ का मुक्त हलिया धने नेपालीले सरकारी अनुदानमा निर्माण गरेको घर तस्वीर राजेन्द्र
जाजरकोट पजारु १ का मुक्त हलिया धने नेपालीले सरकारी अनुदानमा निर्माण गरेको घर तस्वीर राजेन्द्र

त्यस्तै दह ३ का मानसिह दमाई पनि बाबाको विडो थाम्दै दह ४ का बहादुर बस्नेतको हलिया हुन बाध्य भएका थिए । तर सरकारले २०६५ साल भदौ २१ गतेका दिन हलिया मुक्तीको घोषणा गरेपछि पुस्तौ देखीको दासताबाट मुक्ती पाउँदा औधी खुसी भएका थिए तर हलियाबाट मुक्त भैसकेपछि पनि उनको परिवारको जीवनस्तरमा खासै परिवर्तन नआएपछि निराश छन् ।

हलियाबाट मुक्त भएपछि के के न पाईएला भन्ने सोचेका थियौ तर अहिले सम्म सरकारले जग्गा किन्ने २ लाख रुपैया बाहेक केही नदिएको उनले गुनासो गरे ।उनले दुई लाख रुपैयाले गाँउमै ६ रोपनी पाखो जग्गा किनेको तर त्यो जग्गामा उत्पादन भएको अन्नले खानलाउन नपुग्ने र फेरी साहुकै काम गर्नु पर्ने बाध्यता सुनाए ।

हलियाबाट मुक्त भैसकेपछि ज्यालादारी काम गरेर जेनतेन छोराछोरीलाई पढाएको बताउँदै उनले जेठो छोराले एसएलसी पास गरेको हुँदा उसलाई रोजगारीको ब्यवस्था गरिदिन सरकार सँग माग गरे । हलिया मुक्त भएको ८ बर्ष विति सक्दा पनि अहिले सम्म पक्की घर बनाउन नसकेको उनले गुनासो सुनाए । हलिया मुक्ती पछि स्वतन्त्रता भएपनि ९ जनाको परिवारलाई पाल्न निकै मुस्किल परेको उनले दुखेसो सुनाए ।

यी दुई परिवार मात्र होईन सवै मुक्त हलियाको अवस्था यस्तै छ । सरकारले उनीहरुको पुर्नस्थापनाका लागी गरेको सहयोग बालुवामा पानी सरह भएको मुक्त हलियाहरुको भनाई छ । सरकारले मुक्त हलियाको पुर्नस्थापनका लागी घर निर्माणमा ३ लाख , जग्गा खरीदमा २ लाख र घरमर्मतमा डेढलाख रुपैया दिने गरेको छ ।

उनीहरुको अवस्थाका आधारमा क देखी घ बर्ग सम्म श्रेणी विभाजन गर्ने र आवश्यकताका आधारमा कुनै एउटा कामका लागी सहयोग गर्ने सरकारी निति रहेको जिल्ला मालपोत कार्यालयले जनाएको छ । जाजरकोटमा ३ सय ६२ हलिया परिवार मध्य १ सय ६५ परिवारको प्रमाणिकरण भएको छ भने अन्य परिवारको प्रमाणिकरण हुन वाँकी रहेको मालपोत अधिकृत जनक हमालले बताए ।

कार्यालयका अनुसार जिल्लाका मुक्त हलिया मध्य क बर्गमा परेका ५५ मध्य ३९ परिवारलाई जग्गा खरीदका लागी रकम प्रदान गरिएको छ । त्यस्तै जग्गा भएका तर घर नभएका ग बर्गका ८ मध्य ३ परिवारलाई घरनिर्माणका लागी अनुदान दिईएको छ ।

नेपालका मध्य तथा सुदुरपश्चिमका जाजरकोट , सुर्खेत , हुम्ला , कैलाली , कञ्चनपुर , डढेलधुरा , डोटी , अछाम ,बझाङ्ग , बाजुरा , बैतडी र दार्चुला गरी १२ जिल्लामा दास प्रथाको अवषेशको रुपमा हलिया प्रथाको अस्तित्व रहेको थियो । सवै भन्दा बढी डढेलधुरामा एक हजार चार सय ४२ मुक्त हलिया परिवार रहेका छन् भने सवै भन्दा कम सुर्खेतमा १ सय २९ परिवार रहेका छन् ।

त्यस्तै घर र जग्गा दुवै भएका ख र घ बर्गका १ सय २ परिवार मध्य ७० परिवारलाई घर मर्मतका लागी अनुदान रकम प्रदान गरिएको मालपोत अधिकृत हमालले जानकारी दिए । प्रमाणिकरण भएका मध्य अझै ५३ परिवारले कुनै किसिमको अनुदान रकम पाउन सकेका छैनन् ।

सरकारले मालपोत कार्यालय मार्फत मुक्त हलिया परिवारको लागी वाइरिङ्ग , सिलाईकटाई , तरकारी खेती , ईलेक्टोनिक लगायतका सीपमुलक तालिमहरु संचालन गरिरहेको जनाएको छ ।

तर पनि मुक्त हलिया परिवारको जीवनस्तरमा खासै परिवर्तन आउन नसकेको स्थानियको भनाई छ । प्रयाप्त स्रोतको अभावमा मुक्त हलियाको मागलाई संवोधन गर्न नसकिएको कार्यालय प्रमुख समेत रहेका हमालको भनाई छ ।

पुस्तौ पुस्ता देखी परम्पराको आधारमा बन्धनकारी श्रमका रुपमा रहेको हलिया प्रथालाई २०६५ भदौ २१ गते सरकारले अन्त्य भएको घोषणा गरेको थियो । हलिया भन्नाले आफु वा आफ्नो परिवार वा पुर्खाले लिएको ऋणको ब्याज चुक्ता गर्न ऋणदाता साहुको कृषि श्रमिकको रुपमा बर्षभरी हलो जोत्ने , गोठालो , खेताला , खलिया , डोली आदि काम गर्ने ब्यक्तिलाई भनिन्छ ।

नेपालका मध्य तथा सुदुरपश्चिमका जाजरकोट , सुर्खेत , हुम्ला , कैलाली , कञ्चनपुर , डढेलधुरा , डोटी , अछाम ,बझाङ्ग , बाजुरा , बैतडी र दार्चुला गरी १२ जिल्लामा दास प्रथाको अवषेशको रुपमा हलिया प्रथाको अस्तित्व रहेको थियो । सवै भन्दा बढी डढेलधुरामा एक हजार चार सय ४२ मुक्त हलिया परिवार रहेका छन् भने सवै भन्दा कम सुर्खेतमा १ सय २९ परिवार रहेका छन् ।

घोषणाको ५ बर्ष पछि सरकारले आव ०६९÷७० देखी मुक्त हलियाको प्रमाणिकरण तथा परिचयपत्र वितरणको कार्यक्रम शुरु गरेको थियो । मुक्त हलिया पुर्नस्थापना समस्या समाधान समितिले निकालेको प्रतिवेदनका अनुसार देशभर मुक्त हलियाको प्रारम्भिक लगतका आधारमा १९ हजार ५९ परिवार रहेकोमा दोहोरो तथा छुट भएका समेत समायोजन गरी १६ हजार ९ सय ५३ परिवारको लगत कायम भएको छ ।

त्यसमध्य हाल सम्म १० हजार ६ सय २२ को लगत प्रमाणिकरण गरी ७ हजार ३ सय ७२ परिवारलाई परिचय पत्र प्रदान गरिएको उल्लेख गरिएको छ । तर यी सवै परिवारलाई सरकारले अहिले सम्म पुर्नस्थापना गर्न नसकेको मुक्त हलियाको गुनासो छ ।

उनीहरुले मुक्त हलियाका परिवारलाई जीवन निर्वाहमा सहजता ल्याउन आयमुलक र सीपमुलक खालका तालिमका साथै रोजगारीको ब्यवस्था , उच्च तथा प्राविधिक शिक्षा निशुल्क पढ्न पाउने ब्यवस्था गर्नु पर्ने , निर्वाह भत्ता उपलब्ध गराउनु पर्ने, निशुल्क स्वास्थ्य सुविधा उपलब्ध गराउनु पर्ने माग गरेका छन् ।

 जाजरकोट पजारु १ का मुक्त हलिया धने नेपालीले सरकारी अनुदानमा निर्माण गरेको घर तस्वीर राजेन्द्र