☰ open Loading... 23 January 2025|  

प्रादेशीक राजधानीका नाममा राजनीति नगरौं : पूर्व अर्थमन्त्री पौडेल
  | ३० भाद्र २०७३, बिहीबार १४:१०

प्रदेशभित्रका जनताहरुको अपेक्षा अनुसार प्रदेशको नामाकरण र राजधानीको टुंगो लगाउने र त्यसको नेतृत्व एमालेले गर्ने दावी

नेकपा एमालेका केन्द्रीय उप–महासचिव विष्णु पौडेलले संविधान संशोधनका लागी सत्तापक्ष दलले कुनै खाका प्रस्तुत नगरेको बताएका छन् । प्रेस चौतारी नेपाल दाङले बिहीबार (आज) गरेको पत्रकार सम्मेलनमा पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले संविधान संसोधन हुने भनिएपनि कुन कुन विषयमा संसोधन हुने त्यसको बारेमा कुनै खाका नआएको बताएका हुन ।

प्रचण्ड नेतृत्व सरकारले संविधान कार्यान्वयनलाई प्राथमिकतामा नराखेको आरोप पौडेलको छ । समृद्ध नेपाल निर्माण गर्न योजनावद्ध रुपमा लाग्नु पर्ने उल्लेख गर्दै उनले यसमा एमालेले रचनात्मक र सकारात्मक रुपमा प्रतिपक्षको भूमीका खेल्ने प्रतिवद्धता जनाए ।

paudel
स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचन केपी शर्मा ओलीको पालमा मिति तय गरेकाले त्यही समयमा हुने ठोकुवा पौडेलको थियो । निर्वाचनको मिति सार्न खोजीएमा एमालेले कुनै पनि हालतमा सर्न नदिने उनको भनाई छ ।

एमाले दाङमा देखिएको विवादका बारेमा पौडेलले केही बोल्न चाहेनन् । तर उनले एमाले दाङमा विवाद नै नभएको भन्दै यस विषयमा प्रश्न नगर्न पत्रकारलाई आग्रह गरेका थिए । पत्ररकारहरुको बारम्बारको जवाफमा पौडेलले एमाले दाङमा कुनै विवाद नभएको दावी गरे ।

पौडेलले दाङलाई सुन्दर नगरका रुपमा विकास गर्नतर्फ सवै लाग्नु पर्ने बताए । ‘भौगोलिक रुपमा सुन्दर दाङलाई मुलुककै सुन्दर नगरका रुपमा विकास गर्नुपर्छ ।’ पौडेलले भने,–‘दाङमा सम्भावना हुँदाहुँदै पनि योजनाबद्ध विकासको खाका नहुँदा विकासमा ढिलाई भएको हो ।’

आफू अर्थमन्त्री हुँदा दाङको विकासको खाका माग्दा तत्कालिन र दीर्घकालिन विकासको कुनै खाका नआउँदा पर्याप्त बजेटको व्यवस्था गर्न नसकेको पौडेलले जानकारी दिए ।

प्रदेश नम्बर ५ को राजधानीका विषयमा पौडेलले प्रादेशीक राजधानीको नारा उचालेर साम्प्रदायिकतामाथि खलबल्याउने अधिकार कसैलाई नभएको बताए ।

५ नम्बर प्रदेशभित्रका जनताहरुको अपेक्षा अनुसार प्रदेशको नामाकरण र राजधानीको टुंगो लगाउने र त्यसको नेतृत्व एमालेले गर्ने दावी उनको छ ।