☰ open Loading... 24 December 2024|  

अछामीडाँडाबाट २ लाखको चिरान काठ बरामद
  | ३० भाद्र २०७३, बिहीबार १८:५६

जिल्ला वन कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १३ अछामी डाँडाबाट चिरान काठसहित एक जनालाई पक्राउ गरेको छ । अवैध रुपमा भेरी नदी पारीबाट ल्याएको चिरान काठसहित वीरेन्द्रनगर १३ अमृतडाँडा बस्ने प्रेमबहादुर ओलीलाई पक्राउ गरेको हो ।

जिल्ला वन कार्यालयका निमित्त वन अधिकृत सुर्य शर्माका अनुसार वन कार्यालयको लामो प्रयासपछि ३९ क्युफिट काठ बरामद गरेको हो ।

अवैध रुपमा राखिएको चिरान काठ झार्दै वन कार्यालयका कर्मचारी ।
अवैध रुपमा राखिएको चिरान काठ झार्दै वन कार्यालयका कर्मचारी ।

बरामद गरेको काठको बजार मुल्य १ लाख ९६ हजार रहेको शर्माले जानकारी दिए । विशेष सुराकीको सहयोगमा मध्यरातमा ओलीले घरमा लुकाई राखेको अवस्थामा काठ बरामद भएको शर्माले बताए ।

घरको कोठामा मासको झाङ्टाले ढोकेको अवस्थामा वन कार्मचारी र प्रहरीको सहयोगमा चिरान काठ बरामद भएको हो । ‘अछामीडाँडाबाट बारम्बार काठ आउँछ भन्ने खवर आउथ्यो ।’ शर्माले भने,–‘यथेष्ट प्रमाणसहित पक्राउ गर्न सकेका थिएनौं, यो मिशन गएराती सफल भएको छ ।’

ओलीले काठ अरुबाद खरिद गरेको वन कर्मचारी समक्ष स्वीकार गरेका छन् । ‘घर निर्माण गर्दै थिए, मध्यराती काठ ल्याउनेहरुबाट आफूले तीन हजार ६ सय क्युफिटमा सो काठ काठ खरिद गरेको हुँ ।’ ओलीको भनाई उद्धृत गर्दै वन कार्यालय स्रोतले भन्यो ।

काठ खरिद गर्ने व्यक्ति पक्राउ परेपनि काठ कहाँबाट आएको भन्ने अनुसन्धानको क्रममा खुल्ने शर्माले जानकारी दिए । काठ लेखपराजुल गाविसबाट भेरी नदी तारेर वीरेन्द्रनगरतर्फ काठ ल्याएको हुन सक्ने वन कर्मचारीहरुको अनुमान छ ।

‘१० क्युफिटभन्दा माथिको मुद्दा अदालतले हेर्छ ।’ शर्माले थपे,–‘शुक्रबार अदालतबाट म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडी बढाउँछौं ।’

अवैध काठ ओसार पसार गर्ने र खरिद गर्नेलाई वन ऐन अनुसार एक वर्ष कैद र चार लाख जरिवना हुने कानुनी प्रावधान छ ।