☰ open Loading... 3 May 2024|  

मरुभूमीकरणतर्फ उपत्यका उन्मुख भएपछि चिन्ता
  | ६ आश्विन २०७३, बिहीबार १८:३३

दाङ मरुभूमिकरणतर्फ गइरहेकोप्रति खानेपानीको क्षेत्रमा काम गर्दै आएका सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । विभिन्न कारणले पानीका मुल, खोलाहरु सुक्दै जानु र नदीमा पानीको बहाव पनि कम हुँदै जानुले दाङ केहि वर्षपछि मरुभूमिमा परिणत हुने भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका हुन् ।

जलवायु परिवर्तनको असर, सिमेन्ट उद्योगले जिल्लाका केहि स्थानमा पारेको नकारात्मक प्रभाव, खोला तथा नदीहरुमा ढुंगाजन्य बस्तुहरुको अव्यवस्थित उत्खनन् र मुल संरक्षणमा ध्यान नजाँदा पानीको स्रोतहरु क्रमशः मासिदै जान थालेको उनीहरुको भनाइ छ ।

खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ दाङको तेस्रो जिल्ला अधिवेसन उद्घाटन कार्यक्रममा बोल्दै विभिन्न खानेपानी तथा सरसफाई उपभोक्ता समितिका प्रतिनिधिहरुले जिल्लामा बढ्दो संख्यामा रहेका सिमेन्ट उद्योगको प्रभावले खानेपानीको संकट बढेको बताएका छन् । सिमेन्ट उद्योगका कारण स्थानीय खानेपानीका मुहान, कुवा, ईनारहरु सुक्दै गएको, प्रदुषण बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

उनीहरुले यही अवस्था रहिरहे अबको १०-१५ वर्षभित्रै खानेपानीको हाहाकार हुने साना सहरी खानेपानी तथा सरसफाई समितिका सल्लाहकार देविबहादुर डिसीले बताए ।

‘दाङजस्तो अत्यन्तै सुन्दर जिल्लामा सिमेन्ट उद्योग मात्रै रहदै जाने हो, भने अबको १०÷१५ वर्षभित्रै खानेपानीको अभाव बढ्छ ।’ डिसीले भने, ‘दाङलाई मरुभुमिकरण हुनबाट जोगाउने हो भने पानीका स्रोतहरुलाई अहिलेदेखिनै संरक्षण गर्नुपर्छ ।’

खानेपानीको लागि छुट्याउने बजेटलाई सदुपयोग गर्नुपर्ने उनको भनाइ छ । आधा दशक पहिले बाह्रै महिना बग्ने नदीहरु अहिले सुकेर बगरमा परिणत भएकाले अबको केहि वर्षपछि सम्पूर्ण खोलाहरु सुकेर जाने खतरा बढेको उनको तर्क थियो ।

जिल्लाका केहि उपभोक्ताहरु अस्थायी खानेपानीका मुहानबाट प्रदुषित पानी पिउन बाध्य भएको खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका संस्थापक सचिव ईश्वर पोख्रेलले बताए ।

जिल्लाका धेरै जसो स्थानमा खोला, सोता र ईनारको पानी पिउनुपर्ने र घण्टांै हिडेर पानी बोक्नुपर्ने अवस्थामा रहेको पनि बताए ।
भरतपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष शंकर गौतमले खानेपानीको बृहत्तर विकासका लागि केन्द्रले कार्यक्रमहरु बनाउनुपर्ने सुझाव दिए ।

जिल्लालाई मरुभुमिकरण हुनबाट जोगाउनका लागि खोलाहरुबाट मनोमानी उत्खनन् र चुरेको दोहनलाई रोक्नुपर्ने आग्रह गरेका छन् ।