☰ open Loading... 19 April 2024|  

चामल आयात घटाउन स्थानीय उत्पादनको प्रयोग
  | १६ भाद्र २०७३, बिहीबार १९:०७

जिल्लामा बढ्दो खाद्यान्नको परनिर्भरता घटाउन स्थानीय उत्पादनको प्रयोग बढाउनु पर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । जिल्ला कृषि बिकास कार्यालय कालीकोटले आयोजना गरेको कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।

जिल्लाबासीलाई स्थानीय कृषि उत्पादनको प्रयोग बढाउन अभिप्रेरित गर्ने उद्देश्यले कृषि बिकास कार्यालय कालीकोटले भदौ १५ गतेलाई स्थानीय उत्पादन प्रयोग गर्ने दिनको रुपमा मनाउन आव्ह्रान गर्दै केही परिकारहरु खुवाएको छ ।

मानव शरिरका लागि आवश्यक पर्ने पोष्टिक तत्व कालीकोटमा उत्पादित कृषि बस्तुहरुमा पर्याप्त भएकाले त्यस्ता बस्तुको प्रयोगमा बृद्धि गराउन भदौ १५ गतेलाई स्थानीय उत्पादन प्रयोगको दिनको रुपमा मनाउन आग्रह गरिएको जिल्ला कृषि बिकास कार्यालय कालीकोटका बरिष्ट कृषि बिकास अधिकृत सुनिलकुमार सिंहले बताए ।

‘मानिसका लागि आवश्यक पौष्टिक तत्व पाइने जिल्लामा उत्पादित खाद्य पदार्थहरु प्रयोग गर्न आग्रह गरेका छौ’ बरिष्ट कृषि बिकास अधिकृत सिंहले भने, ‘यसको प्रयोगले जिल्लामा बढ्दो खाद्यान्नको परनिर्भरतालाई घटाउन सकिन्छ भन्ने विश्वास लिएका छौ ।’

हरेक महिनाको १५ गतेलाई स्थानीय कृषि उत्पादनको प्रयोगको दिनको रुपमा मनाउन यो अभियान थादिलएको उनको भनाई छ । भदौ १५ गतेलाई मह र घ्यू लगाएको गहुँ रोटी, हरियो मकै उसिनेको, सिमी र आलुको तरकारी, स्याउ र मुलाको स्लाद तथा लगायतका परिकारहरु खान स्थानीयलाई अभिप्रेरित गरेको उनले बताए ।

‘कालीकोटका सबै मानिसहरुले यसरी नै एक छाक मात्र स्थानीय उत्पादन प्रयोग गर्न सके ५० प्रतिशत खाद्यान्न आयात घटाउन सकिन्छ’ उनले भने ।  जिल्ला अदालत कालीकोटका न्यायधीस केशवप्रसाद पाण्डेले जिल्लाको खाद्यान्न परनिर्भरतालाई घटाउन स्थानीय उत्पादनको प्रयोग गर्नु पर्नेमा जोड दिए ।

‘स्थानीय उत्पादनलाई खेर फालेर भातको खोजी गर्नाले यहाँ खाद्यान्न अभा देखिएको हो’ उनले भने, ‘कस्तुरीले आफ्नो नाभीको विनाको बास्ना खोज्दै भौतारिए झै हामी हाम्रो उत्पादनलाई वास्ता नगरी चामल खोज्दै भौतारिएका छौ ।’ उनले स्थानीइ बस्तुको प्रयोगले खाद्यान्नमा जिल्लालाई आत्म निर्भर बनाउनुका साथै जिल्लाको पहिचान पनि दिदाउने विश्वास गरे ।

kalikot
कालीकोटका प्रमूख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले भातबाहेका अन्य परिकारलाई खाद्यान्न नमान्े प्रवृत्ती कालीकोटमा खाद्यान्न अभावको कारक भएको बताए । स्थानीय मकै, गहु, कोदो फापर जस्ता खाद्यबस्तु छोडेर भातको खोजी गर्दा जहिले पनि खाद्यान्न कमी भएको समाचार सुन्नु दुखद भएको उनको भनाई छ ।

स्थानीय उत्पादनहरु प्रयाप्त भए पनि तीनहरुको परिकार बनाउन नजान्दा खेर जाने गरेको स्थानीयले बताएका छन् । कालीकोटमा उत्पादित मकै र कोदो खच्रलाई दाना खुवाउने गरिन्छ भने फापर चिनो कागुनो प्राय लो हुने अवस्थामा छ ।

कृषिमा आएको बढ्दो आधुनिकतासंगै जिल्लाको खेती योग्य जमिन बाँझो हुँदा यहाँ चामल खोज्ने प्रवृत्ती मौलाउदै गएको स्थानीयहरु बताउँछन् । ‘परम्परागत उत्पादनहरु लोप भै सके’ स्थानीय जयकृष्ण संज्यालले भने, ‘नजिक चामल पाइन थाले पनि खेतबारी बाँझो रहन थालेका छन् ।’

कृषि कार्यालयले कृषिको आधुनिकीकरणमा जोड दिनु पर्ने उनले बताए । कालीकोटको कूल क्षेत्रफल मध्ये २१ प्रतिशत जमिन खेती योग्य भए पनि १० प्रतिशत जमिनमा मात्र खेती भै रहेको जिल्ला कृषि बिकास कार्यालयको तथ्याङ्क छ ।