☰ open Loading... 16 September 2024|  

देउडा संरक्षणमा जुट्दै सुर्खेतका कलाप्रेमी (भिडियोसहित)
  | १९ आश्विन २०७३, बुधबार १२:२१

सुर्खेतमा बसोबास गर्दै आएका भेरी, कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाका वासिन्दाहरु देउडा संरक्षणका लागि सक्रिय भएका छन् । यस क्षेत्रको पहिचानको रुपमा रहेको देउडा गीत लोप हुने अवस्थामा पुगेको भन्दै उनीहरुले सुर्खेतमा देउडा मेला समेत आयोजना गर्दै आएका छन् ।

देउडाप्रेमीहरु हरेक महिनाको १ र १५ गते वीरेन्द्रनगरस्थित खुलामञ्चमा भेला हुन्छन् । खुट्टाको चाल मिलाउँदै उनीहरु देउडामा जनताले भोगेका पीडादेखि राजनीतिक घटनाक्रमलाई अभिव्यक्त गर्दछन् ।

उनीहरु आफ्ना मनका पीर र व्यथा मात्रै गीतमा समेट्दैनन् राजनीतिक दलहरुलाई बाटो नबिराउन खबरदारी समेत गरिरहेका हुन्छन् । देउडा गाउने मात्र होइन हेर्ने र सुन्नेहरुको समेत ठूलो भिड लाग्ने गरेको छ ।

सुर्खेतमा विशेष गरी दैलेख, जाजरकोट, कालिकोट, अछाम, जुम्ला लगायतका जिल्लाबाट बसाइसरेर आउनेहरुको बाहुल्यता भएकाले पनि आफ्नो परम्परागत कला संस्कृतिको संरक्षणमा यहाँका देउडाप्रेमीहरु लगिरहेका छन् ।

दैलेखबाट बसाई सरेर सुर्खेत आएकी अमृता शाही लोप हुने अवस्थामा पुगेको कला संस्कृतिको संरक्षणकै लागि देउडा मेला आयोजना गर्ने गरिएको बताउँछिन् । विशेषगरी महिलाहरुलाई भेला गर्ने र देउडामा महिलाहरुको सहभागिता बढाउन नेतृत्व गरिरहेकी उनी पछिल्लो पुस्ताले खासै वास्ता नगरेकाले आफूहरु .देउडा संरक्षणका लागि अभियानमा लागेको बताईन् ।

पछिल्लो पुस्ता आधुनिकताका नाममा आफ्नो पुरानो कलासंस्कृति भुल्दै गएकोमा उनीहरु चिन्तित छन् । देउडा गीत मध्य र सुदूरपश्चिमको पहिचानको रुपमा रहेकोले पनि यसको संरक्षणमा स्थानीय नागरिकका साथै राज्यले पनि ध्यान पुर्याउनुपर्ने बताउँछन सर्वराज थापा ।

उनले देउडा गीतलाई कतिपयले उपेक्षा समेत गर्ने गरेको भन्दै यसको संरक्षणमा सबै एकजुट हुनुपर्ने बताए । हरेक महिनाको दुई पटक आयोजना गरिने देउडा मेलाले नयाँ पुस्तालाई पनि देउडाप्रति आकर्षित गर्ने विश्वास उनीहरुको छ ।

राज्यले समेत देउडाको संरक्षणमा कुनै पहल नगरेको भन्दै आफै यसको संरक्षणमा जुटेका यहाँका स्थानीयहरु जिल्लामा हुने मेला र महोत्सवमा पनि देउडा प्रस्तुत गर्न पछि पर्दैनन् ।