☰ open Loading... 7 September 2024|  

हराएको लोक संस्कृति नेपाली सेना जोगाउँदै
  | २२ आश्विन २०७३, शनिबार १६:०१

जाजरकोट भेरीमालिका नगरपालिका २ रिसाङ्गका ७५ बर्षिय ओकाध्वज कार्की लोक संस्कृति हराउँदै गएकोमा चिन्तित छन् । दशै लगायतका चाडवाडमा हुने संस्कृतिक उत्सव हुन छाडेका छन् भने दशैको बेला गाँउ गाँउमा हालिने रोटे पिङ र लिङ्गे पिङ पनि देखिन छाडेको कार्की बताउँछन् ।

नेपाली सेनाको जाजरकोट स्थित ज्वालादल गणले बनाएको लिङ्गे पिङ । तस्वीर : राजेन्द्र

नेपाली सेनाको जाजरकोट स्थित ज्वालादल गणले बनाएको लिङ्गे पिङ । तस्वीर : राजेन्द्र

उनी पुर्खाले चलाएको संस्कृति लोप हुन थालेकोमा निकै चिन्तित भएका हुन् । आफ्नो पालामा तरुनी ( केटी ) ले पिङको डोरी बनाउन जंगलमा गएर बावियो काटेर ल्याउँने र तन्नेरी (केटा) हरुले बाँसको लिङ्गा काटेर पिङ बनाउने चलन रहेको स्मरण गदै उनले भने अहिलेका केटाकेटीमा पहिलेको जस्तो जाँगर र संस्कृति प्रतिको मोह नभएको बताउँछन् ।

पहिले पिङ नहालेको गाँउ सायदै हुन्थ्यो अहिले पिङ हालेको गाँउ सायदै भेटिन्छ उनले भने दशैको बेला नाचिने सिंगारु, सरिङ्गे, मारुनी, सोरठी, खाँडो लगायतका नाच नाचिन छोडेका छन् त्यसको ठाँउमा डेकले ठाँउ लिएको छ ।

पिङको सट्टा युवायुवती मोवाईल , ईन्टरनेट र टिभीमा रमाउन थालेका छन् भेरीमालिका ३ का ७२ बर्षिय केशव जंग शाहले भने प्रविधीको विकास र पश्चिमा संस्कृतिको प्रभावले पुर्खाले चलाएको लोक संस्कृती लोप हुने अवस्था पुगेका छन् ।

लोकसंस्कृतिको संरक्षण र संर्वद्धनमा यो पुस्ताले ध्यान दिएन भने अर्को पुस्ताले देख्न नपाउने उनले बताए । केही बर्ष अघि आफैले बनाएको लिङ्गे पिङमा खुवै रमाएको संझदै उनी भन्छन् अहिले कतै पिङ हालेको देखिदैन् ।

साथीहरु मिलेर पिङ बनाउने डोरीको लागी बावियो लिन जंगल जान्थ्यौ ३० बर्ष अघिको कुरा सम्झदै शाह भन्छन् चाडवाडमा पहिले जस्तो अहिले रमाईलो गरेको जस्तौ लाग्दैन । पिङ बनाउँदा र खेल्दा समेत माया प्रिति गाँसिन्थ्यो उनले भने निकै रमाईलो गथ्यौ ।

माथितिर कमेरोमाटो र तलतिर रातोमाटोले घर लिपेर झकिझकाउ पारिन्थ्यो अहिले माटोको ठाँउमा चुन र पेन्टस्ले लिएको छ । पहिले गाँउघरमै स्थानिय बाजाहरु घन्किन्थे अहिले डेकले उक्त ठाँउ लिएको छ त्रिभुवन उच्च माविका प्राचार्य हेरम्ब बहादुर शाहले भने अहिलेको पुस्तामा लोकसंस्कृतिको मोह हराएको आभास हुन थालेको छ ।
चाडवाडमा स्थानिय बाजागाजा बजाउने, दोहरी गाउँने, नाचगान गर्ने चलन विस्तारै लोप हुन थालेको प्राचार्य शाहको भनाई छ । उनले पुर्खाको सम्पति भनेकै संस्कृति भएकोले संस्कृती जोगाउन युवाहरु जुट्नु पर्ने बताए ।

जिल्लाभर कतैपनि पिङ नभएको अवस्थामा नेपाली सेनाको जाजरकोट स्थित ज्वाला दल गणले लिङ्गे पिङ बनाएर संस्कृति जोगाउने प्रयास गरेको छ । ब्यारेक भित्र बनाईएकोले सर्वसाधरणको पहुँच भने पुग्न सकेको छैन । तर सेनाका जवान देखी अधिकृत क्याडेडहरुका लागी भने पिङ चाडवाडको वेला मन भुलाउने साधन बनेको छ ।

पिङमा रमाईरहेकी अछाम घर भएकी सैनिक जवान जयन्ती सावद निकै रमाईलो मानेर पिङ खेलिरहेकी थिईन । उनलाई साथ दिईरहेकी थिईन दैलेख घर भएकी सैनिक जवान राधा शाहीले । उनीहरु दुवै दशैमा घर जान नपाउँदाको पिडा पिङले विर्साईदिएको अनुभुति गरिरहेका छन् ।

राष्ट्रसेवक भएपछि के गर्नु जहाँ बस्यो त्यही रमाईलो मानेर दशैतिहार मान्नुको विकल्प छैन जयन्तीले भनिन । फुर्सदको समय हुने वित्तिकै सेनाहरु पिङ खेल्ने आउने गरेका छन् ।

दशै र तिहार जस्तो महान चाडवाडमा पनि राष्ट्रसेवक सेनाहरु घर जान नपाउने भएकोले उनीहरुलाई भुलाउन, मनोरञ्जन र संस्कृति जोगाउन भन्दै पिङ हालिएका गणपति प्रमुख सेनानी अनुप विक्रम राणाले बताए । उनले लोक संस्कृतिको जगर्नका लागी सेना सधै प्रयत्नशिल रहने बताए ।

सदरमुकाम सुनसान, गाँउघरमा रौनक बढ्दै

हिन्दु नेपालीको महान चाड नजिकिदै गर्दा जाजरकोट सदरमुकाम सुनसान बन्न थालेको छ भने गाँउघरमा विस्तारै दशैको रौनक बढ्न थालको छ । सदरमुकाममा कार्यरत शिक्षक, कर्मचारी, विद्यार्गी, ब्यापारीहरु सवै दशै मान्न आ आफ्नो घर तिर लागेपछि सदरमुकाम सुनसान बनेको हो ।

होटल, पसल, विद्यालय र कार्यालयहरु बन्द भएपछि सुनसान बढेको स्थानिय तेजविक्रम शाहले बताए । उता गाँउ घर तिर भने निकै रमाईलो भैरहेको स्थानियको भनाई छ ।

अध्ययननको सिलसिलामा बाहिर गएकाहरु घरफर्किएका छन् भने रोजगारीको सिलसिलामा स्वदेश तथा विदेशमा गएकाहरु घर फर्कदा खुसी छाएको हो । दशैको अवसरमा धेरै परिवार तथा आफन्तको भेटघाट र पुर्नमिलन भएकोले सवैमा खुसीयाली छाएको छ ।

कमाईको लागी भारत गएका भेरीमालिका नगरपालिका २ का विष्णु वि.क ५ बर्षपछि घरफर्कदा उनको घरपरिवार र छिमेकमा समेत निकै खुसियाली छाएको छ ।

घर फर्कदै गरेका वि.कले भने म एकदमै खुसी छु दशैमा घरफर्कन पाउँदा धेरै बर्षपछि यसपटक सवै आफन्त सँग टिकाटालो गर्ने, भेटघाट गर्ने र मिठोमसिनो खाने उनको धोको छ ।