☰ open Loading... 23 December 2024|  

सुर्खेतका होटलमा ठुलो लगानी
  | २९ आश्विन २०७३, शनिबार १६:३४

ठूला सुविधासम्पन्न होटलको अभावका कारण वीरेन्द्रनगर हुने क्षेत्रीयस्तरका अधिकांश कार्यक्रमहरु नेपालगञ्जमै आयोजना गरिन्थे । व्यापारिक, राजनीतिक चहलपहल नहुँदा ठूलो लगानीमा होटल सञ्चालन गर्न व्यवसायी डराइरहेका अवस्था थियो । तर, पछिल्लो समय ठूला एवं सुविधासम्पन्न होटलहरु खुल्ने क्रम बढेको छ ।

स्थलमार्ग हुँदै कर्णाली जाने यात्रुहरु बढ्नु र सुर्खेत–काठमाडौं सिधा हवाई सेवा सञ्चालन हुनुले उत्साही भएका व्यवसायीहरु अचेल होटल व्यवसायका लागि करोडौं खर्चन तयार छन् ।

सम्भावित प्रादेशिक राजधानी, कर्णाली अञ्चलको प्रवेशद्धार, मध्यपश्चिम विश्वविद्यालको स्थापना, माथिल्लो कर्णाली, भेरी–बबई डाइभर्सन, चौकुने सिमेन्ट, मध्यपहाडी लोकमार्गजस्ता ठूला आयोजनाका कारण सुविधासम्पन्न होटल खुल्ने क्रम बढेको हो ।

वीरेन्द्रनगरको चाइनापुल नजिक निर्माणाधिन अवस्थामा रहेको शुभ होटल प्रालि ।
वीरेन्द्रनगरको चाइनापुल नजिक निर्माणाधिन अवस्थामा रहेको शुभ होटल प्रालि ।

एक वर्ष अघि सन्नी भिलेज रिर्सोटको स्वामित्व लिएको सिद्धार्थ बिजिनेस ग्रुप अफ हस्पिटालिटीले थप सुविधा विस्तार गर्न लगानी भिर्याउँदैछ ।

सिद्धार्थ गु्रपले १६ करोडमा किनेको रिर्सोटमा करिब ३० करोड लगानी बढाएको छ ।

सिद्धार्थ गु्रपका रेजिनल म्यानेजर कृष्ण भण्डारीले आफ्नो होटलले पाहुनालाई ‘थ्रि–स्टार’ लेभलको सेवासुविधा प्रदान गरिरहेको बताए ।

उनका अनुसार होटलमा हाल ३४ वटा डिलक्स रुम, स्विमिङ पुल, फुड गार्डेन, सेमिनार हल छन् ।

‘रुम बढाउने, हेल्थ क्लब सञ्चालन गर्ने र क्षेत्रीयस्तरको सभाहल निर्माणको काम भैहरेको छ’ भण्डारीले भने । होटलमा ४५ जना कर्मचारी छन् ।

वीरेन्द्रनगर, चाइनापुल नजिक शुभ होटल प्रालिले ‘थ्रि–स्टार’ लेभलको अर्को होटल सुरु गर्दैछ । क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष पदमबहादुर शाहीसहित स्थानीय व्यवसायी प्रकाश उपे्रति र टेकबहादुर भण्डारीको संयुक्त लगानीमा निर्माणाधिन होटलमा हालसम्म २३ करोड खर्च भैसकेको छ । करिब २७ करोड खर्च हुने अनुमान गरिएको छ ।

p3
रेडियो नेपाल नजिकै रहेको सिद्धार्थ होटल ।

होटल सञ्चालनमा ५८ जना कर्मचारी आवश्यक पर्ने र, त्यसका लागि राजधानीबाट म्यानेजर बोलाइएको सञ्चालक शाहीले जनाए ।

‘भूकम्प प्रतिरोधी र अपांगमैत्री भवन निर्माण गरिरहेका छौं’ उनले भने, ६० डिलक्स रुम, रेष्टुरेन्ट बार, सेमिनार हल, पार्किङ, विवाह मण्डप, पार्लर, लिफ्ट लगायतका सुविधा छन् ।’

वीरेन्द्रनगरमा नमस्ते नेपाल, भ्याली भ्यू, सिटी भ्यू, मानसरोवर, अशोका, सत्कार, डि–नमस्ते लगायतका मध्यमस्तरका होटल पनि छन् । पछिल्लो समय भौगोलिक कारण देखाउँदै एयरपोर्ट नियमित सञ्चालन नहुँदा होटल व्यवसाय संकटमा परेको व्यवसायीको गुनासो छ ।

क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष पदमबहादुर शाहीले सिधै सुर्खेत आउने पाहुनाहरु एयरपोर्टकै कारण नेपालगञ्ज रोकिनुपर्ने बाध्यता रहेको बताए । ‘हाम्रँे व्यवसायको मुख्य बाधक एयरपोर्ट हो’ उनले भने, यदि काठमाडौं–सुर्खेत नियमित उडान हुन्थ्यो भने होटल व्यवसायमा उल्लेख्य प्रगति भैसक्थ्यो ।’ होटलमा काम गर्ने जनशक्तिले अभावले पनि समस्या निम्तिएको उनले बताए ।

‘हाम्रँ युवाहरु विदेशमा जति कम तलब भएपनि काम गर्न तयार छन् । उताको भन्दा दोब्बर ज्यालामा काम गर भन्दा पनि यहाँ कोही तयार छैनन्’ उनले भने । सिद्धार्थ ग्रुपका सिइओ कृष्ण न्यौपानेले सुर्खेतमा स्थानीय उत्पादनको समस्या रहेको बताए ।

‘पर्याप्त दुध, दही, फलफूल, तरकारी, माछामासु पाइदैन्’ मुलुकका विभिन्न सहरमा होटल व्यवसायमा लगानी गरेको उक्त गु्रपका सिइओ न्यौपानेले भने, अन्यत्रको भन्दा सुर्खेतको मुख्य समस्या स्थानीय उत्पादनको कमी र एयरपोर्ट नै हो ।’