☰ open Loading... 23 October 2024|  

सामसुङले ग्यालेक्सी नोट ७ बन्द गर्नुका कारण
  | ३० आश्विन २०७३, आईतवार १२:४४

सामसुङले ब्याट्रीमा समस्या देखिएको आफ्नो स्मार्टफोन ग्यालेक्सी नोट ७ को उत्पादन स्थायी रुपमै बन्द गर्ने निर्णय गरेको छ। कोरियाली कम्पनीले मंगलबार ग्यालेक्सी नोट ७ र त्यसको सट्टामा लिएको फोन समेत प्रयोग नगर्न ग्राहकवर्गलाई अनुरोध गरेको छ।

‘उपभोक्ताको सुरक्षाको लागि हामीले ग्यालेक्सी नोट ७ को बिक्री, सट्टापट्टा तथा उत्पादन बन्द गर्ने निर्णय गरेका हौँ’ सामसुङले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ग्यालेक्सी नोट ७ र त्यसको सट्टामा लिएको नयाँ ग्यालेक्सी नोट ७ समेत बन्द गर्न र प्रयोग नगर्न आग्रह गर्छौँ।’ सामसुङले यस सम्बन्धमा अनुसन्धान जारी रहेको जनाएको छ।

किन र्गयो सामसुङले यस्तो निर्णय?

विश्वका ठूला र स्थापित कम्पनीहरुले उत्पादन पूर्ण रुपमा बन्द गर्ने कुरा विरलै मात्रै सुन्न पाइन्छ। गत अगस्टमा भर्खरै बजारमा आएका हजारौँ स्मार्टफोनमा आगो लाग्ने र पड्किने समस्या देखिएपछि सामसुङले तिनलाई फिर्ता लिने र सट्टामा नयाँ फोन दिने निर्णय गरेको थियो। कम्पनीका प्राविधिकहरुले सामसुङले लिने गरेको ब्याट्रीमा समस्या रहेका कारण स्मार्टफोनमा आगो लागेको निष्कर्ष निकालेका थिए। त्यसैले सामसुङले बेग्लै आपूर्तिदाताबाट ब्याट्री लिन थालेको थियो।

sam

तर त्यसले पनि समस्याको समाधान भएन। सट्टामा दिएका फोन पनि धमाधम आगो लाग्न थाले। सामसुङका कर्मचारीहरुले त्यो समस्याको समाधान निकाल्न नसकेपछि र बजारमा कम्पनीको छवि धमिलिन थालेपछि सामसुङले ग्यालेक्सी नोट ७ को उत्पादन नै बन्द गर्ने निर्णय र्गयो।

सामसुङले ग्यालेक्सी नोट ७ को उत्पादन बन्द गर्ने निर्णय लिनुअघि नै दुई महिनामा यस कम्पनीको सेयरमा ८ प्रतिशतको गिरावट आएको जनाइएको छ, जसले गर्दा सामसुङलाई १७ अर्ब डलरको क्षति पुगेको छ। त्यसका साथै स्मार्टफोनमा आगो लाग्नुको निश्चित कारण दिन नसक्दा कम्पनीको विश्वसनीयतामा पनि प्रश्न उठेको छ। यसले गर्दा सामसुङका अन्य उत्पादनहरुमाथि पनि शंका उब्जिन सक्ने बजार विश्लेषकहरुको धारणा छ।

सामसुङका मोबाइल उत्पादनले मात्रै कोरियाको वार्षिक निर्यातको २ प्रतिशत हिस्सा ओगट्ने जनाइएको छ । –एजेन्सी