☰ open Loading... 24 November 2024|  

हचुवाको भरमा जाजरकोट अस्पतालको स्तरबृद्धि
  | १ कार्तिक २०७३, सोमबार १८:३९

ठीक एक बर्ष अघि १५ शैयाको जिल्ला अस्पताललाई स्तरबृद्धि गदै ५० शैया क्षमताको जाजरकोट अस्पताल बनाईएको सुनेर निकै हर्षित भएका भेरीमालिका १ का बासुदेव शाह अहिले निराश छन् । उनले स्तरबृद्धि सँगै अस्तालले दिने उपचार सेवा प्रभावकारी हुने ठानेका थिए तर अस्पतालले दिने सेवामा कुनै परिवर्तन नभएपछि शाह निराश भएका हुन् ।

hospital-jkt
१५ शैयाबाट ५० शैयामा स्तरबृद्धि गरिएको जाजरकोट अस्पताल । 

अस्पतालको स्तरबृद्धि कागजमै सिमित भएकोमा उनी मात्र होईन पुरै जिल्लावासी निराश छन् । स्तरबृद्धि भएको भनिएपनि सामान्य शल्यक्रिया गर्न र सुत्केरी गराउन सक्ने अस्पताल सँग सामथ्र्य छैन । ५० शैयाको अस्पतालका लागी ६० भन्दा बढी कोठा भएको भवनको आवश्यकता पर्छ तर भवन निर्माणको कुनै सुरसार नै छैन ।

१५ शैयाको अस्पतालका लागी २०३७ सालमा बनाईएका भवन जिर्ण र कोठा अप्रयाप्त हुँदा शैया राख्न समेत नसकिएको अस्पतालले जनाएको छ । अहिले पनि पुरानै १५ शैैयाले काम चलिरहेको छ । थप शैया र ब्लड बैक स्थापनाको लागी आएको समान भवन अभावमा थन्किाएर राखिएको जाजरकोट अस्पताल प्रमुख चाँदनी जैसवालले बताईन ।

प्रसुति भवन ५ बर्ष देखी अलपत्र छ । भवन अभावमा प्रसुती सेवा दिन नसकिएको डा. जैसवालको भनाई छ । प्रसुती कक्ष , विशेषज्ञ कक्ष , विरामी जाँच गर्ने , औषधी वितरण , एक्सरे , भिडियो एक्सरे , इमरजेन्सी लगायतका सेवा संचालनका लागी अत्याधुनिक कोठाको आवश्यकता पर्छ ।

तर भवन नहुँदा सेवा संचालनमा ल्याउन कठिनाई भैरहेको जैसवालको भनाई छ । अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालय एकै ठाँउमा संचालित हुँदा पनि सेवा प्रवाहमा समस्या परिरहेको छ ।

अस्पतालले सामान्य शल्यक्रिया गर्न र सुत्केरी गराउन नसक्दा हजारौ खर्चेर जिल्ला बाहिर जानु पर्ने बाध्याता रहेको छ जाजरकोटवासीलाई । यस्तो हविगत भएको यही १५ शैयाको जिल्ला अस्पतालको स्तरबृद्धि गदै ५० शैयाको बनाउने सरकारले निर्णय गरेको छ ।

२०७२ असोजको मन्त्रीपरिषदको बैठकले जाजरकोट अस्पताललाई ५० शैयामा स्तरबृद्धि गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई कार्यान्वयन गर्ने भन्दै १० जेठमा गृहमन्त्री शक्तिबहादुर बस्नेतले एक कार्यक्रमका विच ५० शैयाको अस्पतालको शुभारम्भ भएको घोषणा गरेका थिए ।

स्तरबृद्धिको घोषणा गरिएपनि अवस्था फेरिएको छैन सामान्य खालका विरामीको समेत उपचार हुदैन भेरीमालिका नगरपालिका १ का दलबहादुर खत्रीले भने आवश्यक पुर्वाधार खडा गरेर मात्र अस्पतालको स्तरबृद्धि घोषणा गर्नु पथ्र्यो । उनले अस्पतालको स्तरबृद्धि कागजमै सिमित भएको बताए ।

स्तरबृद्धि सँगै ९ जना विशेषज्ञ चिकित्सक, चार जना मेडिकल अधिकृत र अन्य सहायक स्तरका स्वास्थ्यकर्मी सहित ५९ जना स्वास्थ्यकर्मीको दरबन्दी स्वतः कामय गरी सरकारले अस्पतालको स्तर बृद्धि गर्ने निर्णय गरेको थियो तर हाल सम्म चार जना मेडिकल अधिकृत र एक जना दन्तरोग विशेषज्ञ बाहेक अन्य चिकित्सक र स्वास्थ्यकर्मी अहिले सम्म आएका छैनन् ।

१५ शैयाबाट ५० शैयाको अस्पतालको स्तरबृद्धि हुनु आफैमा ठुलो उपलब्धी हो तर आवश्यक पुर्वाधार विना विशेषज्ञ सेवा प्रदान गर्न नसकिने डा.जैसवाल बताउँछिन । स्वास्थ्यकर्मीका दरबन्दी पनि कायम भैसक्यो अवको काम भनेको भबन निर्माण नै हो डा.जिसीले भने ५० बेडको लागी २ हजार ७ सय ५० बर्गमिटरको भवन आवश्यक पर्छ ।

त्यस्तै अप्रेशन कक्ष स्वास्थ्यकर्मीको लागी आवास भवन , १७ ओटा सम्म गाडी अट्न सक्ने पार्किङ्ग स्थल, खानेपानी, विजुली, बाटो, खुला ठाँउ आदि ब्यवस्थापन गर्नु पर्ने उनको भनाई छ । यी सवै काम गर्नको लागी ८० करोड रुपैया सम्म बजेट आवश्यक पर्छ डा. जैसवालले भने, त्यस्तै विशेषज्ञ अनुसारका उपकरण आवश्यक पर्छ तर अहिले सम्म केही छैन ।

स्तरबृद्धि सँगै फिजिसियन, सर्जन, स्त्रीरोग, बालरोग, हाडजोर्नी, मानसिक, बेहोस बनाउने, दाँतरोग र रेडियोलोजिस्ट गरी ९ जना विशेषज्ञ सेवा संचालनका लागी दरबन्दी कायम गरिएको छ । विशेषज्ञ चिकित्सक आएपनि न त उनीहरुको लागी बस्ने क्वाटर छ न त आवश्यक उपकरण र विशेषज्ञ सेवा दिन मिल्ने भवन नै ।

स्वास्थ्य सविच शान्त बहादुर श्रेष्ठले आधारभुत तथा विशेषज्ञ स्वास्थ्य सुविधाको अभावमा पटक पटक महामारीजन्य रोगहरु फैलने भएकोले जिल्ला अस्पतालको स्तर बृद्धि गरिएको बताए ।

उनले जाजरकोट जिल्लामा मात्र फर्किफर्कि विभिन्न किसिमका महामारी फैलिरहने भएकोले विशेषज्ञ सेवा प्रदान गरि स्वास्थ्य सेवाको पहुँच बढाउन स्तरबृद्धि गरिएको बताएका थिए ।

पुर्व स्वास्थ्यमन्त्री समेत भैसकेका गृहमन्त्री शक्ति बस्नेतको दवाव, सभासद् राजिव विक्रम शाह र रीता रावल लगायत जिल्ला स्थित राजनैतिक दलको संयुक्त डेलिकेसनले तत्कालिन प्रधानमन्त्री शुशिल कोईराला, स्वास्थ्यमन्त्री खगराज अधिकारी, स्वास्थ्य सविच श्रेष्ठ लगायत सँग अस्पतालको स्तरबृद्धि गर्न माग गरेपछि तत्कालिन मन्त्रीपरिषद बैठकले २०७२ असोज २२ मा अस्पतालको स्तर बृद्धि गर्ने निर्णय गरेको थियो ।

अस्पतालको स्तर बृद्धि सँगै जाजरकोटका साथै छिमेकी रुकुम, सल्यान , डोल्पा लगायतका जिल्लावासीले समेत विशेषज्ञ सेवा पाउने अपेक्षा गरिएको थियो ।

जिल्ला अस्पतालमा यतिवेला ल्याव सेवा , भिडियो एक्सरे , इसिजि , अल्ट्रासाउन्ड , सामान्य खालका शल्यक्रिया , प्रसुती सेवा लगायतका आधारभुत सेवा समेत उपलब्ध नभएको स्थानिय रामजंग शाहको भनाई छ ।

अहिले सम्म सामान्य स्वास्थ्य चौकीले दिने सेवा समेत नपाईने अस्पतालको स्तरबृद्धि सँगै सेवा बढ्नेमा स्थानियबासिन्दा आशावादी देखिएका थिए तर सम्बन्धित निकायको उदासिनताका कारण अस्पतालले दिने सेवामा कुनै परिवर्तन नहुँदा निराश भएका छन् ।