☰ open Loading... 23 October 2024|  

हिन्दु राष्ट्रको माग गर्दै महायज्ञ गरिने
  | २ कार्तिक २०७३, मंगलवार १८:४१

हिन्दु राष्ट्रको माग गर्दै सुर्खेतमा सप्ताह ज्ञान महायज्ञको तयारी तिव्र पारिएको छ । यही कात्तिक ७ गतेदेखि वीरेन्द्रनगरमा हुने श्रीमद् भागवत राष्ट्रिय धर्म जागरण विराट सप्ताह ज्ञान महायज्ञ–२०७३ को तयारी अन्तिम अवस्थामा पुगेको आयोजक समितिले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

सनातन हिन्दु राष्ट्र नेपाल घोषणा नागरिक संघर्ष समिति र भागवत संचालक समितिले महायज्ञको तयारी तिव्र पारेको हो । कात्तिक १४ गतेसम्म सञ्चालन हुने महायज्ञमा हिन्दु राष्ट्रको माग गर्दै आमरण अनसन गर्ने यूवा सन्त श्रीनिवासाचार्य लगायत हिन्दु राष्ट्रको वकालत गर्दै आएका व्यक्तित्वहरुबाट कथा प्रवचन हुने आयोजक समितिले जनाइएको छ ।

समितिका अनुसार प्रत्येक दिन विहान ५ बजेदेखि ७ बजेसम्म योग शिविर, ७ बजेदेखी ८ बजेसम्म भागवत पुजन, ८ देखि ११ बजेसम्म संगितमय कथा प्रवचन लगायतका प्रभातकालिन कार्यक्रम हुनेछन् ।

हरेक दिन साँझ ५ बजेदेखि आरतीप्रसाद वितरण, ७ बजेदेखि सायँकालिन भजन किर्तन लगायतका सन्ध्याकालिन कार्यक्रमहरु हुने बताइएको छ । हिन्दु राष्ट्रको पक्षमा जनमत बढाउने मुल उद्देश्यले सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको समितिका महासचिव प्रेमप्रकाश खड्काले बताए ।