☰ open Loading... 23 October 2024|  

अव गाईभैंसीले पनि सुत्केरी भत्ता पाउने !
  | २ कार्तिक २०७३, मंगलवार १६:५८

vattaके तपाईले घरमा गाईभैंसी पाल्नु भएको छ ? या त व्यवसायीक रुपमै फर्म सञ्चालन गरेर गाईभैंसी पालनमा जुटिरहनु भएको छ । त्यसो भए अवदेखि तपाईले पनि गाईभैंसी सुत्केरी भए भत्ता पाउनु हुनेछ ।

सरकारले यसै वर्षदेखि लागु हुनेगरी देशभरका १० जिल्लामा यो कार्यक्रम सञ्चालन गर्न लागेको छ । गाईभैंसीलाई सुत्केरी पशु आहारा भत्ता अनुदान कार्यक्रम अन्तरगत यी जिल्लाका कृषकहरुले यो सेवा पाउने छन् ।

मध्य–सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका प्युठान, सुर्खेत, डडेलधुरा र बैतडीका कृषकले पनि सुत्केरी भत्ता पाउने पशु उत्पादन निर्देशनालय ललितपुरका पशु विकास अधिकृत मेघराज ढकालले पश्चिम नेपाललाई जानकारी दिए ।

दुधालु गाईभैंसी, पाडापाडी र बाच्छाबाच्छीहरुको संरक्षणमा चेतना जगाउने उदेश्यले यस्तो कार्यक्रम सञ्चालन गर्न लागेको ढकालले बताए । दुधालु भैंसी र नयाँ जन्मिएका पाडापाडी मासुका लागि विक्री बढ्न थालेपछि रोक्ने ध्येय यस कार्यक्रमको छ ।

गाईभैंसी सुत्केरी भत्ता पाउन कृषकले पशुको विमा, सहकारीमा आवद्ध, पशु सेवा केन्द्रबाट पशु ब्याउने र ब्याएको प्रमाण तथा आधिकारीक निकायबाट गरिबी प्रमाणित भएका कृषकलाई प्राथमिकतामा रहेको ढकालको भनाई छ ।

कार्यक्रम अनुसार हरेक गाईभैंसी ब्याएवापत कृषकले दुई हजार पाँचसय रुपैयाँ पाउँने छन् । यो कार्यक्रम सञ्चालन गर्न निर्देशनालयले सूचना समेत सार्वजनिक गरेको छ ।

गत असोज १० गते निर्देशनालयले सूचना सार्वजनिक गरेको थियो । तर हालसम्म मध्यपश्चिम क्षेत्रीय पशुपंक्षी निर्देशनालय सुर्खेत, जिल्ला पशु सेवा कार्यालय सुर्खेत र प्युठान समेत कार्यक्रम बारे अनविज्ञ छन् ।

सूचना सार्वजनिक गरेको आफूहरुलाई जानकारी नै नभएको क्षेत्रीय पशुपंक्षी निर्देशनालय सुर्खेतका सूचना अधिकारी बेचुलाल चौधरीले बताए । उनले यसबारेमा सामान्य जानकारी पाएपनि कार्यक्रम बारे कार्यविधि नआएकाले स्पष्ट नभएको जानकारी दिए ।

पशु उत्पादन निर्देशनालय ललितपुरले १० गते सार्वजनिक भएको सूचना असोज २६ गते मात्रै आफ्नो वेव साइटमा राखेको छ । ‘तपाई (पत्रकार) ले अहिले भनेपछि मात्र थाहा भयो । पशु उत्पादन निर्देशनालय ललितपुरले कुनै जानकारी दिएको छैन ।’ उनले भने,–‘यसबारेमा थप बुझेर कार्यक्रम लागु हुने दुवै जिल्लाका प्रमुखहरुलाई कार्यक्रम बारे जानकारी अहिल्यै दिन्छु ।’
सुर्खेतका कृषकले यो कार्यक्रम लागु भएपछि प्रभावकारी हुने अपेक्षा राखेका छन् । ‘कार्यक्रमबारे थाहा नै थिएन् तपाईले भनेपछि थाहा पाए ।’ सुर्खेतका कृषक कलम थापाले भने,–‘यसबारे पशु सेवा कार्यालयमा बुझेर थप प्रक्रिया अपनाउने छु ।’