☰ open Loading... 7 September 2024|  

जीर्ण बन्दै रत्न राजमार्ग
  | ५ कार्तिक २०७३, शुक्रबार ०८:११

बाँकेको कोहलपुरदेखि सुर्खेत सदरमुकाम वीरेन्द्रनगर जोड्ने रत्न राजमार्ग दिनप्रति दिन जिर्ण बन्दै गएको छ । समयमै मर्मत सम्भार नहुँदा रत्न राजमार्ग जिर्ण बन्दै गएको हो । ३९ वर्ष पुरानो यो राजमार्गको अवस्था अहिले पनि जस्ताको त्यस्तै छ ।

Displaying rrrr.bmp
२०५० सालको माघ २६ गतेको मन्त्रीस्तरीय निर्णयले सडक वर्गीकरण गर्ने क्रममा बाँकेको जमुनाहदेखि सुर्खेतको बांगेसिमलसम्मको सडक खण्डलाई रत्न राजमार्ग नामाकरण ग¥यो ।

१ सय १३ किलोमिटर यो सडकलाई त्यसअघि सार्वजनिक सडक ऐन–२०३१ अनुरुप वर्गीकरण गरी तत्कालीन निर्माण तथा यातायात मन्त्रालयले २० असार २०३४ मा ‘क’ वर्गको राजमार्ग भनेको थियो ।

तथापी त्यत्तिबेला नामाकरण भने गरिएको थिएन । राजमार्गको एकतर्फी कालोपत्रेले सवारी सञ्चालनमा निकै समस्या हुँदै आएको छ । दुई लेन सडक खण्ड भनिएपनि वान–वे कालोपत्रे बाहेकको कच्चि सडकमा खाडलहरु हुँदा सवारी सञ्चालनमा जोखिम बढेको छ ।

वान–वे कालोपत्रेका कारण यो सडकमा सवारी ठोक्किने, पल्टने, सवारी साधन आवतजावतमा समस्या हुने गरेको सवारी चालकहरु बताउँछन् । सवारी चालक चुडामणि विकले वान वे कालोपत्रेले गर्दा साना गाडी सञ्चालनमा बढी समस्या हुने गरेको बताए । गाडी क्रस गर्दा कालोपत्र गरेको भाग छोडेर कच्चि सडकमा पुग्नुपर्ने बाध्यता छ ।

यसले पैदल यात्रुहरुलाई समेत त्रसित बनाउने गरेको छ । थुप्रै स्थानमा कालोपत्रे नै उप्किएको छ । यसले सवारी सञ्चालनमा जोखिम त बढाउछ नै सवारी साधन छिटो बिग्रने समस्या समेत निम्त्याउने गरेको सवारी सञ्चालकहरुको गुनासो छ ।

अप्ठ्यारो सडकका कारण दुर्घटनाको जोखिम बढेको अर्का सवारी चालक निमबहादुर खत्री बताउँछन् । तत्काल राजमार्गको मर्मत सुधार गर्नुपर्ने उनको भनाइ छ ।

केपी ओली नेतृत्वको सरकारले रत्न राजमार्गलाई स्तरोन्नती गर्दै दुई लेन बनाउने घोषणा गरेपछि यहाँका नागरिमा उत्साह थपिएको थियो । तर उक्त योजना कार्यान्वयन हुने वा नहुने टुंगो छैन ।

सुर्खेतलाई राजधानी काठमाण्डौ लगायत अन्य सबै जिल्लाहरुसम्म जोड्नका लागि प्रयोग हुँदै आएको ३ दशक पुरानो रत्न राजमार्गको यो दुर्दशा हुँदा पनि सम्बन्धित निकायले भने मर्मत र सुधारका लागि खासै पहल गरेको देखिदैन ।