☰ open Loading... 23 April 2024|  

सञ्चारको दुरुपयोग होइन, सदुपयोग गरौं !
  | ५ कार्तिक २०७३, शुक्रबार १६:१०

आज भोलि दैनिक रुपमा सामान्य गुजारा चलाउन सक्ने मानिसहरुका हातमा आकारका दृष्टिले केही ठूला मोवायल सेटहरु पाइन्छन् ।सरकारी तथा गैर सरकारी कार्यक्रमहरुमा त प्रायः मानिसका हातहरुमा मोवायल सेट नै हुन्छन् र ती हातहरु धेरैका तस्वीरहरु आफ्नो मोवायलको क्यामरामा कैद गर्न व्यस्त देखिन्छन् ।

पहिले पहिले मोबायलबाट कल आगमनका लागि घण्टीहरु निकै बढी बज्दथ्ये आज भोली कल रिसिभ भन्दा पनि ध्यान बढी फेस बुकमा स्टेटस लेख्ने तथा फोटो हाल्न एक प्रकारले उछिन्ने प्रयास भएको पाइन्छ ।

सिकाईका दृष्टिले केही यी उल्लेखनीय तथा सराहनीय कार्यहरु हुनु एकदमै स्वभाविक छन ।तर सवाल के हो भने जब समाजलाई गतिलो सन्देश दिन सकिदैन तब समाजको गति अगाडि अवश्य पनि बढ्दैन त्यो घाटा पूर्ती गर्न निकै समयको लगानी  गर्नुपर्ने हुन्छ ।

सञ्चारका सन्दर्भमा म आज पनि सम्झन्छु , २०४१ जेष्ठ २९ गते एस. एल. सी .को रिजल्ट भएपछि तत्कालीन अवस्थामा दैलेखस्थित जिल्ला प्रशासन कार्यालयको छेउमा असली कर्कट पाताले छाएको आकाश वाणीको कार्यालय थियो हाल पनि त्यहाँ उक्त कार्यालयका केही अवशेषहरु छन् ।

Surendra Adhikari

त्यहाँ गएर घण्टौ लाइन लागेपछि मात्र आकाश वाणीबाट  रिजल्ट सम्बन्धी खबर प्राप्त गर्न सकिन्थ्यो । म अहिले पनि अनुमान गर्छु  कि म भन्दा अगाडिका पुस्ताहरुको के हालत थियो होला ? सहजै अनुमान गर्न सकिन्छ ।

आज भोलि सूचना र प्रविधिको क्षेत्रमा निकै ठूलो प्रगति भएको छ।भनिन्छ ,वर्तमान सूचना र प्रविधिको युग हो।यसरी गणना गर्ने हो भने ५० वर्ष त के ? २५ वर्ष यता सञ्चारको क्षेत्रमा भएको विकासले निकै अन्तर अनुभव गराएको छ । यसमा खुशी र गर्वको कुरा त अवश्य छदैंछ त्यसमा टीप्पणी गर्न उपयुक्त नहोला ।

 साथसाथै  सञ्चारको दुरुपयोगले जन्माएका विषयहरुप्रति ध्यानाकर्षण हुने हो भने असल कुरालाई खराब पक्षले कयौ गुना उछिनिसकेको छ । आत्म सन्तुष्टीका लागि होस् अथवा मनमा लागेर होस् अथवा रीस पूरा गर्न होस् कुकुर ,स्याल ,बाँदर, बाघ ,गधा, भैंसी, बिरालो, मुसा, हात्ती, सिंह जो पशु हुन् र तिनीहरुमा मानवीयता हुँदैन भन्ने अर्थ बोक्दछन् , तिनैको शरीरमा टाउको जोडेर स्वाद फेर्ने गरिन्छ र कार्टुनिष्टहरुको पेशालाई गलत ढंगबाट अँगाल्न खोजेको पाइन्छ ।

साथै थुप्रै अश्लील तस्वीरहरु पोष्ट गर्ने लगायतका नकारात्मक शिक्षा दिन अग्रसर हुने प्रवृत्ती हावी भएको पाइन्छ । राष्टिय रुपमा होस् वा अन्तराष्टिय रुपमा होस् गल्ती गर्नेलाई कानून बमोजिम कारवाही गरेर अथवा गल्ती गरेपछि गर्नुहुँदोरहेनछ भन्ने पश्चाताप महसुस गराउने तथा दण्डका सिद्धान्तहरुद्वारा सुध्रर्न उत्प्रेरित गर्ने सिद्वान्त अपानाउन आवश्यक हुन्छ । उपयुक्त बाटो  हिड्न छोडेर गलत बाटो हिंडेमा  गन्तव्यमा अवश्य पनि कहिल्यै पुगिदैन ।

   त्यसलै आज भोलि समाजमा भएका अपराध वा कुकृत्यका विषयमा गफगाफ हुन थालेमा मान्छेको नियत र प्रवत्तिलाई जाँचेर होइन मोवायल जस्तो भौतिक तथा निर्जीव वस्तुमाथि दोष थुपारिन्छ र भन्ने गरिन्छ, जति कति गरेको छ यही ठाँडाले (स्थानीय प्रचलन अनुसार मृत लासलाई बोक्ने बाँस जसलाई गालीको रुपमा बुझ्न सकिन्छ ) गरेको छ ।

न्यायिक तथा अर्ध न्यायिक निकायमा दैनिक रुपमा जति पनि निवेदन उजूरहरु जान्छन् ती अधिकांश या त मादक पदार्थ सेवन गरेका या त मोवायल सम्पर्कबाट श्रृजित भएका घटनाहरु नै हुन्छन् ।

अदालतमा प्रवेश पाउने अधिकांश दुनियावादी देवानी तथा फौंजदारी मुद्दाहरुमा खासगरी पारीवारिक प्रकृतिका जस्तै घरेलु हिंसा, सम्बन्ध – विच्छेद, माना चामल वा खाना खर्च, गाली बेइज्जती, कुटपीट, लुटपीट हुन्छन् भने सरकारवादी मुद्दाहरुमा  सवारी ज्यान, सार्वजनिक अपराध, अङ्गभङ्ग कुटपीट, कर्तव्य – ज्यान ,जवरजस्ती करणी , चोरी ,आगो लगाउने तथा आत्महत्यालाई उत्प्रेरित गर्ने खालका जघन्य प्रकृतिका घटनाहरु भएका छन् ।

यस्ता घटनाहरुलाई केवल घटनाको रुपमा मात्र बुझ्ने हो भने समस्या जहाँको तहीं रहनेछ ।त्यसैले समाजको समग्र विकासको लागि चिन्ता गर्ने क्रममा यी समस्याहरुप्रति केन्द्रित  नभएमा वा वेवास्ता भएमा भित्र भित्र भूसको आगोझैं हुने निश्चित छ ।

एकातिर वर्तमान संविधानले प्रत्येक नागरिकलाई प्रत्याभूत गरेको गोपनीयताको हकको संरक्षणका लागि व्यक्तिका केही निजी कुराहरु कोट्याउनुलाई संविधानतः उपयुक्त र सान्दर्भिक मानिदैन भने अर्कातिर तिनै तथ्यहरु कहिंलेकाही मुद्दा अनुसन्धानका लागि सहायक पनि हुन सक्दछन् ।

सञ्चारको द्रुत विकास संगसंगै त्यसले जन्माएका नकारात्मक पक्षहरुलाई यदि समयमा व्यवस्थापन गर्न नगरिएमा वा वेवास्ता गर्न थालियो भने समाजमा सुधारको पाटो कमजोर तथा साँघुरो हुँदै जाने कुरामा दुई मत छैन । राज्य वा सरकारले त अवश्य नै अपराध नियमन तथा नियन्त्रणका लागि संयन्त्रहरुको व्यवस्थापन गर्ने दायित्व पूरा गर्दछ र गर्नु पनि पर्दछ ।

तर त्यो नै समस्याको अन्तिम तथा दीर्घकालीन समाधान होइन ।सञ्चारका साधनहरुको दुरुपयोग रोक्न अथवा दुरुपयोग हुन नदिनका लागि चेतनामूलक तथा अन्य व्यवस्थापकीय प्रवन्धक गर्न आवश्यक देखिन्छ ।

यसका लागि राज्य अथवा सरकार जसलाई नागरिकहरुको अन्तिम अभिभावक मानिन्छ, प्रथम पहल तथा प्रयास आवश्यक छ त्यसपछि मात्र सचेत नागरिक तथा सर्वसाधारण सबैको सकारात्मक भूमिका सहायक हुन्छ ।

अझै विश्वासकासाथ प्रण गरौं, सरकारी तथा गैर सरकारी एवं सबै सचेत नागरिकहरुका बीचमा असल कार्यका लागि सहकार्य एवं सहमति भई सामाजिक घटनाहरुलाई न्यूनीकरण गर्दे मानव जातिका लागि निर्मित जति पनि साधनहरु छन् तिनीहरुको सही ढंगले सदुपयोग गरेमा भविष्यका लागि यो उदाहरणीय शिक्षा हुनेछ ।

भोलिका सन्ततिको अनावश्यक विषयमा समय व्यतित नभई रचनात्मक क्षेत्रमा समयको लगानी हुनेछ भन्ने कुरामा विश्वास गर्न सकिन्छ ।