☰ open Loading... 23 December 2024|  

दैलेखका तीन बालकको भारतबाट उद्धार
  | ५ कार्तिक २०७३, शुक्रबार १५:५९

भारतको मुजफ्फरपुरबाट दैलेखका तीन बाललिकाहरुको उद्धार गरिएको छ । भारतको विहार राज्य अन्तर्गत मुजफ्फरपुर जिल्लाको सिकन्धर गाउँमा रहेको निर्देश बालगृहबाट ति बालकहरुको उद्धार गरेर नेपाल ल्याइएको हो ।

घरबाट भागेर बैंग्लोरमा काम गर्न गएका दुल्लू नगरपालिका–८ का १४ वर्षीय सुन्दर वन सन्यासी, १५ वर्षीय सुरज गिरि र, ९ का १५ वर्षीय टीकाराम पुरीलाई जिल्ला बालकल्याण समितिको समन्वयमा स्थानीय गैरसरकारी संस्था सामाजिक सेवा केन्द्र (सोसेक) ले बुधबार उद्वार गरेको हो ।

img_20161019_182517
बैंग्लोरमा बालबालिकाले होटलमा काम गर्न नपाउने भएकाले भारतीय प्रहरीले तीन महिना अघि उनीहरुलाई बालगृहमा राखेको थियो । त्यहाँ रहेका धनगढीका एक बालकका परिवारले दिएको सूचनाका आधारमा अभिभावकसहित नेपाल बाल संरक्षण सञ्जालका प्रदेश–६ का संयोजक हीरासिंह थापाको टोली बिहार पुगेको थियो । तीनै जना बालक पढाइ छाडेर भारत गएका हुन् । सुन्दर ५ महिना अघि, टीकाराम र सुरज एक वर्ष अघि बैंग्लोर गएका थिए ।

बालगृहमा थुपै्र नेपाली बालबालिकाले कष्टकर जीवन बिताइरहेको उनले बताए । मुजफ्फरपुर जिल्लाको सिकन्धर गाउँमा रहेको निर्देश बालगृहमा नेपालका ३२ बालबालिका रहेको नेपाल बाल संरक्षण सञ्जालका प्रदेश–६ का संयोजक थापाले बताए । उनले ति बालकालिकाहरुको विवरण माग गरिएकाले आफूले उनीहरुको उद्धारका लागि पहल गर्ने जानकारी दिए ।

‘बालगृहमा हिरासतको जस्तो व्यवहार गरिँदोरहेछ । अरु बालबालिकाको अवस्था देख्दा दया जागेर आयो’ उनले भने । साथीहरुको लहैलहै, कमजोर पारिवारीक अवस्था, पढ्न मन नलागेर जस्ता विभिन्न कारणले ग्रामिण भेगका बालबालिकाहरु भारत पस्ने समस्या छ ।