☰ open Loading... 23 December 2024|  

विद्युत चोर्ने ५५ जना पक्राउ
  | ७ कार्तिक २०७३, आईतवार १०:४८

बर्दियामा खपत हुने कुल विद्युत मध्ये झण्डै आधा विद्युत चोरी हुने गरेको पाईएको छ । बर्दियामा बार्षिक रुपमा खपत हुने विद्युत मध्ये झण्डै आधा अर्थात ४७ दशमलव २ प्रतिशत विद्युत चोरी हुने गरेको नेपाल विद्युत प्राधिकरण गुलरिया वितरण केन्द्रले जनाएको छ । गत वर्ष ३६ प्रतिशत चुहावट भएकोमा यस वर्ष अझैँ बढेको छ ।

अत्याधिक विद्युत चोरी भएको भन्दै बिद्युत चोरी नियन्त्रणका क्रममा बर्दियाका विभिन्न नगरपालिका र गाविसहरुबाट एक महिना भित्र बिद्युत चोरी गर्ने ५५ जनालाई पक्राउ गरेको नेपाल विद्युत प्राधिकरण गुलरिया वितरण केन्द्रका प्रमुख अबधेश कुमार गुप्ताले बताउनुभयो ।

बिद्युत पोलबाट सिधै हुकिङ गरी विद्युत चोरी गर्ने बबई नगपालिकाको वडा नम्बर ५, ९ र १० बाट सुक्रबार राती १९ जनालाई पक्राउ गरी सदरमुकाम गुलरिया लगीएको छ । यसैगरी बिद्युत पोलबाट सिधै हुकिङ गरी विद्युत चोरी गर्ने गुलरिया नगरपालिका, धधवार र मगरागडी गाबिसबाट ३६ जनालाई पक्राउ गरेको बिद्युत प्राधिकरण बर्दियाले जनाएको छ ।

विद्युत चोरी नियन्त्रणका लागि विद्युत प्राधिकरणका कर्मचारी सहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको सयुंक्त टोली विद्युत चोरी भएका नगरपालिका र गाबिसहरुमा अनुगमनका लागि खटीएको छ ।

विद्युत चोरीको आरोपमा पक्राउ परेकाबाट विद्युत प्राधिकरण नियमावलिको चोरी नियन्त्रण ऐन २०५८ अनुसार कम्तीमा ३ हजार देखि १० हजार सम्म जरीवाना गरीने नेपाल विद्युत प्राधिकरण गुलरिया वितरण केन्द्रका प्रमुख अबधेश कुमार गुप्ताले बताउनुभयो ।

यसैगरी सोरहवाको गोब्रेपुरका रमेश खटिकले विद्युत चोरी गर्दा गाउँको ट्रान्सफरमर जलेपछी बिद्युत प्राधिकरण गुलरिया शाखाले खटिकलाई पक्राउ गरी ६२ हजार ४ सय जरीवाना लिएको छ ।

सबैभन्दा बढी विद्युत चोरी हुनेमा बर्दियाको गुलरिया नगरपालिका, बबई नगरपालिका सहित सोरहवा, धधवार, मगरागडी गाविस रहेका छन् ।

घोषित लोडसेडिङको तालिकामा कमी आएपनि अत्याधिक विद्युत चोरीका कारण विद्युत आपूर्ति बन्द हुने रभोल्टेज नपुग्दा स्थानीय वासिन्दाहरु मर्कामा परेका छन् ।

अत्याधिक मात्रामा विद्युत चोरी भएका कारण लोड नपुगेर बेलाबेलामा विद्युत आपूर्ति बन्द भइरहेकाले चोरी नियन्त्रणका लागि अभियान थालेको बताउँदै चोरी न्युनिकरणका लागि सहयोग गरीदिन उपभोक्ताहरुलाई बिद्युत प्राधीकरण बर्दिया शाखाले अनुरोध गरेको छ ।