☰ open Loading... 18 October 2024|  

१९ हजारले बुझ्दै सामाजिक सुरक्षा भत्ता
  | १० कार्तिक २०७३, बुधबार ०६:४२

सुर्खेतमा सामाजिक सुरक्षा भत्ता वितरण कार्य अन्तिम चरणमा पुगेको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिक भत्ता जिल्लाका ४० गाविसहरुले वितरण गरिरहेका छन् ।

सुर्खेतमा सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या १९ हजार ४७२ जना छन् । पहिलो चौमासिकमा मात्रै ९ करोड ३१ लाख २७ हजार दुईसय रकम वितरण भैरहेको जिल्ला विकास समितिका सुर्खेतका पंञ्जीकरण शाखाका नायव सुब्बा ओमप्रसाद चपाईँले जानकारी दिए ।

उनका अनुसार सुर्खेतमा ८ वटा लक्षित वर्गले सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन् । जेष्ठ नागरिक भत्ता (अन्य) ३ हजार ८५७, जेष्ठ नागरिक दलित ३ हजार ७४, विधवा २ हजार ७४१ र एक महिला २ हजार २६२ जनाले भत्ता पाउने गरेका छन् ।

यस्तै, लोपोन्मुख आदिवासी तथा जनजाती १ हजार १७५, पूर्ण अपाङ्गता १ सय ६८, आंशिक अपाङ्गता २ सय ६४ र बालबालिका सुरक्षा भत्ता दलितमा ५ हजार ९ सय ३१ जनाले पाउने गरेको नासु चपाईँले बताए ।

 सामाजिक सुरक्षा भत्ता लिन बावियाचौर गाविस कार्यालय पुगेका सेवाग्राहीहरु । तस्वीर अमर कार्की÷बावियचौर
सामाजिक सुरक्षा भत्ता लिन बावियाचौर गाविस कार्यालय पुगेका सेवाग्राहीहरु । तस्वीर अमर कार्की-बावियचौर

७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले मासिक २ हजार, पूर्ण अपाङ्गता र राजी समुदायले २ हजार तथा यही वर्गका ७० वर्षभन्दा माथि नाघेका व्यक्तिहरुले मासिक ३ हजार भत्ता पाउने गरेका छन् ।

तर जेष्ठ नागरिक दलित, एकल र विधवाले मासिक एक हजार, आंशिक अपाङ्गताले ६ सय र बालबालिकाले चार सय भत्ता पाउने गरेको चपाईँले जानकारी दिए ।

चालु आर्थिक वर्ष २०७३।०७४ को पहिलो चौमासिक भत्ता वितरण कार्यलाई तिव्रता दिन सवै गाविसलाई निर्देशन दिएको जिल्ला विकास समितिले बताएको छ ।

‘जिल्लाका कतिपय गाविसले दशैँ अगावै सामाजिक सुरक्षा वितरण गरिसकेका छन् ।’ नायव सुब्बा चपाईँले भने,–‘जिल्लाका पूर्वी क्षेत्रका केही र पश्चिमका गाविसमा अहिलेपनि वितरण जारी रहेको छ ।’

गाविस कार्यालयहरुको मुल्यांकन न्युनतम शर्त तथा कार्य सम्पादनले गर्ने भएकाले पनि कार्तिक मसान्तसम्म सवै गाविसले सामाजिक सुरक्षा भत्ता वितरण गरिसक्ने चपाईँको भनाई छ ।

वर्षमा तीन चरणमा सामाजिक सुरक्षा वितरण गरिन्छ । पहिलो दशैँ अगावै, दोस्रो माघ मसान्त र तेस्रो जेठ मसान्तमा ८ वर्गक व्यक्तिहरुलाई भत्ता दिइन्छ ।

सरकारले सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई बैँक मार्फत गर्ने निर्णय गरेपनि सुर्खेतमा लागु नभएको जिविसले जनाएको छ । जिविस सुर्खेतका अनुसार बैंक इच्छुक नहुनु र भत्ता बुझ्ने नागरिकहरु पनि उत्सुक नहुनले लागु गर्न सकिएको छैन् ।

तर बैंक मार्फत लागु गर्दा सवैभन्दा बढी सहज गाविस सचिवलाई हुने जिविस बताउँछ । ‘लाखौं रकम बोकेर जोखिममा गाविस पुगेर भत्ता बाड्न सहज छैन् ।’ जिविस स्रोतले भन्यो,–‘तर बैंकिङ्ग प्रणालीमा जाँदा भत्ता बुझ्ने व्यक्तिहरुको लागत बढ्ने भएकाले स्वीकार गरेका छैनन् ।’

दोस्रो चौमासिक भत्ता काँक्रेविहार विकास बैंकसंगको सहकार्यमा बावियाचौर गाविसबाट लागुु गर्ने तयारीमा जिल्ला विकास समितिले गरेको छ । ‘अन्य गाविसमा बैंक छैनन्, कम्तिमा आगामी माघमा बावियचौर गाविसबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने योजना बनाएका छौं ।’ पञ्जकीरण शाखाका नासु चपाईँले भने ।