☰ open Loading... 15 October 2024|  

म्याद सकिएका सामग्री प्रयोग गर्न बाध्य
  | १९ कार्तिक २०७३, शुक्रबार ०८:३८

यहाँका स्थानीय बजारमा पाइने अधिकांश वस्तुको म्याद गुजे्रको पाइएको छ । जिल्लाका ग्रामीण क्षेत्रका बजारमा अनुगमन कहिले पनि नहुने भएपछि व्यापारीले म्याद गुजे्रका सामग्री धमाधम बिक्री गर्ने गरेको पाइएको हो ।

जाजरकोट तथा रुकुमका स्थानीय बजारमा खुलेआम यस्ता म्याद गुजे्रका सामग्री बिक्री गर्ने गरेको भएपनि नियामक निकाय भने मौन बसेको स्थानीयवासीको गुनासो छ । जिल्लाका कालीमाटी, चौखा, रिम्ना, थलहबजार, घाट, छेडा, मोर्क, तल्लु र रुकुमको आठविसकोट, राडी लगायतका दर्जनौँ ठाउँमा यस्तो समस्या देखिएको छ ।

यही बाटो भएर डोल्पा जाने सामग्री पनि अधिकांश म्याद गएको पाइएको डोल्पाका राससकर्मी रामचन्द्र न्यौपानेले बताए । ग्रामीण क्षेत्रका किसान पसलबाट खरिद गरी लिने सामग्रीको म्याद कहिल्यै नहेर्ने भएका कारण व्यापारीलाई ठग्न सजिलो भएको छ ।

बिस्कुट, विभिन्न पेयपदार्थ, चाउचाउ, खाने तेल लगायतका सामानमा बढी म्याद गुज्रेको पाइएको छ । स्थानीय प्रशासनले भने टाढा भएको भन्दै अनुगमनमा आलटाल गर्दै आएको छ ।

केही औषधि पसलमा समेत औषधिको म्याद गएको फेला परेको छ । जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले तिहारपछि अनुगमनलाई तीव्रता दिइने जानकारी दिए । वर्षैदेखि ग्रामीण क्षेत्रमा दर्ता नै नभएका पसलमा म्याद गुजे्रका वस्तुको बिक्री वितरण हुँदै आएको छ ।

Scoure : Ratopati