☰ open Loading... 25 November 2024|  

वनभोजमा खर्चिदै देउसी भैलोको रकम
  | १९ कार्तिक २०७३, शुक्रबार १२:०९

नेपालीको दोस्रो ठूलो चाड तिहार हिजो सकिएसँगै आजदेखि सल्यान लगायत देशैभरका पर्यटकीय क्षेत्रहरुमा बनभोज खान तथा घुमफिरका लागि जानेहरुको भीड हुन थालेको छ । कहींकतै आज पनि देउसी भैलो खेल्ने चलन रहेपनि कतिपय भने आजदेखि नै बनभोज अर्थात पिकनिक खानका लागि हिडेका छन् ।

जिल्लाका प्रमुख पर्यटकीय क्षेत्रहरु कुपिण्डेदह, लक्ष्मीपुर लगायत राप्ती अञ्चलका बिभिन्न पर्यटकीय स्थलका विभिन्न ठाउँमा बनभोज खानेहरुको भीड रहेको छ । तिहारमा जम्मा भएका साथीसंगीसँगै भैलो खेले पनि काम विशेषले फरक फरक ठाउँमा जानुपर्ने भएकाले पिकनिक खानेहरुको संख्या बढेको हो ।

तिहारमा विभिन्न क्लव तथा गाउँगाउँबाट निकालिएका भैलोले संकलन गरेको मध्यको अधिकांश रकम मदिरा र मासुमा खर्च हुने गरेकोमा सामाजिक अभियन्ताहरुले भने चिन्ता ब्यक्त गरेका छन् ।

गरिव घरपरिवारले समेत कात्तिके दानको रुपमा दिएको रकमलाई मदिरा र मासुमा सक्नु उचित नभएको पत्रकार महासंघ सल्यानका कार्यबाहक सभापति सनत शर्माले बताए ।

जिल्लाका सयौं भैलो समूहले संकलन गरेको पैसालाई उत्पादनमूलक वा सामाजिक सेवामा लगाए त्यसले राम्रो सन्देश दिनुका साथै समाज परिवर्तनमा उख्लेख्य भूमिका हुने शर्माले बताए ।

एउटै भैलोले कम्तिमा पनि १० हजार संकलन गरेको मान्ने हो भने पनि सल्यानमा मात्रै करोड बढी रकम संकलन भएको होला । तर सो रकमको आधा बढी मदिरा र मासुमा खर्च हुँदा त्यसले अर्थतन्त्रलाई ठूलै नोक्सान गर्ने पार्ड नेपालका अध्यक्ष शान्तबहादुर थापाले बताए ।

तिहारमा देउसी भैलो खेलेर संकलन गरेको रकम सबै नसकिए पनि केही प्रतिशत भएपनि सामाजिक काममा लगाउन सकिए त्यसले समाज परिवर्तनमा ठूलै योगदान गर्ने छ भने आगामी बर्षहरुमा पनि भैलोमा संकलन हुने रकमको दर बढ्दै जानेछ ।

यसैबिच धनवाङ ६ पाखापानीमा रहेको ढुंगेपातीहाल्ना टोलले भने भैलो खेलेर संकलन गरेको रकम गाउँघरमा पुजा, विवाह, ब्रतबन्धमा आवश्यक पर्ने विभिन्न सामाग्रि खरिदमा लगाउने भएको छ ।

यस अघिका वर्षहरुमा पनि भैलो खेलेर पञ्चे बजा र विभिन्न भाँडावर्तन किनेको र यस वर्षको ३७ हजार पाँच सय रुपैया पनि सामाजिक काममा लगाइने स्थानीय टिकाराम पुनले जानकारी दिए ।

देउसीभैलो खेलेर जम्मा भएको रकम अनावश्यक रुपमा भोजभतेरमा खर्च गर्नुभन्दा सामाजिक काममा लगाउँदा राम्रो हुने पुनको भनाइ छ ।