☰ open Loading... 3 May 2024|  

कैलालीको गोदावरीमा शिवलिङ्ग स्थापना
  | २१ कार्तिक २०७३, आईतवार १०:५८

कैलाली जिल्लाको पवित्र भूमि गोदावरीस्थित कैलासद्वारीधाममा शनिबार एक समारोहबीच शिवलिङ्ग स्थापना गरिएको छ ।

गोदावरीस्थित गोदावरी नदीको उद्गमस्थल मानिने कैलासद्वारीधाममा आयोजित समारोहमा ब्रह्म ऋषि १००८ स्वामी गौरीशङ्कर आचार्यले शिवलिङ्ग स्थापनाको शुभारम्भ गरेका हुन् । यसअघि बूढीतोलाबाट प्रारम्भ भएको कैलासधाम यात्रामा ठूलो संङ्ख्यामा भक्तजनको सहभागिता रहेको थियो ।

कैलासधाम यात्राको स्वामी गौरीशङ्कर आचार्य, सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेश श्रेष्ठ, जिल्ला शिक्षा अधिकारी मानसिं बिष्ट, नेपाली सहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरीका अध्यक्ष पदमराज जोशी, समाजसेवी मदनराज पाण्डेय लगायतले संयुक्त रूपमा शुभारम्भ गरेका थिए ।

कैलासद्वारीधाममा गौतम ऋषिले शिवजीको स्तुतिका लागि गरेको तपस्याको फलस्वरुप गोदावरी नदीको उत्पत्ति भएको भनाइ छ ।

धाम क्षेत्रमा मध्यराति देवीदेवताका बाजा बज्ने र आगोसमेत बलेको देखिने स्थानीयवासी टिएन जोशी बताउनुहुन्छ । अग्लो चुरे डाँडामा रहेको यो क्षेत्रमा सप्तऋषिको कुण्डलगायत देवीदेवताको झल्को दिने विभिन्न आकृतिका शिला एवम् ढुङ्गा रहेका छन् ।

गोदावरी क्षेत्रलाई राष्ट्रिय धार्मिकस्थलका रूपमा विकास गर्ने उद्देश्यले गत वर्ष सहस्त्र कुम्भ दर्शन मेलासमेत गरिएको थियो । गोदावरी नदीको मुहानका रूपमा रहेको कैलासद्वारी धाममा रहेका दुई नालामध्ये एक नालाबाट निस्किने दूधजस्तो जल र अर्को नालाबाट निस्किने गौमूत्रजस्तो जल मिसिएर यो गोदावरी नदी बनेको भन्ने जनविश्वास रहेको छ ।

सप्त गोदावरी मध्येको प्राचीन गोदावरी मानिने यो क्षेत्रमा गौतम ऋषिले तपस्या गरेको र भगवान् श्रीकृष्ण, भीष्मपितामह, पाण्डवले स्नान गरेको भन्ने जनविश्वास रहेको छ ।

Scoure :Nepalaaj:RSS