☰ open Loading... 24 October 2024|  

देउसीभैलोको रकम, सामाजिक कार्यमा
  | २४ कार्तिक २०७३, बुधबार १०:४४

तिहारभरि रमझमका साथ खेलिएको देउसी भैलोबाट संकलन भएको रकम यहाँ महिला तथा यूवा पिडीले सामाजिक कार्यमा खर्च गर्ने भएका छन् ।

डाँडाँपराजुलका यूवा र जगनाथका महिलाहरुले खेलेर संकलन गरेको रकम सामाजिक कार्यमा खर्च गर्ने भएका हुन् । उनीहरुले गोरेटो बाटो निर्माण, चौतारो निर्माण, खानेपानी मर्मत तथा निर्माण र विरामी बोक्ने स्टेचर खदिर लगायत कार्य गर्ने भएका हुन् ।

डाँडाँपराजुल गाविसस्थित मालिका सामुदायिक यूवा क्लवले देउसीभैलोबाट संकलन गरिएको ६१ हजार रकम गाँउको विकासका लागि खर्च गर्ने छ । क्लवले गाँउमा विरामी बोक्ने स्टेचर, सामाजिक कार्यमा गाँउमा चाहिने भाडा वर्तन, साउण्ड सिस्टम, गाँउभित्र गोरेटो बाटो निर्माणमा पैसा खर्च गर्नेछ ।

केही रकम क्लवको खातामा राखेर बाँकी रकम सामाजिक खर्च गरिएको टिम लिडर भुपेन्द्र पुनले बताए । हरेक वर्ष क्लवले देउसीभैलोबाट उठेको रकम सामाजिक कार्यमा खर्च गर्दै आएको टिम लिडर भुपेन्द्र पुनले बताए । क्लवका अनुसार गाँउको मागका आधारमा कुन काम गर्ने भनेर निर्णय गरिएको हो ।

यूवाहरुले उदाहरणीय कार्य गरेको छ । डाँडाँपराजुलका अगुवा धनबहादुर पुनमगरले भने, देउसीभैलोको रकमले पनि गाँउको विकासमा टेवा पुराएको छ । साना तिनो रकमबाट पनि गाँउमा धेरै परिवर्तन गरि नमुना बनाउन सकिने अगुवा धनबहादुर पुनमगरको भनाई छ ।

त्यस्तै जाजरकोटसंग सिमा जोडिएको दैलेखको जगनाथ गाविसका महिलाहरुले पनि देउसीभैलोबाट संकलन भएको रकम सामाजिक कार्यमा खर्च गर्ने निर्णय गरेका छन् । देउराली नागरिक सचेतना केन्द्र जगनाथ ५ का महिलाहरुले भैलोबाट उठेको ११ हजार ३ सय रुपैया सामाजिक कार्यमा खर्च गर्ने जनाएका छन् ।

पैसा अपुग भएमा सवै महिलाहरुले श्रमदान समेत गर्ने जनाएका छन् । उनीहरुले गोरटो वाटो, खानेपानी मर्मत तथा निर्माण चौतरा निर्माण गर्ने स्थानीय जनक अधिकारीले बताए ।