☰ open Loading... 26 July 2024|  

कभर्ड हल निर्माणका लागि धार्मिक महोत्सव शुरु हुँदै
  | २५ कार्तिक २०७३, बिहीबार ०७:३८

सुर्खेतमा आजदेखि मध्यपश्चिम धार्मिक महायज्ञ शुरु हुन लागेको छ । अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न कभर्ड निर्माणार्थ आर्थिक संकलन गर्न सुर्खेतको वीरेन्द्रनगरमा महायज्ञ सञ्चालन हुन लागेको हो ।

mahaaagya

महायज्ञका लागि सवै तयारी पूरा भएको आयोजक मुल समारोह सचिवालयले जानकारी दिएको छ । सुविधा सम्पन्न कभर्ड हल निर्माणका लागि आजदेखि शुरु हुने महायज्ञ आगामी मंसिर २ गतेसम्म सञ्चालन हुनेछ ।

स्वस्थ समाज र राष्ट्र शान्तिका लागि खेलकुद भन्ने मूल नाराका साथ जिल्ला ब्याटमिन्टन संघ सुर्खेतले महायज्ञको आयोजना गरेको हो ।

प्रदेश नम्बर ६ को सम्भावित राजधानी वीरेन्द्रनगरमा चार हजार क्षमताको सुविधा सम्पन्न कभर्ड हल निर्माण गर्ने उदेश्यले महायज्ञको आयोजना गरिएको मुल समारोह समितिका महासचिव खिमलाल देवकोटाले जानकारी दिए ।

वीरेन्द्रनगरमा हालसम्म इण्डोर खेल खेलाउने कुनै पनि पूर्वाधार नभएकाले यो कभर्ड हल निर्माण भएपछि विभिन्न किसिमका खेलहरु खेलाउन सकिने महासचिव देवकोटाको भनाई छ ।

देवकोटाका अनुसार आज विहान ११ बजेपछि बुलबुलेबाट कलशयात्रा निकालिने छ । महायज्ञको मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइराला र १०८ राष्ट्र शान्ति धार्मिक महोत्सवका संकल्पकर्ता गोविन्द शरण महाराजले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

महायज्ञबाट करिब ५ करोड रुपैयाँ संकलन हुने अपेक्षा आयोजकको छ । नयाँ बन्ने कभर्ड हल निर्माण लागत भने २ करोड लाग्ने अनुमान छ ।

‘नयाँ कभर्ड हलमा योग र प्रणायाम गर्ने सुविधा, सभा सम्मेलन, भलिवलm बास्केटबल लगायतका इन्डोर खेल सञ्चालन गर्न सकिने छ ।’ महासचिव देवकोटाले भने ।