☰ open Loading... 20 April 2024|  

भारु साट्न सुर्खेतीलाई सास्ती
  | २८ कार्तिक २०७३, आईतवार १०:४०

सीता राना सुर्खेतको वीरेन्द्रनगरमा २ सन्तान सँगै बस्छिन । उनका श्रीमान धन कमाउन भन्दै भारतको शहर मुम्बइमा गाडी चलाउने काम गर्छन । उनको घर पश्चिम सुर्खेत भएपनि छोरा छोरीको उज्ववल भविष्य बनोस र आफू जस्तै छोराछोरीले रोजीरोटी कमाउन विदेश जानु नपरोस भन्ने उदेश्यले उनले वीरेन्द्रनगर स्थित एक निजी विद्यालयमा पढाइरहेका छन् ।

उनका श्रीमान गत कात्तिक १० गते फेरि भारत गए पैसा कमाउन भन्दै तर उनि गएको १ महिना नवित्दै उनीमाथी अर्को समस्या खडा भएको छ श्रीमानले ल्याएको पैसा नेपालमा नचल्ने ! हो भारत सरकारले केहि दिन पहिले मात्रै भारतीय रुपैंया ५ सय र १ हजारका नोटहरु नचल्ने नियम कार्यान्वयनमा ल्यायो । फलस्वरुप नेपाल तथा भारतका सबै ठाँउमा ति पैसा चल्नै छोडे ।

उनिसँग भारतीय रुपैयाँ ५ हजार मात्रै छ । त्यो रुपैयाँ कुन ठाँउमा कसरी साँटने होला उनि तनावमा छिन् । वाबियाचौरका आनन्द ढुगांना मुम्बइमा जान किराया भनेर गाँउबाट ऋण काढे । उनले ३ हजार भारतीय रुपैंया ऋण काढेको पछिल्लो दिन पैसा नचल्ने भन्ने खबर सार्वजनिक भयो । त्यसले उनलाई साह्रै पीडा त दियो र अब कसरी मुम्बइ जाने भनेर तनाव झेलिरहेको उनले बताए ।

रामघाटमा व्यापार गर्दै आएका रामहरी विष्टले गाँउमा प्राय मान्छेसँग भारतीय मुद्रा रहेको तर सानो मात्रामा भएकाले उनीहरुले रुपैडिहा या अन्य स्थानसम्म साँटन जान नसक्ने भएकाले करोडौं भारतीय रुपैंया कागजमा रुपान्तरण हुनसक्ने र त्यसले निम्न आयस्तर भएका, भारतमा ज्याला मजदुरी गर्नेहरुका परिवारलाई थप पीडा थप्न सक्ने सम्भावना औंल्याए ।

सर्वसाधारणका पीडा भन्दा ठुला पीडा वीरेन्द्रनगरमा रहेका व्यापारीहरुसँग छन । वीरेन्द्रनगरको जुम्लारोडमा स्थित व्यापार गर्दै आएका एक व्यापारीले आफूहरुको मूख्य व्यापार भारतको कानपुरका व्यापारीसँग हुने र उनीहरुको सामानको पैसा तिर्न भनेर ठिक्क पर्दा पैसा नचल्ने भएपछि अब कसरी पैसा साटने हो र सामानको पैसा तिर्ने हो असमञ्जसमा परेका छन् ।

कर्णाली अञ्चलको व्यापारीक क्षेत्र वीरेन्द्रनगरमा व्यापारीले पाँचसय तथा हजार भारुका नोट साट्न नमानेको व्यापारी अमृत सावदले जानकारी दिए । मुख्य बजारमै पाँच सय र हजार भारुका नोट धेरै भएपनि ती नोट साट्न नेपाली नागरिकलाई समस्या भएको छ ।

भारत सरकारले बैंक मार्फत नोट साट्न सकिने जनाए पनि धेरैजसोको भारतीय बैंकमा खाता नहुँदा नोट साट्न समस्या भएको हो । व्यापारीले पनि नोट साट्नका लागि कमिसन माग्न थालेपछि नागरिक थप समस्यामा परेका छन् ।

यस्तै, कर्णाली अञ्चलका अधिकांस सर्वसाधारणहरुले अझै पनि भारतीय रुपैयाँको कारोबार हुने भएकाले त्यो क्षेत्रका नागरिकलाई झन् समस्या भएको कालिकोट रासकोटका कमल कठायतले बताए ।

साथै, भारतको मुम्बईमा रोजगारीपछि घर फर्केका दैलेख दुल्लुका उममान कार्की पनि नोट नसाटिँदा समस्यामा परेका छन् । ‘पाँच सय र एक हजारका नोट मात्रै छन’, उनले भने, ‘नोट नचल्ने खबरले समस्या भएको छ ।’ भारत सरकारको एक्कासि आएको निर्णयबाट सीमा क्षेत्रका नेपाली नागरिकलाई समस्या भएको छ ।

यद्यपि नेपाल सरकारले भने पाँचसय र एक हजारका भारतीय नोटहरु यसअघि नै नेपालमा नचल्ने निर्णय गरिसकेको थियो । भारतमा गई विभिन्न रोजगारीमा संलग्न नेपालीहरुले भित्राउने भारु हजार र पाँच सयका नोट नेपालको बैकिंग सिस्टममा नचल्ने र अन्य नोटहरु मात्रै चल्ने भएकाले समस्या थप जटिल बनेको छ ।

पाँच सय र हजारका भारतीय रुपैयाँ पुनः नेपालबाट भारतमै लगि चलाउनुपर्ने भएता पनि व्यवहारमा भने स्थानीय बजार र ग्रामिण क्षेत्रमा नेपाल सरकारले तोकेको विनिमय दर अनुरुप नै प्रचलनमा रहेका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई समय समयमा यस्ता निर्देशन जारी गर्दै नियमन गर्ने गरेको छ ।

भारत सरकारले एक्कासी पाँच सय र हजारका नोटमा प्रतिबन्ध लगाएपछि खुला सिमाना भएको नेपाल र रोजगारीका लागि गएका नेपालीहरुबाट भित्रिएको नोटको समस्या समाधान गर्न र यसअघि राष्ट्र बैंकको ढुकुटीमा सञ्चित रहेको भारु पाँच सय र हजारका नोटको व्यवस्थापनका लागि कूटनीतिक पहल थालेको बताइएको छ ।

नेपालका अधिकांश भागमा भारतीय मुद्रा नेपाली मुद्रा सरह नै चलन चल्तीमा रहेको र यो अर्बौको संख्यामा हुनसक्ने अनुमान गरिएको छ । व्यवसायीहरुले भारतीय व्यापारीहरुलाई व्यापारीक प्रयोजनका लागि भुक्तानी गर्न ठिक्क पारेको रकम कागजजी खोस्टोको रुपमा परिणत हुँदा नेपालको व्यापार व्यवसायमा पनि ठूलो असर पर्ने देखिन्छ ।

यसको लक्षण देखा पर्न थालिसकेको छ । भारतबाट आयात हुने नुन र चिनीको मूल्य दुइ दिनमै आकासिएको छ भने अन्य उपभोग्य सामानहरुमा समेत भारी मूल्य वृद्वि भएको छ । केहि व्यवसायीहरुले उपभोग्य सामानहरु लुकाएका कारण बजारमा कालोबजारीको सम्भावना बढदै गएको छ ।

यसरि मोदी सरकारले भारत भित्र कालो धन नियन्त्रण गर्न, नक्कली नोटको कारोवार रोक्न र आतकंकारीहरुको नियन्त्रणमा रहेको ठूलो मात्राको मुद्रा नियन्त्रण गर्न यो कदम चालेको बताइन्छ ।

भारत भित्रै पनि सामान्य देखि ठुला ठुला व्यवसायीहरु ठुलो मारमा परेको अवस्थामा नेपालमा यो समस्या अझ विकराल रुपमा देखा परेको छ । बजारमा मुद्राको आपुर्ति न्यून रहँदा सामाग्रीहरुको मूल्य घटने र अन्तत्वगोत्वा यसले आर्थिकमन्दी ल्याउनसक्ने सम्भावना देखिन्छ ।

यसकालागि विश्व जगतले नै समयमै होस पु¥याउनुपर्ने र बजारमा मुद्राको आपुर्ती तत्काल गर्नुपर्ने देखिन्छ । विश्वकै दोश्रो ठुलो मानवबस्ती भएको भारतमा तिनले उपभोग गर्ने साधनहरुको विनिमयका लागि मुद्राको सहज व्यवस्थापन गर्नु विश्व बैंक, एसियाली विकास बैंक, अन्र्तराष्ट्रिय मुद्रा कोष जस्ता संस्थाहरुको जिम्मेवारी रहन्छ, र यसका लागि ती संस्थाहरुले हस्तक्षेपकारी भूमिका खेल्दै समस्याको समाधान तर्फ अघि बढ्न जरुरी देखिन्छ ।

scoure : सिद्धदर्शन दैनिक