☰ open Loading... 2 May 2024|  

एमाले सुर्खेतको अन्तरकथा : समाचार टिप्पणी
  | २८ कार्तिक २०७३, आईतवार १२:२६

नेकपा एमाले सुर्खेतको बहुचर्चित बहुप्रचारित एवं बहु प्रतिक्षित जिल्ला कमिटिको बैठक पनि केही दिन अघि मात्रै सम्पन्न भएको छ । दुइ धारमा विभाजित एमाले पार्टीको बैठकले पुनः ध्रुविकरणको संभावना कायमै राख्दै विभिन्न निर्णयहरु गरेको छ ।

back-image
यसअघि नै पार्टी प्रवेश गरेका एमाओवादी सम्वद्व केही नेताहरुलाई जिल्ला कमिटिमा मनोनयन गर्दै लामो समय पार्टीमा संघर्ष गरेका नेता कार्यकर्ताहरुको व्यवस्थापनलाई भने अनदेखी गर्दै उनीहरुको भूमिकालाई निस्तेज गर्ने गरि जिम्मेवारी दिन अनिच्छुक देखिएको छ ।

एमाले नेता कुलमणी देवकोटा, ऋषि गिरी, टेकेन्द्र कु. बस्नेत, मोहोनमाया ढकाल, रेशम राना, तारा गौतम लगायतका पार्टी भित्रका ‘विग वोस’हरुलाई दर–किनारा गर्दै प्रदेश कमिटिको नियन्त्रण भित्र जिल्ला कमिटि रहेको र प्रदेशले नै जिल्ला कमिटिका एजेण्डाहरु तय गर्ने र निर्णय प्रक्रियामा समेत हस्तक्षेप गर्ने गरेको कतिपय जिल्ला कमिटिका सदस्यहरुको भनाई रहेको छ ।

उनीहरुले प्रदेश संयोजक र सह–संयोजक आफै एजेण्डा फ्लोर गर्ने र निर्णय पनि आफैले गर्ने गरेको बताँउछन । ७० को चुनावमा आधिकारिक उमेदवारका विरुद्व वागी उम्मेद्वार दिएका विद्रोही पक्षका भीष्म पितामह कहलिएका शिव प्रसाद उपाध्याय आफ्नो भुमिका विस्तार गर्ने मौकाको प्रतिक्षामा छन् ।

कुनैपनि हालतमा एउटा गुट सक्रिय बनाई त्यहि गुटको बुइ चढेर ७० मा गुमेको आफ्नो प्रतिष्ठा र दाउ दुवै प्राप्त गर्न लालायित छन् । यसकालागि सुर्खेतका उदाँउदा पूर्व शिक्षक नेता डण्डि प्रसाद शर्मा जो स्व. क्रषि प्रसाद शर्माका सहोदर भाइ समेत हुन, लाई सिखण्डीको रुपमा प्रयोग गर्दै आफ्ना चिर प्रतिद्वन्दी यामलाल कंडेललाई निशानामा पारेका छन् ।

खासगरी २०५६ मा एमालेवाट विभाजन भई माले पार्टीको निर्माण भएयता त्यसको नेतृत्व गर्ने दुवै तर्फका नेता एक अर्का तर्फ हतियारको धार लगाइ बसेका छन् । कल्ले धारिलो हतियार बनाई प्रहार गर्ने भन्नेमा आ–आफ्ना गुट उपगुटमा छलफल र बहस जारी रहेको छ । यसरी तम्तयार भई युद्धका लागि बसेका एमाले नेताहरुबाट त्यस पार्टी भित्रका कार्यकर्ता र आम शुभेच्छक भने निराश भई बसेका छन् । जनताको लोकप्रिय पार्टी एमाले सुर्खेत –किन चाउरिस मरिच आफ्नै पिरोेले भन्ने अवस्था सम्म आईपुगेको छ ।

राष्ट्रवादी छविका कारण वर्तमान एमालेका अध्यक्ष केपी शर्मा ओलीको देशभर वाह–वाही भैरहेको अवस्थामा सुर्खेतको एमालेमा जंगल बीच बाटो भुलिएको पथिक जस्तै अवस्था देखिएको छ । संगठनात्मक संरचना बलियो रहेको र टोल टोलमा इकाई कमिटीहरु रहेको एमालेमा तल्लो तहका आम कार्यकर्ताहरु भने नेताहरु बीचमा मेल भएको देख्न चाहन्छन् ।

पुर्व जिल्ला कमिटीका सदस्य ऋषि गिरी भन्छन ‘दुवै पक्षका अतिवादका विरुद्ध सर्घष गर्दै पार्टी एक बनाउने अभियानमा संग्लन रहने र आगामी सबै तहका निर्वाचनमा पार्टीलाई विजयी गराउने अभियानको नेतृत्वको खोजी भईरहेको छ, यसतर्फ हाम्रो क्रियाशिलता रहने छ ।’

यस्तै एमाले सुर्खेतका नेता कुलमणी देवकोटा भन्छन् ‘पार्टीको अनुशासन तोड्ने प्रवृत्तिका विरुद्ध सबै पार्टी कार्यकर्ता एकजुट हुनपर्ने समय आएको छ र यसको लागि सबै कार्यकर्ता र शुभेच्छुकहरुलाई अपिल गर्दछु ।’ यस्तै अर्का नेता ताराकेशर गौतम भन्छन् ‘सबै प्रकारका गुट र उपगुटहरुलाई निस्तेज गर्दै जनताको एक नम्बरको पार्टी बनाउने अभियानमा संलग्न रहन अनुरोध गर्दछु ।’

मदन भण्डारीको बहुदलीय जनवादद्वारा पल्लवित एवं वर्तमान अध्यक्ष के.पि. शर्मा ओलीको राष्ट्रवादी छविद्वारा सिंचित एमाले पार्टी भने सुर्खेतसम्म आइपुग्दा विभिन्न गुट, उपगुट, घात र अन्र्तघात भित्र रुमल्लिदै अघि बढिरहेको छ ।

विशेषतः वर्तमान जिल्ला कमिटिको निर्वाचन पश्चात तेस्रो गुटको निर्माण गर्ने अभियानमा पछिल्लो समय आफूलाई पार्टी पोलीटव्यूरो सदस्य यामलाल कंडेल नजिक देखाउँदै यस अघि निर्वाचनमा रहेको समीकरण अब कायम रहन नसक्ने छनक पार्टी अध्यक्ष ध्रुव कुमार शाहीले दिइसकेका छन् ।

यसको सम्पूर्ण व्यवस्थापन पार्टी सचिव मोहन कुमार बडुवालले गर्ने गरेको केहि पक्षको बुझाइ रहेको छ । ७० को चुनावताका विद्रोही उम्मेदवारका पक्षमा सक्रिय वर्तमान पार्टी उपाध्यक्ष अमृत कुमार वि.सि. आफूलाई एमालेको राजनीति भित्र मूल प्रवाहमा नदेखिने गरी अन्य व्यवस्थापनमा सक्रिय भएको समेत आम कार्यकर्ताको गुनासो रहेको छ । क्षेत्र नं. १ मा आफ्नो प्रभुत्व कायम राख्न र आगामी आम चुनावमा टिकट सुनिश्चतताका लागि बलियो खम्बा प्रदेश सह–संयोजकको फेर समाई नेता डण्डि प्रसाद शर्मालाई तह लगाउने अध्यक्ष शाहीको योजना कति सफल हुन्छ, हेर्न बाँकी छ ।

(लेखक शर्मा सुर्खेतबाट प्रकाशीत हुने सिद्धदर्शन दैनिकका सम्पादक हुन् ।)