☰ open Loading... 13 January 2025|  

सम्बन्ध विच्छेदको डरलाग्दो अवस्था, वर्षेनी करिब ३ सय मुद्दा अदालतमा
  | ३० कार्तिक २०७३, मंगलवार १७:०५

दुई व्यक्तिहरू मध्ये (एक महिला र एक पुरुष )को सामाजिक, धार्मिक अथवा कानूनी रूपबाट एक अर्का संगै जीवन ब्यतित गर्ने सम्बन्ध नै विवाह हो । विवाहले दुइ परिबार बिच नयाँ नाता सम्बन्ध जोड्ने काम गर्छ ।

यसले एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरणको काम समेत गर्दछ । मानिस जन्मन्छ, युवा अवस्थामा प्रवेश गर्छ र त्यसपछि विस्तारै बुढेसकाल हुदै जीवनको इहलीला समाप्त गर्छ । जीवन समाप्त हुदै गर्दा उसले आफ्नो सन्तान दर सन्तानको रुपमा बच्चा बच्ची जन्माउने र क्रमशः पुस्ता हस्तान्तरण गर्दै जाने गर्दछ ।

विवाह र पुस्ता हस्तान्तरणका सन्दर्भमा विभिन्न दार्शनिकहरुले विभिन्न तवरले यसलाई अथ्र्याएका छन । चर्चित साहित्यकार सेक्सपियरले यो संसारलाई एक स्टेज र मानिसहरुलाई स्टेजमा देखिने अभिनयकर्ताका रुपमा व्याख्या गरेका छन् ।

उनले मानिस जन्मिने देखि लिएर मृत्यूसम्मका स्टेजहरुका बारेमा कलात्मक रुपले व्याख्या र विश्लेषण गर्दै मानव जीवन फगत नाटक भएको बताएका छन । आखिर जे–जस्तो भएपनि जन्म लिइसकेपछि यसपछिका क्रियाकलापहरु हुदै जान्छन ।

समय अनुसार मानिसले विहे गर्छ र परिवारको सिर्जना गर्दछ । त्यहि विवाह गरेर वसाइएको परिवार स–साना मनमुटाव, अविश्वास र छलकपटका कारण तहस–नहस हुन पुग्छ ।

र त्यसलाई कानुनी वैद्यता दिन न्यायको ढोकामा पुगि सम्वन्ध विच्छेदको चरण सम्म पु¥याइन्छ । निकै मेहनत, माया प्रेमका साथ गाँसिएको बैवाहिक सम्वन्धलाई जीवनपर्यन्त लैजानु दम्पतीहरुको मूख्य भूमिका रहन्छ ।

सहायक भूमिकामा घरपरिवार, छरछिमेक, साथीसंगीहरु रहेका हुन्छन । तिनिहरुले नै टुटन लागेको दाम्पत्य जीवनलाई टुटन नदिई सुखी र खुशि परिवार बनाउन सहयोग गर्न सक्छन ।

सम्वन्ध विच्छेदका घटनाहरु देशैभर ठूलो समस्याका रुपमा रहेको र आधुनिकिकरणले गर्दा मान्छेको सोच्नेस्तर, आर्थिक कारण आदि कारक तत्व रहेका हुन्छन ।

पछिल्ला दिनमा सुर्खेतमा सम्वन्ध विच्छेद गर्ने लहर नै चलेको देख्न सकिन्छ । परिवार बीचमा सामान्य विषयमा विवाद हुँदा समेत सम्वन्ध विच्छेद गर्ने परिपाटीको विकास हुदै गएकाले यसले विकराल रुप लिने र सामाजिक व्यवस्था नै तहस नहस हुनसक्ने अनुमान गर्न गाह्रो पर्दैन । सम्वन्ध विच्छेद गर्ने जिल्लाको रुपमा पछिल्लो समय सुर्खेत चर्चामा आएको छ ।

sambndha-bichded

हरेक वर्ष सम्वन्ध विच्छेदका घटनाहरु बढदै गएको हुँदा सरोकारवाला निकायले यस सम्वन्धमा चिन्ता व्यक्त गरेका छन । सुर्खेत जिल्ला अदालतको अभिलेख अनुसार पनि त्यो कुरा प्रमाणित हुन आँउछ । सुर्खेत जिल्ला अदालतका श्रेस्तेदार विरेन्द्र मल्लका अनुसार आर्थिक वर्ष ०७१–७२ मा २२६ मुद्दा दर्ता भएका थिए भने सोही वर्षमा अदालतले १९५ जना जोडीको सम्वन्ध विच्छेद गराएको थियो ।

आर्थिक वर्ष २०७२–७३ मा जिल्ला अदालतमा २२७ मुद्दा दर्ता भएकामा १५१ ओटाको फैसला भएको उनको भनाई छ । त्यस्तै आर्थिक वर्ष २०७३–०७४ को असोज मसान्तसम्मको विवरण अनुसार हालसम्म ५७ ओटा सम्वन्ध विच्छेदका मुद्दा दर्ता भएका छन भने १९ ओटाको फैसला समेत भइसकेको छ ।

सुर्खेत जिल्ला अदालतका श्रेस्तेदार मल्लले यसरी दिनप्रतिदिन वैवाहिक सम्वन्धलाई तोडन भनेर सम्वन्ध विच्छेद गर्न आउने यूवा यूवतीहरुको संख्या बढ्नाले समाजमा विकृति भित्राउने र समाजलाई नै अधोगति तर्फ लैजानसक्ने खतरा बढेको बताए । उनले समाजले यस्ता खालका घटनालाई कमगर्न तर्फ समेत अग्रसर हुनुपर्ने उनको भनाई छ ।

यस्तै असोज मसान्तसम्म ४ ओटा बहु–विवाह सम्वन्धि मुद्दा दर्ता भएको उनले जानकारी दिए । सुर्खेत जिल्ला अदालतका श्रेस्तेदार मल्लले सम्वन्ध विच्छेदका घटना बढ्नुमा युवा युवतीहरु बीच चेतनास्तरमा भएको वृद्विले पनि असर पारेको बताउँछन । उनले सुर्खेत जिल्ला अदालतले हरेक वर्ष ५–६ स्थानमा जनतासँग न्यायीक संवादहरु आयोजना गर्ने गरेका कारण जनतामा चेतना बढेकाले यस्तो भएको हुनसक्ने आकंलन उनको छ ।

के हो सम्वन्ध विच्छेद ?

सम्बन्ध बिच्छेद सम्बन्ध टुक्राउनु हो । खासगरी लाग्नेस्वास्नीको सम्बन्ध सास्कृतिक वा कानुनी रुपमा विवाह गरी बसेको जोडी बिच बिबिध कारणबस दरार आई कुनै पनि सम्बन्ध नरहने गरी सबै प्रकारले सामुहिक अधिकार र जिम्मेवारी समेतबाट छुट्टीने गरी कानुनी रुपमा सम्बन्ध समाप्त पार्ने काम नै सम्बन्ध बिच्छेद हो ।

यसलाई नेपाली समाजमा पारपाचुके, छोडपत्र आदी नामले पनि बुझ्ने गरीन्छ । सुर्खेतमा पनि यो ठुलो संख्यामा बृद्धी भईरहेको छ । हाम्रो समाजका बैबाहिक सम्बन्धहरु एक त संस्कारका प्रचलन हुन भने अर्कातिर अस्तित्वको निरन्तरता नै हो ।

तर हालको केही बिकृत मानसिकता अलि फरक पनि पाईन्छ, जसमा प्रत्यक्ष फाईदा केन्द्रीत र स्वार्थीपनाले सम्बन्धको आयु घटाएको छ, र अल्प आयुमा सम्बन्धहरु विच्छेद कारण बनेको छ , त्यसैको कारण पनि सबै बैबाहिक सम्बन्धहरु सुखमय र दिगो हुन नसकेको जानकारहरु बताउँछन ।

किन हुन्छन सम्वन्ध विच्छेद ?

अर्कोसँग सम्वन्ध कायम गर्नु

 श्रीमान वा श्रीमती मध्ये कसैले पनि अर्को मानिससँग सम्वन्ध राख्ने गरेका कारण सम्वन्ध विच्छेद हुन्छ । सुर्खेतमा पनि वैदेशिक रोजगारका कारण लामो समय श्रीमान अथवा श्रीमती बाहिर हुने र उनीहरुबीचको स्वार्थमा समेत बदलाव आउने गर्दा यस्ता घटना घटने गरेका छन ।

अभिभावकको हस्तक्षेप

 कुनै कुनै ठाँउमा अझैपनि अभिभावकको इच्छा अनुरुप विहे गर्ने प्रचलन कायमै छ । केटा वा केटिले मन नपराएको व्यक्तिसँग विवाह गर्नुपर्ने हुनसक्छ । जसले गर्दा युवा र युवतीबीच सम्बन्ध राम्रो बन्न सक्दैन र विवाद बढदै जाँदा त्यसले सम्बन्धलाई नै धरापमा पार्दै आएको छ ।

सानै उमेरमा विहे

अहिले पनि वालविवाह गरिने गरेको प्रस्ट भइसकेको छ । उमेर नपुगेरै विहे गर्ने र विहे गर्ने उमेरमा उनिहरुलाई पश्चाताप हुने कारण पनि सम्वन्ध विच्छेदको एक प्रमूख कारक बन्न गएको छ । उनीहरु २० वर्ष नपुग्दै बाबु आमा बन्ने र उनिहरुमाथि थप जिम्मेवारी थपिने हुदाँ उनीहरुलाई वैवाहिक जीवन प्रति नै घृणा लाग्ने गरेको अध्ययनले देखाएको छ ।

आर्थिक कमजोरी

आर्थिक स्तर कमजोर हुँदै जाँदा पनि सम्बन्ध खस्किँदै जान्छ । एक जना कमाइरहने अर्काले चाहिँ चाहिने–नचाहिने कुराहरुमा पैसा उडाइरहने बानीले गर्दा पनि सम्बन्धमा दरारहरु उत्पन्न हुँदै गइ अन्तमा सम्बन्ध नै तोडिएको थुप्रै उदाहरणहरु छन् ।

बढदो कानुनी चेतना

 केहि समय पहिले महिला तथा पुरुषहरुले नचाहँदा नचाहदै पनि कानुनी प्रावधानबारे जानकारी नहँुदा सँगै बस्नुपर्ने या महिलाले अर्को विहे गरेर जानुुपर्ने चलन थियो । तर आजकाल बढदो जनचेतनासँगै आफ्ना मौलिक हक अधिकारबारे सबै सचेत बन्दे गएकाले पनि सम्वन्ध विच्छेदका घटनाहरुमा वृद्वि हुने कानुन व्यवसायी बताउँछन ।

महिला हिंसाको अवस्था

 सुर्खेतमा महिला हिंसाको ग्राफ उच्च भएपनि विभिन्न कारणले ति सामुन्ने आउन सक्दैनन । महिलाहरुको कानुनी निकायमा पहँुचको अभाव र कानुन सम्वन्धमा कम जानकारी भएकाले पनि यस्ता घटनाहरु सार्वजनिक नहुने बताइन्छ । सुर्खेतमा गत आ.व. ०७०–०७१ मा ५७ मुद्दा जिल्ला प्रहरी कार्यालयमा भएको तथ्यांक सुर्खेत प्रहरीसँग छ ।

त्यस्तै आर्थिक वर्ष ०७१–०७२ मा ५३ र ०७२–०७३ मा ६७ मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । गत आर्थिक वर्षमा दर्ता भएका मुद्दाहरुमा जर्वजस्ती करणीमा २९, जर्वजस्ति करणी उद्योग अन्र्तगत ९, बुहविवाह १०, बालविवाह ३, मानव वेचविखन तथा ओसार ४, अपहरण तथा शरिर बन्धक अन्र्तगत ३ लगायतका रहेका प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । आर्थिक वर्ष ०७०–०७१ मा ३६ जना, ०७१–०७२ मा ३१ जना र ०७२–०७३ मा ३९ जनाले आत्महत्या गरेको पनि सुर्खेत प्रहरीले जनाएको छ ।