☰ open Loading... 26 July 2024|  

वार्ता भइरहेको बेला विश्वविद्यालयमा विद्यार्थीद्धारा ताडफोड
  | ३० कार्तिक २०७३, मंगलवार १७:१४

वीरेन्द्रनगरको आवास क्षेत्रमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कार्यालय र उपकुलपतिको निवासमा विद्यार्थीले मंगलबार दिउसो ताडफोड गरेका छन् ।

आन्दोलनरत इन्जिनियरिङ संकायका विद्यार्थी र विश्वविद्यालयका पदाधिकारी विच वार्ता चलिरहेको अवस्थामा एक्काशी विद्यार्थीले तोडफोड गरेका हुन् ।

विश्वविद्यालयको कार्यालय र उपकुलपति निवासमा रहेका कुर्सी, टेवल र उपकुलपति चढ्ने गाडीमा तोडफोड गरेको विश्वविद्यालयका इन्जिनियरिङ संकायका निमित्त डिन अनन्त घिमिरेले जानकारी दिए ।

mu-todphod-1-copy

‘वार्ता सकारात्मक रुपमा चलिरहेको थियो । एक्काशी केही उच्छृङ्खल विद्यार्थीले टेवल र कुर्सी उचालेर तोडफोड गरे’ डिन घिमिरेले भने । केही दिन अघिबाट इन्जिनियरिङ संकायका विद्यार्थीले सेमेस्टर परीक्षामा ५० प्रतिशत अनुर्तिण विद्यार्थीलाई फेरि परीक्षामा सामेल हुन नपाउने निर्णय तत्काल खारेज गर्नुपर्ने, इन्जिनियरिङ संकायमा अनुभवि र पूर्णकालिन शिक्षकको व्यवस्था गर्नुपर्ने, प्रत्यक वर्ष १० प्रतिशतका दरले वृद्धि भइरहेको शैक्षिक शुल्क खारेज गर्नुपर्ने लगायतका माग अघि सारेका थिए ।

mu-todphod-2-copy
तर इन्जिनियरिङ संकायका निमित्त डिन घिमिरेले जायज माग सम्बोधन गर्न विश्वविद्यालय सकरात्मक रहेको र वार्ताबाट समाधान खोजिरहेको अवस्थामा तोडफोड गर्नु दुःखद् भएको प्रतिक्रिया दिए ।

‘विद्यार्थीका मागहरु विश्वविद्यालयले पूरा गरिसकेको र केही मागका सम्वन्धमा मंगलवार वार्ता बोलाइएको थियो’ घिमिरेले थपे,–‘सहज तरिकारले छलफल चलिरहेका बेला विद्यार्थीहरु तोडफोडमा उत्रिनु गलत कार्य हो ।’

mu-todphod-3-copy
वार्तामा विश्वविद्यालयका क्याम्पस प्रमुख उपेन्द्र हमाल, सहायक क्पाम्पस प्रमुख सोनालाल यादव, इन्जिनियङ संकायका निमित्त डिन घिमिरे र आन्दोलनरत इन्जिनियरिङ संकायका १० जना विद्यार्थीको उपस्थिती थियो ।

वार्तामा सहभागी सवै विद्यार्थीले तोडफोड नगरेको र केही विद्यार्थीले मात्रै उदण्ड मच्चाएको विश्वविद्यालयले जनाएको छ । तोडफोडपछि विद्यार्थीहरुले विश्वविद्यालयमा लगाएको ताला खोलेर भागेको घिमिरेको भनाई छ ।

विश्वविद्यालयले घटनाको छानविन गर्ने र दोषि विद्यार्थीलाई कारवाही गरिने जनाएको छ । विश्वविद्यालय कार्यालयको सुरक्षामा प्रहरी खटाइएको छ ।