☰ open Loading... 26 April 2024|  

मौसमको जानकारी दिने ‘रडार’ सुर्खेतमा निर्माण हुँदै
  | १ मंसिर २०७३, बुधबार ०७:३२

नेपालमै पहिलो पटक मौसम सम्वन्धि पूर्व जानकारी दिने उपकरण ‘रडार’को सुर्खेतमा स्थापना हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले दैलेख र सुर्खेतको सीमानामा पर्ने रातानाङ्गलामा यो उपकरण जडान गर्न लागेको हो ।

weather-radar-palce-copy
वन कार्यालयका प्रमुखलाई रडार निर्माण स्थलमा पर्ने रुखहरुको जानकारी दिँदै हावापानी कार्यालय सुर्खेत प्रमुख ।

जल तथा मौसमबाट हुने प्रकोप रोक्न र मौसम सम्वन्धी प्रणालीलाई आधुनिकिकरण गर्न विभागले झण्डै ३० करोडको लागतमा रडार स्थापना गर्न लागेको छ ।

वीरेन्द्रनगर नगरपालिका–२४ रातानाङ्गगलामा निर्माण हुने रडारका लागि आवश्यक जग्गा र पहुँच मार्ग निर्माण गरिएको छ । ०७२ साल फागुन १३ गते बसेको मन्त्रीपरिषद्को बैठकले रातानाङ्गगलामा मौसम पूर्वानुमान गर्ने उपकरण रडार निर्माण गर्न डेढ रोपनी जग्गा उपलव्ध गराउने निर्णय गरेको थियो ।

नलखोला सामुदायिक वन उपभोक्ता समितिले रडार निर्माण गर्न सो जग्गा उपलव्ध गराई सकेको छ । विश्व वैंकको सहयोगमा निर्माण हुन लागेको रडारको टेण्डर प्रक्रिया अन्तिम चरणमा रहेको जल तथा मौसम विज्ञान विभाग काठमाडौंका सिनियर डिभिजनल सञ्चार इन्जिनियर सुदीप भट्टराईले जानकारी दिए ।

‘टेण्डरमा तीन जनाको नाम छनौट भएको छ’ भट्टराईले भने,–‘यी मध्य मुल्याङ्ककन गरेर एक जनालाई छनौट गर्छौ र तत्काल काम शुरु गर्न लगाउँछौं ।’

रातानाङ्गलामा निर्माण हुने रडारले मध्य तथा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको मौसमी पूर्वानुमान गर्नमा सहयोग पु¥याउने विभागको भनाई छ । ‘रडारले मुख्यगरी पानी, असिना र हिऊको परिमाण कुन क्षेत्रमा कति पर्छ भन्ने सहजै पत्ता लाग्छ’ भट्टराईले थपे,– ‘यसबाट प्रकोप न्यूनिकरण गर्नमा ठूलो योगदान समेत पुग्नेछ ।’

करिव दुई वर्षमा निर्माण हुने रडारले दुईसय ५० किलोमिटर क्षेत्रको मौसमी जानकारी सहजै पत्ता लाग्ने भट्टराई बताउँछन् । रातानाङ्गलामा निर्माण हुने रडारको सेन्सर कार्यालय वीरेन्द्रनगरमा स्थापना हुनेछ । अप्टिकल फाइबरको सहायताले रडारबाट आउने जानकारी विभागको केन्द्रीय कार्यालय काठमाडौंले नै हेर्नेछ ।

सवै प्रक्रिया सकिएकोले अवको दुई महिना भित्रै निर्माण कार्य शुरु हुने मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालय सुर्खेतका प्रमुख निराजन सापकोटाले जानकारी दिए ।

उनले मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालय सुर्खेतले रडार स्थापना हुने क्षेत्रमा रहेका रुख र विद्युत लाइन हटाउने कार्य शुरु गरेको बताए । ‘रडार स्थापना हुने क्षेत्रमा पर्ने रुखहरु वन कार्यालयसंग समन्वय गरेर काट्दैछौं’ सापकोटाले भने,–‘पहुँच मार्ग फराकिलो र ग्राभेलिङ्ग गर्ने काम पनि केही दिनमै शुरु हुन्छ ।’

जिल्ला वन कार्यालय सुर्खेतका वन अधिकृत हेमराज विष्टले रडार स्थापना हुने क्षेत्रमा ठुला रुखहरु नभएको जानकारी दिए । उनले गुराँसका केही रुखहरु छन्, हामीले स्थलगत अवलोकन गरेर हटाउन टाँचा लगाएर आएको बताए ।