☰ open Loading... 19 April 2024|  

मध्यपश्चिमका ६४ जनामा डेंगु भएको पुष्टी
  | १ मंसिर २०७३, बुधबार ०८:१२

मध्यपश्चिमाञ्चल विकास क्षेत्रका ६४ जनालाई डेंगु रोग भएको पुष्टि भएको छ । भेरी अञ्चल अस्पताल र मेडिकल कलेज टिचिङ्ग हस्पिटल नेपालगञ्जमा करिव डेढ महिनाको अवधिमा उपचार गर्न पुगेका ६४ जनामा डेंगु भएको पुष्टी भएको हो ।

गत असोज ११ गतेदेखि कार्तिक मसान्तसम्मको रिपोर्ट अनुसार बाँके र बर्दियाबाट बढी डेंगु ज्वरो भएका विरामीहरु उपचारमा आएको मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतले जानकारी दिएको छ ।

झण्डै दुई महिनाको अवधिमा बाँकेका १७, बर्दियाका २२, सुर्खेतका १२, दाङका ६, रुकुमका एक र कालीकोटका एक जनामा डेंगु ज्वरो भएको निर्देशनालय सुर्खेतका स्वास्थ्य शिक्षा अधिकृत प्रकाश राज शर्माले जानकारी दिए । उनका अनुसार यसमध्य ५ जना कैलालीका बिरामी छन् ।

denge

डेढ महिनाको अवधिमा ह्वात्तै विरामीको संख्यामा बढोत्तरी भएपनि नियन्त्रणमा रहेको निर्देशनालयका स्वास्थ्य शिक्षा अधिकृत शर्माको भनाई छ । ‘हालसम्म उपचारमा आएका विरामीहरु मध्य केही सामान्य उपचारपछि घर फर्कि सक्नु भएको छ’ शर्माले भने,–‘केहीमा अलि कडा देखिएकाले अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ । तर मध्यपश्चिममा हालसम्म डेंगु ज्वरोबाट कसैको मृत्यु भएको छैन् ।’

परीक्षण गर्ने किट अभाव

यस क्षेत्रका पहाडी जिल्लाहरुमा समेत डेंगु ज्वरोको संक्रमण फैलदै गएपनि जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले संक्रमण पहिचान गर्ने दुत्र परीक्षण किट ल्याउन सकेको छैन् । एक हप्तादेखि नै स्वास्थ्य मन्त्रालयसंग किट माग गर्दा उपलव्ध नगराएपछि डेंगु ज्वरोको पहिचान गर्नमा कठिनाई भएको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका डेंगुरोग सम्बन्धी फोकल पर्सन उदयबहादुर विसीले जानकारी दिए ।

उनले कार्यालयसंग भएका १० वटा किट सकिएपछि थप माग गरिएको जनाए । ‘मन्त्रालयसंग किट उपलव्ध गराउन माग गरिसकेका छौं’ विसीले भने,–‘कार्यालयसंग किट नहुँदा डेंगु रोग पहिचान गर्न संक्रमित व्यक्तिलाई नेपालगञ्ज वा नीजि क्लिनिकमा धाउनु पर्ने बाध्यता छ ।’ मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतले डेंगु ज्वरो परीक्षण गर्ने किट उपलव्ध गराउन जनस्वास्थ्यलाई आग्रह गर्दा पनि नपाएकाले तत्काल उपचार शुरु गर्न नसकेको जनाएको छ ।

डेंगु एडिस एजिप्टाई र एडिस एल्वौपेक्टस नाम गरेको दिउँसो टोक्ने लामखुट्टेले हुने तीव्र भाइरल संक्रमण हो । यो भाइरस डेन–१, डेन–२, डेन–३ र डेन–४ गरी चार प्रकारको हुन्छ । कालो रंगको एडिस लामखुट्टेको शरीरमा सेतो थोप्लो हुन्छ ।

‘क्लासिक डेंगु’ सामान्य प्रकारको डेंगु हो । यो आफैं निको हुन्छ तर मानिसको ज्यान जाने खतरा भने हुँदैन । कुनै व्यक्तिलाई डेंगु हेमोरेजिक ज्वरो वा डेंगु सक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्युसमेत हुन सक्छ । बयस्कको दाँजोमा बच्चा र बूढापाकामा यो रोगको प्रकोप बढी देखिने क्षेत्रीय स्वास्थ्य निर्देशनालयको भनाई छ ।