☰ open Loading... 3 May 2024|  

मोटो धानको मूल्य ताेकियाे
  | १ मंसिर २०७३, बुधबार १५:४९

 धान बिक्री गर्दा उचित मूल्य नपाएको गुनासो कृषकले गरिरहेको बेला नेपाल खाद्य संस्थान सेती अञ्चल कार्यालयले धानको खरिद मूल्य निर्धारण गरेको छ ।

प्राथमिक खरिद समिति कैलालीको मङ्गलबार बसेको बैठकले मोटो धानको खरिद मूल्य प्रति क्वीन्टल रु एक हजार ९५० निर्धारण गरेको संस्थानका कार्यालय प्रमुख डिल्लीराज लम्सालले जानकारी दिए ।

खेती गर्दा लाग्ने लागत खर्च, उत्पादन परिमाण, र स्थानीय बजार मूल्यलाई आधार बनाई खरिद समितिले धानको खरिद मूल्य निर्धारण गर्ने गरेको छ । संस्थानको अत्तरिया नगरपालिकाको मोहनपुरमा रहेको गोदाममा आजैबाट काँटा सञ्चालन गरी किसानको धान खरिद गर्ने व्यवस्था मिलाइएको लम्सालले बताए ।

यस्तै जिल्लाका टीकापुर, सत्ती, भजनी र जोशीपुरमासमेत संस्थानले काँटा सञ्चालन गर्न लागेको छ । यस वर्ष नेपाल खाद्य संस्थान सेती अञ्चल कार्यालयलाई ५० हजार क्वीन्टल धान खरिद गर्न केन्द्रबाट स्वीकृति प्राप्त भएको छ ।

विगतका वर्षमा संस्थानले मोटो, मध्यम र मसिनो धानको खरिद मूल्य निर्धारण गर्ने गरेकामा विगत दुई वर्षदेखि मोटो धानको मात्र खरिद मूल्य निर्धारण गर्ने गरेको छ ।