☰ open Loading... 2 May 2024|  

एकसय अठासी बालबालिका संरक्षणविहीन
  | ३ मंसिर २०७३, शुक्रबार १०:१४

जिल्लामा बाबुआमा दुवै नभएका वा पारिवारिक संरक्षणविहीन अवस्थामा रहेका बालबालिका एकसय ८८ जना रहेको जिल्ला बालकल्याण समिति, रोल्पाले जनाएको छ ।

यसरी परिवारमा वयस्क व्यक्ति नभई बालबालिका मात्र रहेका ६ बालिका र चार बालक गरी १०, आफन्तको संरक्षणमा रहेका ८९ बालिका र ८७ बालक गरी एक सय ७६ र कपिलवस्तु चितवन, काठमाडौँ तथा बर्दिया जिल्लाका बालगृहमा रहँदै आएका बालिका आठ र बालक तीन गरी जम्मा ११ जनासहित गरी कुल एकसय ८८ जना बालबालिका संरक्षणविहीन अवस्थामा रहेको जिल्ला बालकल्याण समिति रोल्पाका बाल अधिकार अधिकृत गोकर्णप्रसाद पुनले जानकारी दिए ।

यी बालबालिकालाई जिल्ला बालकल्याण समिति, रोल्पामार्फत शैक्षिक सहयोग तथा आपत्कालीन सहयोग गरिएको भएपनि उनीहरुका लागि यो सहयोग पर्याप्त हुन नसकेको संरक्षणविहीन अवस्थामा रहेका बालबालिकाले बताएका छन् ।

पुनका अनुसार यी बालबालिकाले आफन्तको संरक्षणमा रहेका बालबालिकाले जस्तै आवश्यकताअनुसार उचित माया, ममता र शिक्षादीक्षा पाउन सकिरहेको अवस्था छैन । उनले भने, “जिल्लामा कार्यालयको तथ्याङ्कमा उल्लेख भएभन्दा बढी जोखिम तथा पारिवारिक संरक्षणविहीन अवस्थामा रहेका बालबालिका हुन सक्छन् ।

उहाँले भने, “हामीले हामीकहाँ आउने निवेदन, गाविस तहमा गठन भएका गाउँ बाल संरक्षण समिति तथा हामीलाई प्रत्यक्ष वा अप्रत्यक्षरुपमा जानकारी भएका बालबालिकाकोे तथ्याङ्क मात्र अद्यावधिक गर्दै आएका छौँ ।”

जिल्लामा रहेका समग्र बालबालिकाको अवस्थाका बारेमा जानकारी लिनका लागि हाम्रो प्रयास मात्र पर्याप्त नहुने भएकाले छुट्टै आधारभूत सर्र्वेक्षण गर्न वा प्रत्येक गाविसले त्यस्ता बालबालिकाको तथ्याङ्क अद्यावधिक गर्नुपर्ने उनले बताए । तर कार्यालयको तथ्याङ्कमा सडक बालबालिका र अभिभावकद्वारा अलपत्र पारी छोडिएका बालबालिका भने छैनन् ।

केन्द्रीय तथ्याङ्क विभाग, काठमाडौँको सन् २०११ को तथ्याङ्कअनुसार जिल्लामा कुल बालबालिकाको सङ्ख्या एक लाख १७ हजार ६ सय ७७ जना रहेको छ । जन्मदेखि चार वर्षसम्मका २८ हजार पाँच सय ३७, पाँचदेखि ९ वर्ष उमेर समूहका ३१ हजार नौ सय ९६, १० देखि १४ वर्ष उमेर समूहका ३२ हजार नौ सय ४० र १५ देखि १९ वर्ष उमेर समूहका २४ हजार दुई सय चारजना बालबालिका रहेका छन् ।

चक्रपथ अनलाइन