☰ open Loading... 20 April 2024|  

घुम्ती अनुशिक्षणमा प्रहरी जुट्याे
  | ७ मंसिर २०७३, मंगलवार १६:१३

समाजमा हुने घटना सफलताका साथ अनुसन्धान गर्दै प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यका साथ जिल्ला प्रहरी कार्यालयले अपराध अनुसन्धानसम्बन्धी घुम्ती अनुशिक्षण तालिम सञ्चालन गरेको छ ।

जिल्लामा कार्यरत प्रहरी हवल्दार तथा जवानका लागि आयोजित छदिने सो तालिममा लागुऔषध नियन्त्रण, बालविवाह र बहुविवाह न्यूनीकरण, जबर्जस्ती करणी, चोरी तथा हत्या जस्ता फौजदारी कानुनसम्बन्धी अनुसन्धानको ज्ञान हस्तान्तरण गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती मगरले जानकारी दिए ।

यही मङ्सिर २ गतेदेखि सुरु भएको तालिम तीन चरणमा सञ्चालन गरिने छ । हरेक चरणमा १२ हवल्दार र २५ जवानको सहभागिता रहने बताइएको छ ।

विगतमा मुद्दा हेर्ने प्रहरी कर्मचारीलाई मात्र सो तालिम दिइँदै आएकामा यस पटकदेखि भने अन्य प्रहरी कर्मचारीलाई पनि सो तालिम दिन लागिएको जनाइएको छ ।

तालिमले जिल्लाको अपराध अनुसन्धानमा सहयोग गर्ने अपेक्षा गरिएको छ । तालिम प्रशिक्षकका रुपमा प्रहरी नायब निरीक्षक नीलकण्ठ ढकाल र प्रहरी सहायक निरीक्षक भाष्कर चन्द रहेका छन् ।