गत कात्तिक ८ गते भैँसीले कुल्चिएपछि खुट्टा भाँचिएका चार वर्षीय बालक सबिन केसीलाई उपचारका साथै पढाइ खर्च जुटेको छ । आमा दोस्रो बिहे गरेर गएकी र बाबुको मृत्यु भएका सक्ला–१ लैखम घर भई खगेनकोट–९ मङ्सिरीमा मावलीघरमा बस्दै आएका सबिनको विभिन्न सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा समाचार आएपछि उपचारका लागि रकम जुटेको हो ।
सबिनको कहालिलाग्दो अवस्थाको समाचार पढेपछि हाल वैदेशिक रोजगारीमा रहेका डाँडागाउँ–७ चाउलेचौरका लक्ष्मण रसाइलीले विभिन्न माध्यमबाट सङ्कलन गरी कतारबाट रु ३१ हजार रुपैयाँ उपलब्ध गराएका छन् ।
त्यस्तै, गोर्खाकी सरिता गुरुङले विभिन्न ठाउँबाट सङ्कलन गरी रु एक लाख ४७ हजार रुपैयाँ हस्तान्तरण गरेकी छन् । सबिनको उपचार कार्य सम्पन्न गरी सिटिजन्स बैंकमा खाता खोली बाँकी रकम भावी दिनमा पढ्नका लागि राखिएको छ । आफैँ गरिब भई वैदेशिक रोजगारीमा रहेका रसाइलीले बाँकी रकम नेपाल आएर घरमै गई सबिनलाई हस्तान्तरण गर्ने बताएका छन् ।
यसरी जनसाधारणले रकम ठाउँठाउँबाट जुटाएर उपचार खर्च उपलब्ध गराउँदासम्म पनि राज्य भने कानमा तेल हालेर बसेको छ । रसाइलीले योभन्दा अगाडि रोल्पालगायत देशका विभिन्न ठाउँका २० जनाभन्दा बढी अलपत्र परेका युवालाई नेपाल फर्काउन रकम जुटाएर सहयोग गर्दै आएका छन् ।