| ८ मंसिर २०७३, बुधबार १७:१०
त्रिपुराकोट गाविस–२ खाँतीस्थित कृषि उपकेन्द्रकोे भवन घाँस गोदाममा परिणत भएको छ । निर्माण भएको एक वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन नसक्दा स्थानीयले घाँस गोदामका रुपमा प्रयोग गर्दै आएका छन् ।
हिमाली आयोजनाको रु ३० लाख सहयोगमा निर्माण भएको उक्त भवन सञ्चालनमा आउन नसक्दा स्थानीयवासीले सेवा पाउन नसकेको स्थानीय जसिराम बोहोराले बताए ।
सात जना कर्मचारीको दरबन्दी रहेको उक्त उपकेन्द्रमा कार्यालय सहयोगी मात्र कार्यरत छन् । हाल सो उपकेन्द्र भाडाको भवनमा राखिएको छ ।
टेबल, कुर्सी, दराजलगायत भौतिक पूर्वाधारको व्यवस्था नभएकाले भवन सञ्चालनमा आउन नसकेको वरिष्ठ कृषि विकास अधिकृत भीम धरलाले जानकारी दिए ।