☰ open Loading... 4 May 2024|  

प्रहरी टोली फिर्ता, चितुवा मार्न सकेन
  | १० मंसिर २०७३, शुक्रबार ०९:५८

tiger

नरभक्षी चितुवाले मानवबस्ती पसेर मानिसमाथि आक्रमण गर्न थालेपछि बैतडीको तल्लोस्वराडमा चितुवा मार्नका लागि खटाइएको प्रहरी टोली चितुवा मार्न नसकी फिर्ता भएको छ ।  तल्लोस्वराडको उदयदेवमा गएको भदौ महिनामा चितुवाको आक्रमणले दुई बालिकाको ज्यान लिएपछि जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले चितुवालाई मार्ने निर्णय गरेको थियो ।

भदौ १९ गते जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको आकस्मिक बैठकले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ९(४) बमोजिम नरभक्षी चितुवालाई मार्नका लागि तत्काल हतियारसहित नेपाल प्रहरी खटाउने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम १५ जना प्रहरीको टोली प्रभावित क्षेत्रमा खटाएको हो ।

प्रभावित क्षेत्रमा खटाइएको टोलीले उदयदेव गाविसका विभिन्न क्षेत्रमा खोजी गरेपनि चितुवा नभेटिएपछि टोली फिर्ता भएको प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले  जानकारी दिए ।

छ महिनाका लागि प्रहरी टोली प्रभावित क्षेत्रमा खटाइएको भए पनि उदयदेव गाविस कार्यालयले हिउँदमा चितुवा मानव बस्ती नपस्ने तथा नदेखिने भनेकाले टोली फिर्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक सुरेन्द्र बमले बताए ।

“विभागीय नीतिअनुसार टोली फिर्ता भएको हो”, उहाँले भन्नुभयो, “तल्कालका लागि टोली प्रभावित क्षेत्र नजाने गरी फिर्ता भयो ।” यसअघि गत महिना चितुवा देखा परेर एक राउन्ड गोली फायरिङ गरेको भएपनि चितुवालाई नलागी भागेको समेत उनले जानकारी दिए ।

दङ्गा नियन्त्रण कार्यालय कञ्चनपुरबाट आएको ३५ जनाको टोली पनि बिहीबार कञ्चनपुर फर्केको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बैतडीको तल्लोस्वराडमा २०६८ सालदेखि हालसम्म २२ जनाको चितुवाको आक्रमणवाट ज्यान गएको छ ।

यसअघि पनि चितुवाले मानव बस्ती पसेर लगातार मानिसमाथि आक्रमण गर्न थालेपछि चितुवा मार्न २०६९ सालमा पनि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र वनरक्षकको टोली तल्ल्लोस्वराडमा पठाएको भएपनि चितुवा नभेटिएपछि त्यतिकै फर्किएको थियो ।

उदयदेव, बिशालपुर, महाकाली, पञ्चेश्वर, आमचौरा, गिरेगाडा, समौली, कुलाउ, मेलौली, रोडिदेवल लगायतका तल्लोस्वराडका गाविसका स्थानीय बासिन्दा चितुवाको आक्रमणले त्रसित बनेका छन् । – रासस