पिलाँडीका १६ वर्षका विशाल विसी १६ (नाम परिर्तन) अहिले निर्धक्क विद्यालयमा आएर नियमित पढ्छन् । केही महिनाअघि मात्र उनको बाल विवाह रोकिएको थियो । उनी पढ्दा पढ्दै विवाह बन्धनमा बाँधिन लागेका थिए । उनीजस्तै पिलाडीकै नेरा माविमै पढ्ने १७ वर्षकी सुष्मा विक (नाम परिवर्तन) को विहेको तयारी गदागदै अभियान्ता र साथीहरुले नै विवाह रोके ।
उमेर पुगेपछि विवाह गर्ने सहमती पछि विवाह रोकियो । आफन्त सहित दुलाह दुलही आफ्नो घरतिर लागे । विवाह रोकिएको केही महिनापछि सुष्मा नियमित पढाईतिरै छिन् । अवलपराजुल गाविसमा १० कक्षामै पढ्दै गरेकी मिना भण्डारी (नाम परिवर्तन) पनि प्रहरीले घरमै पुगेर विवाह रोके । विवाह रोकेपनि उनले नियमित पढेकै कारण ११ कक्षामा पढ्छिन् ।
विवाह रोकिएपछि नयाँ जिवन पाएका यी केही प्रतिनिधि पात्र मात्र हुन् । जिल्लामा पछिल्लो समय दर्जनौ विहे रोकिएको छ । बालविवाह न्यूनिकरणसम्वन्धी गाँउ गाँउ जन चेतना र अभियान्ताहरु हिड्न थालेपछि बालविवाह रोकिएको हो ।
जिल्लाभर बाल क्लव र अभियान्ताहरुले प्रहरीको सहयोगमा विवाह रोक्न खवरदारी गरिरहेका छन् । दशैतिहारमा मात्र ३ दर्जन बालविवाह रोकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
विवाहपछि घरकै कामकाजमै रुमलिने, घरेलु हिसां, बहुविवाह, उमेर पुगेपछि सम्वन्ध विच्छेद, केही वर्षपछि स्वास्थ्य समस्याहरु बालविवाह गर्ने किशोरीहरुमा देखीने गर्दछ । विगतमा बालविवाह गरेर अधिकाँश जिवन अहिले सम्वन्ध विच्छेदसम्म पुगेको बेला बालविवाह रोकिएका बालबालिकाहरुले भने नयाँ जिवन पाएका छन् ।
अहिले जिल्लामा विवाह रोकिएकाहरु नियमित पढाईमा लागेका छन् । पहिलेझै उनीहरु आफ्नो पढाईलाई नियमित गर्नुका साथै बालविवाह रोक्न अग्रसर गएर लागेको जयजनता मावी जोरेबाँझका प्रधानाध्यापक थिरेन्द्रकुमार विसीले बताए ।
‘विवाह रोकिएपछि बालबालिकाहरुले जिवननै नयाँ पाए ।’ प्रधानाध्यापक विसीले भने, बालविवाह गरेकाहरुमा अहिले स्वास्थ्य समस्या, घरेलु हिसां, सम्वन्ध विच्छेद लगायतका कुराहरु देखीएकोले सवै रोक्न अभियान नै चलाएका छौ ।’ विवाहपछि क्षणिक सपनादेखेका बालबालिकाहरुको अहिले फेरिएको हो ।
यसरी हुन्छ बालविवाह
साथीसंगीको लहीलही, खाली समय, कामका लागि र देखासिकी लगायतका कारणले मागी तथा प्रेमकै कारण बालविवाह हुने गरेको तथ्य सार्वजनिक भएको छ । बालबालिकासंग काम गर्ने सरकारी तथा गैरसरकारी संस्थाहरुले बालविवाह सम्वन्धी विवाह न्यूनिकरणका लागि गरेको अभियानमा यी कुराहरु खुलेका हुन् । ग्रामीण भेकमा उमेर नपुग्दै केटा केटीहरु भागेर विवाह गर्ने गरेका हुन् ।
यसरी चल्यो अभियान
सरकारीदेखी सामाजिक अभियान्ताहरुले बालविवाह अत्याधिक हुने गाविसहरुमा रोक्नका लागि कुनै कसर राखेनन् । चालु आर्थिक वर्षमा जनचेतना र अभियान्ताहरुकै सक्रियतामा बालविवाह धमाधम रोकिए । धेरै विवाह त विवाहको जग्गीमै पुगेर रोकियो ।
अभियान्ताहरुले घरघरमै पुगेर बालविवाहका असर र चुनौतीहरु बुझाए । हुन लागेका विवाहहरु बाल क्लव र अभियान्ताहरुको सहयोगमा प्रहरीले रोक्यो । बालविवाह विरुद्धको अभियानले तिव्रता दिएपछि गाँउमाविवाहगर्ने पण्डितले बालविवाहमै जान छाडे । विद्यालयदेखीमहिला सञ्जालसम्म बालविवाह विरुद्धको अभियानपुगेपछि सानैमा विवाह गर्ने परम्परा नै तोड्नका लागि सहज भएको हो ।
विवाह गर्ने पण्डित दुर्गाप्रसाद उपाध्यायले बालविवाहमै जान छाडे । उनले २० वर्षदेखीमाथिको विवाहमा मात्र आफु जाने उद्घोष गरे । उनले आफ्नै छोरीको विवाह समेत रोके । छोरी माग्नआएकाहरुलाई पनि छोरीको विवाहगर्ने उमेर नपुगेको भन्दै फिर्ता समेत गरे । अहिले आफ्नो छोरीको मात्रै नभई गाँउमै उमेर नपुग्दै गरिएको विवाहमा समेत जान छोडे ।
विवाह गर्नेहरुको उमेर पुगेको प्रमाणपत्र हेरेपछि मात्र विवाहमा जाने गरेको पण्डित उपाध्यायले बताए । ‘विवाह गरिदिनका लागि खवर आउने गरेपनि विवाह गर्नेहरुको उमेर कति भनेर प्रमाणपत्र माग्ने गरेको छु ।’ पण्डितले भने, उमेर पुगे विवाह गर्ने गरेको छु । नपुगे विवाह नै जाँदिन ।’ सेभ द चिल्ड्रेनको सहयोगमा सोसेक नेपालले बालविवाह बढी हुने दैलेखका १० गाविसका विद्यालय र सामुदायमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
बालविवाह विरुद्धको अभियान देउसीभैलो खेलेर समेत मनाएको अभियान्ता गिता विसीले बताईन् । देउसीभैलो मार्फत गाँउका आमाबुवालाई धेरै कुरा थाहा दिईएको विसीले बताईन् । गाँउ घरमा बालविवाह नगर्नका लागि आफुहरुले सम्झाउँदा समेत अटेर गरेमा अन्नत प्रहरीको सहयोग लिएर विवाह रोकेको उनले बताईन् ।
बालक्लव गठन गरिसकेपछि सक्रियभएर सवै साथीहरु बालअधिकार र बालविवाह रोक्नका लागि लागेको बालविवाह विरुद्ध लागेका अभियान्ताहरु बताउँछन् । सडक नाटकले धेरै परिवर्तन गराएको बालक्लवको अध्यक्षगिता विसीले बताईन् । ‘नाटक हेरेपछि गर्न लागेका बालविवाहपनि रोकियो ।’ बाल क्लवका अध्यक्ष विसीले भनिन् धेरै चेतना पुर्ण नाटकले धेरै हतसम्म बालविवाह न्यूनिकरणमा सहयोग गरेको छ ।’