☰ open Loading... 20 April 2024|  

मुसु मुसु हाँस्दै सँगै निस्के प्रचण्ड र ओली
  | १६ मंसिर २०७३, बिहीबार १६:२५

विहीबार संसद बैठक शुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम निक्कै कड्किए । उनले सरकार र प्रधानमन्त्री स्वयं संविधान विरोधी भएको आरोप लगाए ।

बामदेवको भाषणपछि एमालेका सांसदहरुले सभामुखको आग्रह अवज्ञा गर्दै उठिरहेपछि व्यवस्थापिका संसद बैठक अवरुद्ध हुन पुग्यो । बामदेवले प्रधानमन्त्रीले नै संविधान पालना नगरेको भाषण गरिरहँदा संसदमा प्रचण्ड एककोहोरो बामदेवलाई हेर्दै बसिरहेका थिए । उनको अनुहार भावसुन्य देखिन्थ्यो ।

फाइल तस्विर
फाइल तस्विर

सभामुख ओनसरी घर्तीले पटक पटक आजको कार्यसूचीमा संविधान संसोधन विधयेक नरहेको बताउँदा पनि एमालेका सांसदहरु नबसेपछि बैठक भोली दिउँसो ३ बजे बस्नेगरि स्थगित भएको घोषणा गरिन् ।

जव संसद स्थगित भएको घोषणा भयो त्यतिबेला भने सत्ता पक्षको पहिलो बेन्चमा रहेका प्रधानमन्त्री प्रचण्ड र प्रतिपक्षको बेन्चमा बसिरहेका एमाले अध्यक्ष केपी शर्मा ओली मुसु मुसु हाँस्दै आमने सामने भए ।

बेन्चबाट उठेका प्रचण्ड हात बढाउँदै ओलीतर्फ लम्किए । उनीहरुबीचमा कुनै तिक्तता होइन सौहार्द्धता देखियो ।

संसद स्थगित भएपछि प्रचण्ड र ओली मुसु मुसु हाँस्दै संसदभवनबाट बाहिरिएको दृष्य टेलिभिजनहरुले प्रसारण गरेका थिए । एमालेले सरकारले प्रस्तुत गरेको संसोधन प्रस्तावप्रति आक्रामक ब्यवहार देखाइरहेको बेला ओली र प्रचण्डको सौहार्द्धता भने अनुमान विपरित नै थियो ।

यद्यपी संसदमै प्रचण्डले ओलीलाई बसेर छलफल गरौं भन्ने प्रस्ताव राखेपनि ओलीले अस्वीकार गरेको एक नेताले बताएका छन् । संसोधनले समाधान नदिने बरु चुनावतिर लाग्न ओलीले प्रचण्डलाई सुझाव दिएको ती नेताको भनाइ छ ।

नेपाली हेडलाइन