☰ open Loading... 18 April 2024|  

दलीय घेरा तोडेर प्रदेश बचाउन सत्ता र प्रतिपक्ष सडकमा
  | १८ मंसिर २०७३, शनिबार १०:४०

संशोधनविरुद्ध उर्लिए जनता

संसदमा भएको संशोधन प्रस्तावमा ५ नम्बर प्रदेश टुक्र्याएर पहाड र तराईका जिल्ला अलग पारेको विरोधमा तीन दिनदेखि जारी आन्दोलनका क्रममा शुक्रबार बुटवलमा हजारौंले प्रदर्शन गरेका छन् भने दलीय घेरा तोडेर सत्ता र प्रतिपक्षका नेता सडकमा ओर्लिएका छन् । संयुक्त आन्दोलन समितिले आयोजना गरेको प्रदर्शनमा ठूलो संख्यामा सर्वसाधारण सहभागी थिए ।

aandoln

प्रमुख राजनीतिक दलका केन्द्रीय स्तरका नेताहरूले सम्बोधन गरेको प्रदर्शनमा प्रदेश नम्बर ५ अन्तर्गतका १२ जिल्लाका जिल्ला तहका नेता पनि सहभागी थिए । प्रदर्शनमा मधेस केन्द्रित दलबाहेकका पार्टीका दुई दर्जन सांसद पनि सहभागी थिए ।

बुटवलको राजमार्ग चौराहादेखि ट्राफिकचोक प्रदर्शनकारीले भरिएको थियो । कांग्रेस, एमाले, माओवादी केन्द्र, जनमोर्चा, माले, राप्रपा, जनमुक्तिलगायतका दलका नेताहरूको संयुक्त अगुवा कार्यकर्ता भेला सकिएपछि तीन दलका नेताहरू राजमार्ग चौराहाको मानव सागरमा प्रवेश गरेका थिए ।

एमालेका उपमहासचिव विष्णु पौडेल, माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझी, कांग्रेस नेता चन्द्र भण्डारीलाई ट्राफिकचोकमा बनाइएको मञ्चमा पुग्न हम्मेहम्मे परेको थियो । २०६३ को जनआन्दोलनकै झल्को दिने गरी नागरिक सडकमा उत्रिएका छन् ।

‘दुई देश बनाउने खेलु

प्रदर्शनकारीलाई सम्बोधन गर्दै एमाले उपमहासचिव विष्णु पौडेलले प्रदेश नम्बर पाँचको आन्दोलन एउटा प्रदेशलाई अखण्ड राख्न नभई सिंगो नेपाललाई खण्डित हुनबाट बचाउनु भएको जिकिर गरे ।

‘आज प्रदेश पाँचबाट पहाड झिक्ने, भोलि पूर्वबाट पहाड छुट्ट्याउने, पर्सी पश्चिमका जिल्लालाई तराईमा मात्रै राख्ने अनि एक मधेस एक प्रदेश बनाउँदै तराईलाई टुक्र्याउने खेल भएको छु, उनले भने, ‘यो कुनै हालतमा सफल हुँदैन । यो आन्दोलन कुनै दलको नभएको उनले बताए । नेता पौडेलले प्रदेश टुक्र्याउनुमा कुनै स्वार्थ नभए बुटवलमा आएर जनताको राय लिन प्रधानमन्त्रीलाई चुनौती दिए ।

प्रतिपक्षी दल एमालेले संस्थागत रूपमा विरोध गरे पनि सत्ता साझेदार दलका नेताहरू नै आन्दोलनमा उत्रिएकाले सरकारले संशोधन प्रस्ताव फिर्ता लिनुको विकल्प नभएको उनले बताए । सत्तारूढ दल माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले राष्ट्र, राष्ट्रियता र जनताका विरुद्धमा आएको संविधान संशोधन प्रस्ताव असफल हुने दाबी गरे ।

‘न मधेसी सुखी, न प्रदेशका जनता खुसी, न त कांग्रेस माओवादीका नेता सुखीु, उनले भने, ‘यो कसका लागि हो रु यो असफल हुने ग्यारेन्टी छ ।ु आफ्नै पार्टी नेतृत्वको सरकारले ल्याएको संशोधन पार्टीको सहमतिमा नभएको उनले दाबी गरे । ‘संशोधन प्रस्तावमा संस्थागत निर्णय छैन । कांग्रेस–माओवादीको प्रस्ताव पनि होइनु, उनले भने, ‘यो सरकारको प्रस्ताव हो ।

जनता र देशका लागि आफू पार्टी निर्णयविरुद्ध आन्दोलनमा आएको भन्दै उनले यसलाई कुनै पार्टी प्रवेशका रूपमा नबुझ्न आग्रह गरे । मधेसीको माग सम्बोधन गर्न संविधान निर्माण गर्दाका सहयात्री दलबीच सहमति हुनैपर्नेमा जोड दिँदै उनले भने, ‘कुनै व्यक्ति र पार्टीले मात्रै मधेसीको माग सम्बोधन गर्न सक्दैन ।

कांग्रेस नेता चन्द्र भण्डारीले प्रदेश नम्बर ५ टुक्रियो भने नेपाल नै विखण्डन हुने भन्दै मुलुक विखण्डनबाट जोगाउने जिम्मेवारी प्रदेश नम्बर ५ का जनतामा रहेको औंल्याए । ‘यो प्रदेश विखण्डन भयो भने पूर्वपश्चिम पनि रहँदैन । विखण्डनबाट जोगाउने दायित्व हामीमा छु, उनले भने ।

‘पूर्वका एक ठूला नेताले पूर्व चलाउन नदिने, अर्का ठूला नेताले पश्चिम चलाउन नदिने, हामी बीचकाले खुट्टा कमायौं, त्यसैले चारैतिरबाट आक्रमण भयोु, उनले भने । विपक्षीसँग लड्न सजिलो भए पनि आफ्नै पार्टीभित्र लड्न निकै गाह्रो महसुस भएको बताउँदै उनले जनता र राष्ट्रियताका लागि आफू सडकमा आएको बताए ।

संविधान निर्माणमा जुन खालको त्याग र समर्पण थियो त्यही खालको सहमति संविधान कार्यान्वयनमा पनि आवश्यक रहेको उनले बताए । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले देशलाई विखण्डन गर्ने संशोधन प्रस्ताव कुनै हालतमा सफल नुहने जिकिर गर्दै फिर्ता लिन सरकारलाई सुझाव दिइन् ।

एमाले उपमहासचिव घनश्याम भुसालले संशोधन प्रस्ताव नेपाल र नेपालीका लागि नभएको भन्दै आन्दोलन टुंगोमा पुर्‍याइनुपर्ने बताए । एमाले सचिव गोकर्ण बिष्टले तराईलाई बिस्तारै एउटा प्रदेश बनाउन षड्यन्त्र रचिएको भन्दै त्यो असफल हुने बताए ।

नवलपरासीका सांसद बैजनाथ चौधरीले मधेसी, पहाडी कसैले नचाहेको प्रस्ताव दर्ता भएको बताए । कांग्रेस गुल्मीका सभापति भुवन श्रेष्ठले आन्दोलन टुंगोमा पुर्‍याउन नेताहरूलाई आग्रह गर्दै जनतालाई धोका दिए नेताले ठूलो क्षति बेहोर्नुपर्ने चेतावनी दिए ।

‘हरुवा चरुवा शासन चल्दैन

प्रदर्शनअघि संयुक्त आन्दोलन समितिले आयोजना गरेको प्रदेशस्तरीय संयुक्त अगुवा कार्यकर्ता भेलामा एमाले उपाध्यक्ष वामदेव गौतमले सर्लाही, सिरहा, जनकपुरमा बस्ने केहीलाई खुसी पार्न ५ नम्बर प्रदेश छुन नपाइने तर्क गरे । संविधान उल्लंघन गरेर सरकारले संशोधन प्रस्ताव दर्ता गरेको भन्दै उनले त्यो प्रस्ताव अदालत, सदन र सडकबाट असफल हुने दाबी गरे ।

‘संविधान उल्लंघन गरी जमिनदारले हरुवा–चरुवालाई बुकुरा सार भने जसरी सीमा फेर्न खोजिएको छु, उनले भने, ‘असंवैधानिक काम असफल हुने पक्का छ, त्यसको सुरुवात बुटवलबाट भएको छ ।

भेलामा कांग्रेस सांसद अमर पुनले प्रदेश टुक्र्याउने कारण नबताइँदासम्म पार्टीको ह्विप नमान्ने उद्घोष गरे । नयाँ शक्ति नेपालका सल्लाहकार रामचन्द्र भट्टराईले हिमाल मुकुट, पहाड शीर र तराई शरीर भएको बताउँदै पहाडबाट तराई निकाल्ने दुस्साहस गर्न नहुने बताए ।

नमुना जनमत संग्रह

सत्तारूढ दल कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले प्रदेशबाट पहाडी जिल्ला छुट्ट्याउने या नछुटट्ट्याउने विषयमा बुटवलमा नमुना जनमत संग्रह गरेको छ । जनमत संग्रहमा १७ हजार मत खसेको बताइएको छ ।

नेविसंघका केन्द्रीय उपसभापति प्रकाश रानाले पाँच घन्टासम्म भएको जनमत संकलनमा खसेको मतमध्ये ५ सय मत मात्रै प्रदेश टुक्र्याउनुपर्ने पक्षमा रहेको जानकारी दिए ।

व्यवसायी पनि प्रदर्शनमा

उद्योग व्यवसाय बन्द गरेर रूपन्देहीका उद्योगी व्यवसायी सडकमा उत्रिएका छन् । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देही उद्योग संघ, रूपन्देही व्यापार संघ, पश्चिम नेपाल बस व्यवसायी संघ, होटल व्यवसायी संघ, निर्माण व्यवसायी संघ, गौतम बुद्ध सामुदायिक स्वाथ्य सहकारी, पश्चिमाञ्चल यातायात व्यवसायी समिति, पुस्तक तथा स्टेसनरी व्यवसायी संघ, रिक्सा व्यवसायी संघलगायतका संघसंस्था शुक्रबार बिहान प्लेकार्डसहित सडकमा उत्रिए ।

पहाडी जिल्ला रूपन्देहीबाट छुट्ट्याउनु मानवको शिर काट्नुजस्तै भएको भन्दै व्यवसायीले प्रस्ताव फिर्ता लिन सरकारसँग आग्रह गरेका छन् । बुटवलको राजमार्ग चौराहा र पुष्पलाल पार्कबाट निस्किएको र्‍याली बुटवल परिक्रमा गरेर ट्राफिकचोकमा कोणसभामा परिणत भएको थियो ।

बुटवल आर्थिक केन्द्र बन्दै गइरहेको र पहाडी जिल्ला टुक्र्याउदा आर्थिक गातिविधिमा पनि क्षति पुग्ने बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष महेशमान सिंहले बताए ।

बन्दको प्रभाव

शुक्रबार रूपन्देहीको अधिकांश क्षेत्रमा बन्दको प्रभाव परेको छ । शैक्षिक संस्था पूर्ण रूपमा ठप्प भए । व्यापार व्यवसाय पनि दिनभर बन्द रह्यो । मोटरसाइकलबाहेक अन्य साधन सडकमा देखिएनन् । साँझ पाँच बजेपछि मात्रै सवारीसाधन चलेका छन् ।

अन्नपूर्ण पाेस्टबाट