जुम्ला, स्थानीय निकाय गाविस तथा नगरपालिकामा कार्यरत जुम्लाका कर्मचारीले आफ्नै गोजीको पैसाले सातदिने लेखा व्यवस्थापन तालिम लिएका छन् ।
जिल्लास्थित एक नगरपालिका र २६ वटै गाविसका कार्यालय सहयोगी, मुखिया, खरिदार र प्राविधिकले यो तालिम लिएका हुन् । पोखरा नगर विकास प्रशिक्षण केन्द्रको प्राविधिक सहयोगमा उनीहरूले तालिम लिएका हुन् । सहभागी सबै कर्मचारीले प्रतिव्यक्ति रु सात हजार ५०० दिएर तालिम लिएको गाविस तथा नगरपालिका कर्मचारी सङ्घ, जुम्लाका अध्यक्ष सुदर्शन काफ्लेले जानकारी दिए ।
“स्थानीय निकायका कर्मचारीलाई सेवाकालीन तालिमलगायतका अन्य क्षमता विकास तालिमका विषयमा गाविस, नगरपालिका र जिविसलाई पटक पटक भन्दै आयौँ तर हामीप्रति कुनै वास्ता, चासो र चिन्ता गरिएन” – अध्यक्ष काफ्लेले दुखेसो व्यक्त गरे ।
अहिलेको सातदिने लेखा व्यवस्थापन तालिम जस्तै यसअघिको पोखरामा गरिएको निर्माण व्यवस्थापनको तालिम पनि खल्तीबाटै पैसा दिएर लिएको उनको जिकिर थियो ।
अहिले पनि मुगु, डोल्पा, कालीकोट र हुम्लाका स्थानीय निकायमा कार्यरत कर्मचारीले रु एक हजार ५०० मा चित्त बुझाएर काम गरेका छन् र यो पनि निगाहमा दिने गरिएको छ – रोष प्रकट गर्दै उनले भने । अब पनि अपहेलना र दमन गर्न खोजिए स्थानीय निकायमा कार्यरत सबै कर्मचारीले गाविसमा तालाबन्दी गरेर जनतालाई साँचो बुझाउने उनले चेतावनी दिए ।
जिल्ला विकास समिति, जुम्ला र नगरपालिकाका प्रमुख आफ्नै पैसा उठाएर लिएको लेखा व्यवस्थापन तालिममा बोलाउँदा नआउनुले आफूलाई अपमानित तुल्याएको भन्दै खेद प्रकट गरेका छन् ।