उपप्रधानमन्त्री विमलेन्द्र निधिले संसद्मा दर्ता गरिएको संविधान संशोधन विधेयक परिमार्जन गरेर सहमति खोज्न सरकार तयार रहेको बताएका छन् ।
सल्लाघारीमा शुक्रबारदेखि सुरु भएको छदिने अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन कार्यक्रममा उपप्रधानमन्त्री निधिले सहमतिका लागि सरकार संशोधन विधेयकलाई परिमार्जन गर्न तयार रहेको स्पष्ट पारे ।
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएकै बेला संविधान संशोधनका लागि छलफल र सम्झौता भएको जिकिर गर्दै गृहमन्त्री निधिले आन्दोलन छाडेर समस्या समाधानका लागि एमालेलाई संवादमा आउन आग्रह गरेका छन् ।
संसद् अवरोधले संवैधानिक र लोकतान्त्रिक प्रक्रिया नै अवरुद्घ हुने भएकाले आन्दोलनको सट्टा समाधानको बाटो खोज्न आग्रह गर्दै उनले संविधान कार्यान्वयनका लागि निर्वाचन गराउनु आवश्यक रहेकामा जोड दिए ।
संविधान संशोधनको विषयलाई लिएर आन्दोलनमा जानु र पक्ष विपक्षमा विभाजित हुनुभन्दा वार्ताबाटै निकासका लागि अधिकतमभन्दा अधिकतम सहमति खोज्नुपर्ने उनको भनाइ थियो ।
संविधान घोषणा भएदेखि नै संविधान संशोधनको कुरा उठेको बताउँदै उनले दल मिलेर संविधान कार्यान्वयनमा जानुको विकल्प नरहेकामा जोड दिए । मन्त्री निधिले भने– “संविधान कार्यान्वयनका लागि दलबीच छिट्टै सहमति जुट्ने छ, संविधान कार्यान्वयनको वातावरण तयार पार्नकै लागि संसद्मा संशोधन विधेयक दर्ता भएको हो ।”