☰ open Loading... 25 November 2024|  

बालविवाह राेक्न किशाेरीले थाले अभियान
  | २५ मंसिर २०७३, शनिबार १०:१४

बैतडीका विभिन्न गाविसमा गठन गरिएका किशोरी समूहले बालविवाह रोक्नका लागि पहल गरिरहेका छन् । किशोरी समूहको पहलमा रौलेश्वर तथा शंकरपुरमा शुक्रबारका लागि तय भएका बालविवाह रोकिएका छन् ।

किशोरी समूहको विशेष पहलमा बालविवाह रोकिएको महिला तथा बालबालिका कार्यालय बैतडीले जनाएको छ । बालविवाहका कारण महिलाको समग्र जीवनमा समस्या पर्ने भएकाले यसको न्यूनिकरणका लागि किशोरी समूहलाई परिचालन गरिएको महिला विकास अधिकृत अनिता बुढाऐरले बताइन ।

जिल्लाका विभिन्न गाविसमा मंसिर महिना लागेदेखि बालविवाह न्यूनिकरणका लागि किशोरी समूह परिचालन गरिएको उनले बताए । यसअघि मंसिर १५ गतेका लागि तय भएको बालविवाह पनि रोकिएको थियो । बालविवाहले पार्ने असरका बारेमा किशोरीलाई तालिम दिएपछि किशोरी बालविवाह न्यूनिकरणको अभियानमा लागेका हुन् ।

किशोरी समूहको पहलमा अहिले जिल्लाभरी बालविवाह न्यूनिकरणको अभियान सञ्चालन भइरहेको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले जानकारी दिए । बैतडीलाई २०७५ भित्र बालविवाहमुक्त जिल्ला घोषणा गर्ने लक्ष्यका साथ बालविवाह न्यूनिकरण अभियान सञ्चालन भइरहेको हो ।